लोकमानले सीमा नाघे, दीक्षित पत्नी शान्तासँग विवाह दर्ताको प्रमाण मागेपछि…
काठमाडौं, ११ वैशाख । पत्रकार तथा साँझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई नियन्त्रणमा लिएर विवादमा तानिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की आफ्नो अधिकारभन्दा बाहिर गएको पाइएको छ ।
नियन्त्रणमा लिइएका दीक्षितलाई लोकमानले कसैलाई भेट्न दिएका छैनन् यतिसम्मकी दीक्षितकी पत्नी शारदा दीक्षितसँग आफ्ना सुरक्षाकर्मीमार्फत दुर्व्यवहार गरेका छन् ।
नियन्त्रणमा लिएर अख्तियारको हिरासतमा नराखी गौशाला प्रहरीको हिरासतमा पठाएका बेला रक्तचाप बढेपछि उपचारका वीर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा प्रहरीले कसैलाई भेट्न दिएन् । श्रीमान भेट्न पुगेकी शारदासँग पनि वैवाहिक सम्बन्धको प्रमाण मागियो ।उनीहरुले सम्बन्धको प्रमाण लिएर आएपछि मात्रै भेट्न दिने अड्डी कसेका थिए ।
अख्तियारका कर्मचारीबाट यस्तो व्यवहार भएपछि प्रेस युनियनले शनिबार साँझ एक विज्ञप्ति जारी गरी अख्तियारका प्रमुखको ध्यानाकर्षण जनाएको छ ।
‘लामो समयको पत्रकारीतामार्फत नेपाली समाज र पत्रकारीताको अन्तराष्ट्रिय मञ्चमा समेत स्थापित भइसकेका दीक्षितलाई पक्राउ पछि पनि अख्तियारका तर्फबाट मानवीय व्यवहार नगरिएको र भेट्न आएकी श्रीमतीलाई समेत सम्बन्धको प्रमाण लिएर आएपछि मात्रै भेट्न दिने अड्डी कसेको विषयले अख्तियारको मनसायमाथि थप प्रश्न उव्जाएको छ’ प्रेस युनियनका महासचिव अजयबावु सिवाकोटीद्धारा विज्ञप्तिमा भनिएको छ- ‘अख्तियारको प्रमुखमा लोकमानसिंह कार्कीको योग्यता र नियुक्तिका लागि विधिरप्रक्रिया मिचिएकोबारे दीक्षितले पत्रकार र नागरिक अगुवाको रूपमा सार्वजनिक जवाफदेहिताको माग गरेकै बिषयमा पूर्वाग्रह साध्ने काम भएको पुष्टी हुने अवस्था आए यो अख्तियारकै लागि दुर्भाग्य सावित हुनेछ ।’
यस्तो छ पुरा विज्ञप्तिः
हिमाल खबरपत्रिकाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणी दिक्षीतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। अख्तियारलाई प्राप्त अधिकारको सीमाभित्र रही नागरिक कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्यमा हाम्रो कुनै प्रश्न हैन र रहनेपनि छैन। तर नागरिक अगुवा तथा वरिष्ठ पत्रकार दिक्षीतको पक्राउ पछि उत्पन्न प्रतिक्रिया र यसको पृष्ठभुमि हेर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नै अख्तियारकै दुरुपयोग भएको आशंकालाई बल दिएको छ। पक्राउ लगत्तै कनकमणि दीक्षितले ‘ निरङ्कुशताको विरोध गर्दा १० वर्षअघि यही ठाउँबाट मलाई तत्कालीन राजा ज्ञानेन्द्रका पालामा पक्राउ गरिएको थियो आज लोकतन्त्रकालमा फेरि लोकमानसिंह कार्कीले लाँदैछन् ‘ भन्ने प्रतिक्रिया दिएर अख्तियारको भुमिकामाथि गम्भिर प्रश्न खडा गरेका छन।
अख्तियारको दुरुपयोग भएको अवस्थामा कार्वाही गर्ने निकायका प्रमुखमाथि नै अख्तियारको दुरुपयोग गरेको गम्भिर आरोप लागेको यो अवस्थामा पत्रकार दीक्षितको आशंकालाई बल पुग्ने गरि अख्तियारका कुनै पनि प्रक्रिया अघी बढ्न नुहनेमा युनियन प्रष्ट छ। अख्तियारको भूमिकामाथि दीर्घकालिन रुपमा प्रश्न उठाउन सक्ने यो विषयमा आग्रहपूर्वाग्रहविना अनुसन्धान गरिनुपर्ने हाम्रो मान्यता छ। अख्तियारको प्रमुखमा लोकमानसिंह कार्कीको योग्यता र नियुक्तिका लागि विधि/प्रक्रिया मिचिएकोबारे दीक्षितले पत्रकार र नागरिक अगुवाको रूपमा सार्वजनिक जवाफदेहिताको माग गरेकै बिषयमा पूर्वाग्रह साध्ने काम भएको पुष्टी हुने अवस्था आए यो अख्तियारकै लागि दुर्भाग्य सावित हुनेछ। लामो समयको पत्रकारीतामार्फत नेपाली समाज र पत्रकारीताको अन्तराष्ट्रिय मञ्चमा समेत स्थापित भइसकेका दिक्षीतलाई पक्राउ पछि पनि अख्तियारका तर्फबाट मानविय व्यवहार नगरिएको र भेट्न आएकी श्रीमतीलाई समेत सम्बन्धको प्रमाण लिएर आएपछि मात्रै भेट्न दिने अड्डी कसेको विषयले अख्तियारको मनसायमाथि थप प्रश्न उव्जाएको छ।
नेपाल प्रेस युनियन लोकतन्त्र र विधीको शासनमा विश्वास राख्छ। विधीको शासनको सदैव पक्षपाती रहेको युनियन दिक्षीत पक्राउ प्रकरणमा तिनै विधी र प्रक्रियाहरुको पालना भएकोमा आश्वस्त हुन चाहन्छ। दिक्षीतका सम्वन्धमा सर्वोच्च अदालतले यस अघी दिएको आदेशलाई समेत सम्मान गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई प्राप्त संवैधानिक अधिकार दुरुपयोगको गरेको आरोपबाट बच्न पनि पत्रकार दिक्षीतलाई तत्काल रिहा गरि बाँकी अनुसन्धान प्रक्रिया अघी बढाउन युनियन जोडदार माग गर्दछ।

No comments: