Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पाटनमा ३६ वर्षपछि नरदेवी नाच

ललितपुर- काठमाडौं उपत्यकाका काठमाडौं, पाटन र कीर्तिपुरमा हुने ङतभुलु अजिमा (नरदेवी श्वेतकालीमाई) को नाच पाटनमा ३६ वर्षपछि दरबार क्षेत्रमा भइरहेको छ। शनिबारको नाचपछि आइतबार बिहान पूजा गरी देवीनाच टोली नाचका लागि कीर्तिपुर जानेछ।
काठमाडौंस्थित नरदेवीका अवतार मानिने १९ देवगणमध्ये कसैमा पनि देवी प्रकट नभएकाले यति लामो समय नाच रोकिएको थियो। नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समितिका अनुसार श्वेतकाली, कुमारी, भैरव र बाराही कसैमा पनि देवी प्रकट नभएकाले २०३६ सालपछि क्षमापूजा गरी २०६६ मा नाचलाई निरन्तरता दिइएको हो। समितिका अनुसार २०६६ सालमा सुरु देवीनाच २०६८ सम्म काठमाडौंको तलेजु भवानी मन्दिरस्थित दस अवतार डबलीमा भइसकेको छ।
मूलनाइके मचाराजा डंगोलका अनुसार देवी प्रकट भएपछि मन्दिरका ढोका आफैं खुल्छन्। मन्दिरको ढुकुटीसमेत आफंै खुलेर त्यहाँ राखिएका देवीका गरगहना लगाएर नरदेवी डबलीमा नाचेपछि नाच सुरु भएको मानिन्छ। उनका अनुसार बर्सेनि नरदेवीमा नाच हुँदै आएको छ। यस्तै १२ वर्षमा हुने नाच काठमाडौं उपत्यकाका तीन ठाउँमा हुने भएकाले सुरु भएको १२ वर्षमा सकिन्छ।
काठमाडौं, नरदेवीबाट कुमारीको रथ परिक्रमा गर्ने ठाउँहरू हुँदै पाटनको पुल्चोक आएका देवीका १९ अवतारलाई बिहीबार बाजागाजासहित पाटन दरबार क्षेत्रको कार्तिक नाच डबली ल्याइएको थियो। डबलीमा बिहीबार मध्यरात र शुक्रबार अबेरसम्म नाच भएको थियो। पाटनमा दुई दिन देवी, देवीका १९ अवतार मानिने देवगण र दैत्यले नाच्ने परम्परा छ। असत्यमाथि सत्यको विजय र रक्षाकी देवीका रुपमा राक्षसवध नाचको मुख्य सन्देश रहेको छ।
काठमाडौंको प्राचीन बस्ती नरदेवीमा रहेकी ङतभुलु अजिमाको पर्वका रुपमा विभिन्न रुप र अवतारमा देखिने नरदेवीको भूमिका प्रस्तुत गर्दै पाटनको कार्तिक नाच डबली, काठमाडौंको दस अवतार डबली र कीर्तिपुरको लायकु डबलीमा १२ वर्षे देवीनाच हुने गर्छ। उत्तरमा थँबहीदेखि दक्षिणमा ओनदेसम्म मध्यभागमा ङतभुलु अजिमा नरदेवीले सबैको रक्षा र असत्यमाथि जितस्वरुप देवीनाच गर्ने प्रचलन छ।
किंवदन्ती अनुसार बनेपाका राजा सिकार खेल्न नरदेवी आउँदा किलागलमा हात्तीको आक्रमणमा पर्दा उनलाई बचाउन देवी प्रकट भएको थियो। कुमारी, भैरव, बाराही, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिंहिनी, व्याघि्रनी, करुणामय, महाद्यः, चण्डेश्वरी, कुमार, दैत्य, ध्वं र खिचाजस्ता देव, दैत्य र अवतारको देवीनाच हुने गर्छ। देवगणको भोगका लागि नाच हुने स्थानमा दुईवटा राँगा र पाँचवटा थुमाको बलि दिने गरिन्छ।
ङतभुलुका मूलनाइके मचाराजा डंगोलले नाच परम्परा लिच्छविकालदेखि चल्दै आएको बताए। उनका अनुसार २०३६ सालमा दरबारले नाचका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउनुका साथै राजा र राजपरिवारले नाच हेरेको थियो। डंगोलले त्यसपछि नाचको सम्पूर्ण प्रबन्ध गुठियार र समुदायले गर्दै आएको बताए।

पाटनमा ३६ वर्षपछि नरदेवी नाच Reviewed by marumala srinu on 10:39 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.