आफ्नो मुटु यसरी स्वस्थ राखेका छन् डा भगवान कोइरालाले
अरुको मुटु जोगाउनका लागि सदा प्रयत्नरत डा कोइराला आफ्नो मुटु जोगाउन के गर्छन् ? धेरैलाई खड्किएको प्रश्न हुनुपर्छ यो । सधैं मुटुरोग वा स्वास्थ्य क्षेत्र बारे सोधिन्थ्यो तर यसपल्ट हामीले उनलाई यही प्रश्न ग¥यौं, ‘आफ्नो मुटु जोगाउन तपाई के–के गर्नुहुन्छ ?’
कुनैदिन यस्तो प्रश्नको उत्तर दिनुपर्ला भन्ने उनले अपेक्षा गरेका थिएनन् सायद । त्यसैले एकछिन गमे । मुटु जोगाउन फरक केही गर्ने भन्दा पनि एउटा जीवनशैली बनाएका छन्, जसले उनको मुटु मात्रै होइन शरीरका सबै अंग जोगाइरहेको छ ।
डा कोइरालाको सदाबहार ज्यान देखेरै उनले आफ्नो स्वास्थ्य उच्च प्राथमिकतामा राखेका छन् भन्ने थाहा लागिहाल्छ । स्वस्थ रहन उनले ब्याडम्यान्टिन खेल्न थालेका धेरै वर्ष भयो । पछि यो बानी नै भयो । अहिले आएर धेरै समय ब्याडमेन्टिन खेल्दा खुट्टामा समस्या आउने महशुस गरे । त्यसपछि टेबलटेनिसतिर लागेका छन् । भन्छन्, ‘बिहान केही नै केही गरेर एक्सरसाइज गर्ने बानी भइसकेको छ ।’
विदेश वा अन्त कतै व्यस्त सेड्युलमा रहँदा पनि उनलाई एकपल्ट पसिना आउने गरी एक्सरसाइज गर्नुपर्छ । उनी भन्छन्, ‘मध्य दिउसो भएपनि आधा एक घन्टा दौडिन्छु ।’ अहिले उनलाई यो बानी जीवनशैलीसँग यसरी गाँसिएर आएको छ कि व्यायाम गरेनन् भने बरु थकित भएको महशुस गर्छन् ।
खानपानमा पनि उनको आफ्नो तरिका छ । तर, स्पेशल मेन्यु छैन । ‘सबथोक खान्छु, यो बंगुर, यो खशीको मासु भनेर पनि छुट्याउँदिनँ तर मात्रा भने मिलाएर खान्छु,’ उनले भने ।
सागसब्जीमा जोड दिने बानी नै भइसकेको छ उनलाई । काँचो खानेकुरा (फलफूल र सलाद) खाँदा उनी विशेष ध्यान दिन्छन् । तातोपानी वा जारको पानीले नपखालेसम्म उनको मनले यस्ता खानेकुरा खान मान्दैन । सागपात देख्नै हुदैन, उनले तातोपानीले पखालेर काच्चै खान्छन् ।
मुटुलाई लामो समय स्वस्थ राख्ने हो भने उनको जीवनशैलीलाई अपनाउन सकिन्छ । तर, उमेरले ५० कटेपछि भने उनी हरेकलाई अनिवार्य रुपमा खानपिनमा केही कटौती र एक्सरसाइजमा जोड दिन सुझाउँछन् । त्यसैगरी खानपानमा सागसब्जी रोज्ने र सफा गरेर मात्रै खाने बानी बसाल्ने उनले सल्लाह दिए ।
उनले अन्तिममा भने, ‘फेसबुकमा अहिले मेरै नक्कली आईडीबाट आइरहने ‘भगवान कोइरालाका स्वास्थ्य टिप्स’ भन्ने चाहिँ मेरो होइन । तिनलाई विश्वास नगर्नुहोस् ।’ उनको नाममा कसैले नक्कली फेसबुक आईडी खोलेर स्वास्थ्य सम्बन्धि जानकारी पोष्ट गर्न थालेपछि प्रहरीमै उजुरी गर्नुपर्यो । ‘त्यसैले होला अहिले कम भएको छ,’ उनले भने ।
No comments: