एमालेले एमाओवादीलाई सोध्यो, ‘सरकार फेर्ने अप्रत्यासित निर्णय किन आयो ?’
वैशाख २३, २०७३- एमालेले एमाओवादी शीर्ष नेताहरुलाई सरकार परिवर्तन गर्नुपर्ने अप्रत्यासित निर्णय कसरी आयो भनि प्रश्न गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको बैठकमा एमाले नेताहरुले सरकार फेर्ने निर्णयमा पुग्नुको कारण खोजेका थिए ।
जवाफमा एमाओवादी नेताहरुले पार्टीले उठाएका गम्भीर विषयमा चासो नदिएको भन्दै असन्तुष्टि राखेको सहभागी नेताले बताए ।
एमाओवादीले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएकाले एमालेलाई पनि साथ दिन आग्रह गरे ।
एमाले नेताहरुले अहिलेकै वाम(लोकतान्त्रिक शक्तिहरुबाटै एमाओवादी नेतृत्वमा सरकार बनाउन सकिने उल्लेख गर्दै सोचविचार गर्न आग्रह गरेका थिए । उनीहरुले सरकार फेर्न संसद कानुनसमेत नभएको अवस्थामा हतारमा निर्णय नलिन आग्रह गरेका थिए ।
दुई पार्टीबीच बिहीबार बिहान पुनः बैठक बस्नेछ ।

No comments: