Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

काठमाडौं एशियाकै प्रदूषित सहर हो त ?

केही दिन अगाडि नेपालका अखबारहरूमा प्रकाशित वायु प्रदूषण सम्बन्धी समाचारले धेरै नेपालीको ध्यान खिचेको सामाजिक सञ्जालमा प्रस्ट देखियो ।

सर्वियाको एक अनलाइनले प्रकाशित गरेको रिपोर्ट अनुसार काठमाडौं एशियाको सबै भन्दा प्रदूषित सहर र विश्व को तेस्रो प्रदूषित सहरका रूपमा खबर आउँदा सबैको ध्यान खिच्नु स्वाभाविक नै थियो ।

व्यक्तिगत रूपमा मेरो पनि दुई कारणले ध्यान खिच्यो । एक-  देशको राजधानीवि श्वको प्रदूषित सहरमा परेका कारण । र, दोस्रो, वायुमण्डलीय विज्ञानको विद्यार्थीका नाताले ।

के हो त वायु प्रदूषण ?

वायुमण्डलमा विभिन्न प्रकारका स्वस्थलाई खराब गर्ने पदार्थहरू भित्रिनु नै वायु प्रदूषण हुनु हो  । त्यस्ता प्रकारका पदार्थहरू ठोस, तरल र ग्यास तीनै रूपमा भित्रिन सक्छन् ।

त्यस्ता प्रकारका पदार्थहरू प्राकृतिक र कृत्रिम (मानवीय कारण) दुवै तरिकाले वायुमण्डलमा प्रवेश गर्दछन् ।

वायु प्रदूषण गर्ने प्रमुख पदार्थहरूमा सल्फर अक्साइड , नाइट्रोजन अक्साइड , कार्बन मोनोअक्साइड, अर्गानिक पदार्थ, वायुमण्डलीय सुष्म कण , ओजोन ग्यास आदि हुन् ।

यस्ता पदार्थहरू श्वास फेर्दा श्वास नली हुँदै फोक्सो तथा रक्तसंसार प्रणालीसम्म पुग्न सक्छन् र मानव स्वास्थ्यमा प्रतिकूल असरहरू देखा पर्छन् ।

अमेरिका को वातावरण संरक्षण संस्था (इपीए) ले विभिन्न मात्राको वायु प्रदूषणलाई स्वास्थ्यमा पार्ने असरका आधारमा विभिन्न वर्गमा विभाजन गरेको छ  । तल प्रस्तुत टेबुलले विभिन्न वायु प्रदूषणको मात्रा, स्वास्थ्यमा पार्ने असर र त्यसलाई जनाउने रङ उल्लेख गरेको छ ।

वायु प्रदूषणको मात्रा स्वास्थ्यमा पार्ने असर     रङ
० देखि ५०राम्रोहरियो
५१ देखि १००मध्यमपहेँलो
१०१ देखि १५०विशेष समूहको लागि अस्वास्थ्यकरसुन्तला रङ
१५१ देखि २००अस्वास्थ्यकररातो
२०१ देखि ३००धेरै अस्वास्थ्यकरबैजनी
३०१ देखि ५००जोखिम पूर्णरातो खैरो मिश्रित रङ

यदि प्रदूषणको मात्रा ५० भन्दा तल भए त्यसले स्वास्थ्यमा कुनै असर गर्दैन । तर, प्रदूषणको मात्रा ३०० भन्दामाथि पुगेमा त्यस्तो ठाउँ स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुन्छ ।  यीमध्ये वायुमण्डलीय सुष्म कणको मात्राको अध्ययन विशेषरुपमा गरिएको हुन्छ ।

पीएम २.५ जसको ब्यास (डायमिटर) २.५ माइक्रो मिटर(१/१०००००० मिटर) भन्दा सानो हुन्छ) को मात्राको अध्ययन धेरै भएको छ ।

पीएम २.५ को मात्रालाई एक घनमिटर हावामा पाइने तौल (माइक्रोग्राम/मिटर) को रूपमा मापन गरिन्छ ।  यसरी मापन गरेको पीएम २.५ को मात्रालाई वायु प्रदूषणको मात्रामा परिवर्तन गरेर उक्त स्थानको वायु प्रदूषित भए/नभएको जाँच गर्न सकिन्छ ।

तर, यो मापन कम्तिमा २४ घण्टाको औसत हुनु पर्दछ | किनकि पीएमको मात्रा विभिन्न कारणले फरक पार्न सक्छ । जस्तो- हावाहुरीले उडाएको धूलो, दाउरा, कोइला वा फोहोर बाल्दा निस्केको धुँवा आदि ।

त्यसैले गुणस्तरीय मापनका लागि यस्तो अध्ययन लामो समयसम्म हुन जरुरी छ ।  यो लेखमा पीएम २.५ का बारेमा मात्र वर्णन गर्नुको मुख्य कारण के हो भने पीएमबाट चाँडो प्रदूषण हुने र यसले  स्वास्थ्यमा चाँडो असर पार्ने कारण हो ।

कस्ता छन् त प्रदूषित हर ?

विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले  सन् २०१५ मा निकालेको विश्वका विभिन्न सहरहरूमा भएको पीएम २.५ को मात्राको रिपोर्ट अनुसार भारतको दिल्लीमा सबैभन्दा धेरै मात्रामा ( एक वर्षको औसत १५३ माइक्रोग्राम/मिटर) पीएम२.५ पाइएको थियो ।

उक्त रिपोर्टअनुसार भारतकै पटना, ग्वालियर र रायपुरमा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका थिए ।  ११० औं स्थानमा रहेको काठमाडौंमा पीएम २.५ को मात्रा ५० माइक्रोग्राम/मिटर (एक वर्षको औसत) मात्र रहेको उक्त रिपोर्टमा उल्लेख छ ।

काठमाडौंमा रहेको  पीएम२.५ को मात्रालाई वायु प्रदूषणको मात्रामा परिवर्तन गर्दा १३७ हुन्छ | यो मात्रा माथिको प्रस्तुत गरेको टेबुल अनुसार काठमाडौंको वातावरण विशेष समूहका लागि अस्वास्थ्यकर रहेको समूहमा पर्छ । यहाँ विशेष समूह भन्नाले श्वास-प्रश्वास, मुटुसम्बन्धी रोग भएका मानिसहरू तथा बालबालिका र बुढाबुढी जनाउँछ ।

अर्कोतर्फ दिल्लीमा रहेको पीएम २.५ को मात्रालाई वायु प्रदूषणको मात्रामा परिवर्तन गर्दा २०३ हुन्छ, जुन धेरै अस्वास्थ्यकर समूहमा पर्छ  ।  जसको असरका कारण विभिन्न श्वास-प्रश्वास र मुटु सम्बन्धी रोगहरू लाग्न सक्छन् ।

मोटरगाडी बाहेक अन्य श्रोतमा फोहोर बाल्दा निस्केको धुँवा, इँटा-उद्योगबाट निस्केको धुँवा, फोहोर बाल्दा निस्केको धुँवा नै  काठमाडौंका मुख्य प्रदूषकहरू हुन्

वातावरण संरक्षण संस्थाको रिपोर्ट अनुसार पीएम २.५ को मात्रा १५ माइक्रोग्राम/मिटर (एक वर्षको औसत) र २४ घण्टाको औसत मात्रा ३५ माइक्रोग्राम/मिटर भन्दा धेरै हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

काठमाडौंमा प्रदूषणका श्रोतहरू

पीएमका श्रोतहरुविभिन्न प्रकारका हुन्छन् । जस्तै- मोटरगाडीबाट निस्केको धुँवा, काठ दाउरा बाल्दा निस्केको धुँवा, फोहोर बाल्दा निस्केको धुँवा, औधोगिक क्षेत्रबाट निस्केको धुँवा, धुलाका कण आदि ।

सन् २००६-२००७ मा भएको एक अध्ययन अनुसार काठमाडौंमा पीएमको मात्रा बिहान, दिउँसो, साँझ र रातमा भिन्नभिन्न देखाएको थियो ।  उक्त अध्ययन अनुसार काठमाडौंमा पिएम २.५ को मात्रा बिहान र साँझ धेरै तथा दिउँसो र रातमा कम पाइएको थियो ।  जसले काठमाडौंमा लोकल रूपमा निस्केका प्रदूषकहरू मुख्य श्रोत रहेको जनाउँछ ।

 काठमाडौंमा लोकल प्रदूषक मुख्य रूपमा मोटरगाडीबाट निस्केको धुँवालाई लिन सकिन्छ ।  त्यसका साथै अन्य दिनको तुलनामा शनिबार साँझ पिएम २.५ मात्रा कम पाउनुले  पनि मोटरगाडीबाट निस्केको धुँवालाई प्रमुख श्रोतका रूपमा अंकित गर्दछ ।  मोटरगाडी बाहेक अन्य श्रोतमा फोहोर बाल्दा निस्केको धुँवा, इँटा-उद्योगबाट निस्केको धुँवा, फोहोर बाल्दा निस्केको धुँवा नै  काठमाडौंका मुख्य प्रदूषकहरू हुन् ।

काठमाडौं एशियाकै प्रदूषित सहर हो भन्ने समाचार को तथ्य

सर्वियाको एक अनलाइनले प्रकाशित गरेको रिपोर्ट नै यो समाचारको मुख्य श्रोत हो ।  तर, उक्त वेबसाइटमा उल्लेख भएको सम्पूर्ण कुरालाई राम्रोसँग अध्ययन नगरी समाचार बनाउनु नै यो भ्रामक समाचार आउनुको प्रमुख कारण हो  ।

उक्त वेबसाइटमा जनाए अनुसार सो रिपोर्ट वेबसाइट भ्रमण गर्ने मानिसले दिएको सूचनाका आधारमा निकालेको हो । उक्त वेबसाइटमा उल्लेख भए अनुसार जोकोही व्यक्तिले विभिन्न शीषर्कमा रहेका प्रश्नको उत्तर दिन सक्ने छ र सो उत्तरका आधारमा उक्त ठाउँको वातावरण कतिको राम्रो या नराम्रो भनी रिपोर्ट निकालिएको हो ।

यो कुनै विश्वसनीय अध्ययनबाट आएको रिपोर्ट होइन । तसर्थ यो रिपोर्टको कुनै विश्वसनीयता छैन |

यदि तपाइले अहिले सो वेबसाइट हेर्नुभयो भने अहिले काठमाडौं प्रथम स्थानमा नभएर अन्य स्थानमा पुगिसकेको छ । त्यसैले यस्ता समाचारहरू प्रकाशनपूर्व सम्बन्धित विज्ञहरूको सल्लाह लिन आवश्यक रहेको कुरा यो पंक्तिकार अनुरोध गर्दछ  ।



काठमाडौं एशियाकै प्रदूषित सहर हो त ? Reviewed by marumala srinu on 8:32 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.