जनताको भावना भड्एकाए सत्ता टिकाउने खेलमा ओली गठबन्धन: भट्टराई
काठमाडौं-नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ओली गठबन्धन जनताको भावना भड्काएर सत्ता टिकाउने खेलमा रहेको बताएका छन्। मंगलबार नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालयमा भएको मधेसका बौद्धिक समुदाय र सञ्चारकर्मीसँगको छलफलका क्रममा उनले सत्तासीनहरुले एकप्रकारको राष्ट्रघात गरिरहेको आरोप लगाए।
लामो समयसम्म जनतामा अन्धराष्ट्रवाद फैलावट भएमा मुलुक दुर्घटनामा फस्ने भन्दै उनले यसलाई सबैको प्रयत्नमा रोक्नुपर्नेमा जोड दिए। एक हप्ते मधेस आन्दोलनको अनुभूति बाँड्दै उनले मधेस समस्याको समाधान नभएमा त्यहाँ कुनै पनि बेला विस्फोट हुनसक्नेबारे सबै सचेत रहनुपर्ने बताए।
'काठमाडौंलाई बुझ्नेबारे हुलाकी राजमार्गले जोडेको मधेस र महेन्द्र राजमार्गले जोडेको मधेसको फरक धारणा छ,' उनले भने, 'खास मधेस भनेको तल्लो मधेस हो, जहाँ उत्पीडनको तह अत्यधिक छ।'
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मुलुकमा पुनः २०५२ सालअघिका नेताहरुको पुनरोदय भएको भएको अनुभूति सुनाए। 'उही पुराना पात्रहरुको पुनरोदय भएको छ, कमल थापा, केपी ओली र शेरबहादुर देउवाहरु राजनीतिमा हावी भएका छन्,' उनले भने, 'मात्र अहिले नयाँ अनुहारको रुपमा प्रचण्ड त्यहीँ मिसिन गएका छन्।'
सुगौली सन्धीले सीमा कोर्दा पनि नेपालीहरु नेपालतिर आएर बसेको भन्दै सदियौंदेखि सीमा रक्षक भएर बसेका मधेसीमाथि शासकहरुले शंकाको दृष्टिले हेर्नु दुःखद अवस्था भएको उनले बताए। 'त्यहाँ केही महिलाहरुले अनुभूति नै राख्नुभयो, सीमामा कसरी नेपाली बनेर संघर्ष गरिरहेका छौं भनेर,' उनले अनुभूति बाँढ्दै भने, 'उनीहरुमाथि राज्यले शंका गरेको छ, विभेद गरेको छ तर पनि उनीहरु नेपाली हुनुमा गर्व गरिरहेका छन्।'
छलफलमा सहभागी भएका राजनीतिक विश्लेषक तुलानारायण साहले मधेसलाई महेन्द्र राजमार्ग आसपासको मधेस, सीमा क्षेत्रको मधेस र मध्य मधेसको रुपमा बुझ्नुपर्ने बताए। 'आदिवासी जनजातिहरु आर्यखसकै रुपमा सामाजिककरण भइसकेका छन्,' साहले भने, 'तीनवटै क्लस्टरकाबीचमा एकता आवश्यक भए पनि अहिले नै स्थिति परिपक्व नभइसकेको छैन ।'
शाहले नेपाली कांग्रेस, एमाले र एमाओवादीजस्ता दलले मधेस आन्दोलनको बारेमा आफ्नो धारणा स्पष्ट नपारेसम्म मधेसमा केही नहुने अवस्था रहेको तर्क गरे।
अधिवक्ता दिपेन्द्र झाले अन्धराष्ट्रवादको हावाले सबैलाई गाँजेकोले समस्या समाधानको प्रस्थान विन्दू भेट्टाउन गाह्रो रहेको अनुभव सुनाए।
पूर्वराजदूत विजयकान्त कर्णले वर्तमान संविधानको लामो आयू नरहेको बताए। 'संविधान त पञ्चायतकालमा पनि आर्मी प्रहरी लगाएर लागू गरिएको थियो,' उनले भने, 'तर त्यसको आयू लामो हुँदैन ।' उनले अहिले मधेसी जनतामा पनि डर नभएको र सरकार पनि नडराएको अवस्थामा रहेको भन्दै अब पनि आन्दोलन भए त्यो हिंसात्मक हुने टिप्पणी गरे।
जनताको भावना भड्एकाए सत्ता टिकाउने खेलमा ओली गठबन्धन: भट्टराई
Reviewed by marumala srinu
on
8:47 AM
Rating:
No comments: