विशेषज्ञ डाक्टरको आगमनसँगै उपचारमा आउने बढे

लामो समयसम्म दरबन्दीका चिकित्सकविहीन अवस्थामा रहेको अञ्चल अस्पतालमा एक महिनाअघि चारजना चिकित्सक दरबन्दीमा आएपछि बिरामीको चाप बढेको महाकाली अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए ।
चिकित्सक नहुँदा दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आउने गरेका भएपनि चिकित्सक आएपछि दैनिक २०० देखि २५० सम्म बिरामी उपचारका लागि आइरहेको मेडिकल अधिकृत अवस्थीले जानकारी दिए ।
सत्ताइस जना चिकित्सकको दरबन्दीका लागि आवश्यक सबै पूर्वाधार रहेपनि चिकित्सक नहुँदा यहाँका स्थानीयले उपचारका लागि भारतका विभिन्न अस्पतालका साथै अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।
“चिकित्सक आएपछि बिरामीलाई निकै सहज भएको महसुस भएको छ ।” अवस्थीले भनने, “फेरि पनि दरबन्दीमा चिकित्सक ल्याउने गृहकार्यमा अस्पताल विकास समिति जुटेको छ ।”
अस्पतालका अनुसार हाल यहाँ बालरोग विशेषज्ञ डा सुजन भट्टराई, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा अर्जुनप्रसाद दुम्रे, स्त्रीरोग विशेषज्ञमा डा सलिना खड्का र सर्जन डा घनश्याम थापा कार्यरत रहेका छन् । रासस
No comments: