Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

ब्रेक्जिट जनमत संग्रहःओबामाले सल्काए आगो

ब्रसेल्स– बेलायतलाई युरोपेली संघ (इयु)मै राख्नेहरू यतिबेला उत्साहित छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले इयुमै रहनुपर्ने नत्र बेलायतलाई ठूलो घाटा पर्ने वक्तव्य दिएपछि सोको पक्ष र विपक्षमा चर्को आलोचना र प्रशंसासमेत भइरहेका बेला 'ब्रेक्जिट' अभियानले भने गति लिएको छ। 

टेलिभिजन र पत्रपत्रिकामा दुई पक्षबीच भिडन्तकै अवस्था देखिएको छ भने कसको पक्षमा मत आउला भन्ने आँकलन जारी नै छ । इयुमै रहनेहरूले अभियानमा जित हात पार्ने एउटा सर्भेले देखाएको छ । जनमत भने २३ जुनमा निर्वाचनमार्फत् लिइने छ ।

२८ राष्ट्रको इयुमा रहँदाका बेफाइदा देख्नेहरू पनि कम भने छैनन् । ६० प्रतिशत सर्वसाधारणले चुनावका बेला भाग लिने जनाएका छन् । गत वर्षको आम निर्वाचनमा भने ६६.१ प्रतिशतले चुनावमा भाग लिएका थिए ।

इयुमै रहन बढीभन्दा बढी भोटको आवश्यकता देखिएकाले अधिकांश चर्चित व्यापारी, सेलिब्रिटी र नेताहरूसमेत इयुमै रहनाका फाइदा टेलिभिजन र मिडियामा गनिरहेका छन् तर सत्ताधारी कन्जरभेटिभ पार्टी भने दुई चिरामा विभाजन भएको छ । कन्जरभेटिभका गाउँ र नगरका कार्यकर्ताहरू इयुमा नरहँदा पनि हुने मनस्थितिमा देखिएका छन् ।

बेलायतको अर्को ठूलो दल लेबर भने पहिलेदेखि नै इयुवादी छ । इयुमा रहँदा कामदार वर्गलाई असर पुगेको भन्दै कतिपय लेबर अभियानकर्मीहरू चुप लागेर बसेका छन् । बढ्दो आप्रवासन, औद्योगिक मजदुरीमा कटौती, घट्दो जीवन स्तर र घरघरमा इयुविरोधी जमात देखिएपछि लेबर अभियानकर्मीहरू मौन बस्न रुचाएका हुन् ।

छोड्नै पर्ने पक्षमा नयाँ पार्टी देखिएको छ । युके इन्डिपेन्डेन्स पार्टीले लेबरका मतदाता चोर्न थालेपछि लेबर पार्टी पनि दबाबमा छ । इयु विरोधीले घरघरमा ढोका ढक्ढक्याउँदै इयु छाड्नुका फाइदा गन्न थालेपछि अन्यलाई यतिबेला अप्ठेरोमा परेको छ ।

'बूढाले भोट हाले भने इयु छोड्ने देखिन्छ तर युवाहरूले भोट हाले भने इयुमै रहने जनमत छ,' लन्डन स्कुल अफ इकोनोमिक्सका राजनीतिका प्राध्यापक सिमोन हिक्सले भने, 'त्यसैले कसलाई भोट हाल्न बढी उत्प्रेरित गर्ने यसबाटै बुझ्न सकिन्छ ।' हिक्स 'भोट वाच इयु' संस्थाको अगुवाइ गरिरहेका छन् । यसले मतदाताले मत व्यक्त गर्ने शैलीलाई पछ्याइरहेका छन् ।

'इयुमै बसौं भन्ने अभियान सुन्दा रमाइलो र बहुमत त्यतै छ जस्तो देखिएको छ तर अधिकांशले केमा मत हाल्ने भन्ने धारणा बनाइसकेका छन्,' हिक्सले भने, 'यसका लागि बढ्ता प्रचार गरिरहनु आवश्यक छैन । अर्कोतर्फ छाड्नुपर्छ भन्नेहरू चर्को अभियानमा छन्, घरघर पुगिरहेका छन् तर छाड्नु हुन्न भन्नेहरू चाहिँ आरामले घरैमा बसिरहेका छन् ।'

स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सबासीहरू इयु छाड्न नहुने पक्षमा देखिएका छन् । लन्डनका मतदाता पनि सोही लहरमा उभिएका छन् तर बाँकीका क्षेत्र, पुराना औद्योगिक क्षेत्र, दक्षिण–पश्चिमी गाउँले भेग छाड्नुपर्छ भन्ने मान्यतामा छन् ।

बेलायती, आइरिस र कमनवेल्थ नागरिकहरूले मतदानका लागि योग्य हुन्छन् तर तिनले आफूलाई दर्ता गराउनु पर्ने हुन्छ । युवा मतदाताहरूको नाम स्वतः दर्ता नहुने हुनाले तिनले पनि दर्ता गर्नुपर्ने देखिएको छ । पहिलो पटक मत खसाल्ने उमेर पुगेकाले जुन ७ सम्म दर्ता भइसक्नुपर्ने भए पनि अधिकांश युवा मतदाता भने यसबारे जानकार नरहेको सर्भेले देखाएको छ ।

देशबाहिर १५ वर्ष बसिरहेका र इयु राष्ट्रहरूमा बस्ने, काम गर्ने कर तिर्नेहरूले पनि मत दिन नपाउने भएका छन् । युरो २०१६ फुटबल टुर्नामेन्ट यही बेला परेकाले मतमा गम्भीर असर पुग्ने देखिएको छ ।


ब्रेक्जिट जनमत संग्रहःओबामाले सल्काए आगो Reviewed by marumala srinu on 8:55 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.