स्वास्थ्यमा घातक असर गर्ने आर्सनिकयुक्त पानीको प्रयोग गर्नुपर्ने बाध्यता
रौतहट- रौतहट जिल्लाको दक्षिणी भेगका बासिन्दा वैकल्पिक पानीको स्रोत नहुँदा अझै पनि आर्सनिकयुक्त पानीको प्रयोग गर्न बाध्य छन् ।
शुद्ध पानीको व्यवस्था नहुँदा जिल्लाका विभिन्न गाविसका सर्वासाधारण लामो समयदेखि आर्सनिकयुक्त पानीको प्रयोग गर्दै आएका छन् । यस क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाले केहि समयअघि जिल्लाका विभिन्न भागमा रहेका भूमिगत पानीको स्रोतका साथै हाते ट्युववेल तथा इनारको चेकजाँचसमेत गरेका थिए । तर ती स्थानमा अझै आर्सनिकयुक्त पानी खानुपर्ने अवस्था रहेको त्यहाँका सर्वसाधारणले बताएका छन् ।
आर्सनिकयुक्त पानी मानव स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञहरुले समेत प्रमाणित गरिसकेका छन् । स्थानीय कटहरिया, सङ्ग्रामपुर, हथियाही, विश्रामपुर, गढो, गम्हरियाविर्ता, तेजापाकड लगायतका गाविसमा रहेका भूमिगत स्रोतको पानी आर्सनिकयुक्त रहेको स्थानीय बासिन्दाले बताएका छन् । यस्तो पानीले घरपालुवा जनावरलाई समेत असर पर्ने बताइएको छ ।
स्थानीय विश्रामपुर गाविसका प्रकाशराय यादवले पिउने पानीको अर्को विकल्प नहुँदा सर्वसाधारण त्यस्तो पानी प्रयोग गर्न बाध्य भएको बताउनुभयो । आर्सनिकयुक्त पानीको प्रयोगका कारण कपडा धुँदा कपडा पहेँलो हुने, दाँत तथा नङ रातो हुने र भाँडावर्तन पहेँलो बन्दै जाने समस्या छ । शुद्ध तथा स्वस्थ पानीको व्यवस्थाका लागि विभिन्न निकायमा माग हुँदा पनि हालसम्म कुनै निकायबाट सहयोग नपाएको कतिपयको भनाइ छ ।
एक तथ्याङ्कअनुसार ५० पिपिवीभन्दा बढी आर्सनिक भएको पानी स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो पानीको प्रयोगले गर्भवती महिलामा क्यान्सरको समस्या र त्यस्तो पानीको लगातार प्रयोगले आर्सेनिकोसिस भन्ने रोग लाग्छ । यस्तो पानीको प्रयोग व्यक्तिगत सरसफाइ र पिउने कार्यमा समेत ल्याउन नहुने स्वास्थ्यकर्मीको भनाइ आउँदा पनि ग्रामीण भेगका सर्वसाधारण पानी खान हुने या नहुने भन्ने अन्यौलबाट मुक्त हुन सकेका छैनन् । रासस

No comments: