Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आन्तरिक पर्यटकको रोजाइमा घान्द्रुक

पर्यटक भनेकै विदेशी पाहुना ठान्ने अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसायीलाई यस वर्ष भने दिगो पर्यटनको प्रमुख आधार भनेकै आन्तरिक पर्यटक हो भन्ने महसुस भएको छ। 
 
गत वैशाखको भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण बाह्य पर्यटकबाट थलिएको अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यटनलाई गएको वर्षभरि आन्तरिक पर्यटकले धानेको छ। 
 
भूकम्पपछि दशैं तिहारको विदाको समयमा दैनिक दुई–तीन सयको अनुपातमा आन्तरिक पर्यटक अन्नपूर्ण पदमार्गको प्रथम पर्यटकीय विश्रामस्थल घान्द्रुक भित्रिएका थिए। लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकांश पर्यटकको प्रमुख रोजाइ घान्द्रुक क्षेत्र नै थियो। 
 
यस वर्षको भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण विदेशमा नकारात्मक सन्देश प्रवाह भई घान्द्रुकको पर्यटनलाई नराम्रो सँग असर पारेको घान्द्रुक होटल व्यवसायी सङ्घका अध्यक्ष किसम गुरुड बताउँछन्। उनी भन्छन् – ‘यस वर्ष सबैभन्दा दुःख नाकाबन्दीबाट भयो । बन्द गर्न पनि नहुने, चलाउन पनि निक्कै गाह्रो।’ 
 
भूकम्प र नाकाबन्दीबाट विदेशी पर्यटकहरुको आगमनमा अझै पनि सुधार हुन नसकेको उनको दुखेसो छ । भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण पर्यटक आगमनमा कमी आएको भएपनि यसलाई पूरै धान्ने गरी आन्तरिक पर्यटकहरुको घुइँचो निक्कै बढेर ‘दिगो पर्यटनको मुख्य आधार नै आन्तरिक पर्यटन हो’ भन्ने राम्रो पाठ भूकम्प र नाकाबन्दीले घान्द्रुकका पर्यटन व्यवसायीलाई सिकाएको अध्यक्ष गुरुङ बताउँछन्। 
 
घान्द्रुकको पर्यटनको महत्वपूर्ण विशेषता हो– समुदायमा आधारित पर्यटन। यहाँका पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको सम्बन्धले नै यहाँको पर्यटन व्यवसायले फड्को मारेको अध्यक्ष गुरुङको बुझाइ छ। उनी भन्छन् “यहाँका पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको राम्रो सम्बन्धले नै यहाँका सबैमा घान्द्रुक आउने पर्यटक आफ्नै पाहुना हुन् भन्ने अनुभूति दिलाएको छ।” 
छ हजार ७ सय फिट उचाइमा रहेको घान्द्रुक पुग्न कास्कीको नयाँपुल पुगेर गाडीबाट ओर्लिएपछि करिव पाँच घन्टा पैदल हिँड्नुपर्छ। यो मार्गबाट हिँडेर घान्द्रुक पुग्न धेरै पर्यटकहरु लालायित हुने गरेका छन् । अझ यो महिनामा घान्द्रुक पुग्ने पर्यटकले वनपाखामा फुल्ने राताम्मे गुराँसको मोहकता पनि देख्न पाउँछन्। 
 
यहाँका सबै होटलको सेवा सुविधामा एकै किसिमको दर तय गरिएको छ। घान्द्रुकमा पुग्ने कोही पनि पर्यटकले आफ्नै रोजाइमा सेवा र सुविधा प्राप्त गर्न सक्दछ। “यहाँ सेवा सुविधाको मेनु समान कायम गरेका छौँ, हरेक वर्ष सामूहिक रुपमै यसलाई परिवर्तन गर्छौं” – अध्यक्ष गुरुङले भने। 
 
भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण गत वर्ष भन्दा यस वर्ष बाह्य पर्यटक आगमनमा ठूलो कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र घान्द्रुकको तथ्याङ्क छ। कार्यालयको तथ्याङ्क अनुसार सन् २०१४ मा अन्नपूर्ण आधार शिविरको पदयात्रामा लागि १ लाख २९ हजार ६ सय २४ विदेशी पर्यटक आएका थिए। सन् २०१५ मा यस क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या घटेर ७९ हजार पुगेको छ। यस अवधिमा अन्नपूर्ण साउथ अर्थात घान्द्रुक क्षेत्रबाट पदयात्रामा जाने पर्यटकको सङ्ख्या ३७ हजार रहेको थियो । यो पनि अघिल्लो वर्षको तुलनामा निक्कै कम हो। 
 
अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । विदा र फुर्सदको समयमा देशभित्रकै पर्यटकीय स्थलहरु घुमेर प्राकृतिक सौन्दर्यमा रमाउने नेपालीहरुको चाहनाले आन्तरिक पर्यटन फस्टाउन पुगेको हो। 
 
कोलाहल, प्रदूषण र व्यस्त जीवनबाट केही दिन टाढिएर पदयात्रामा रमाउने व्यवसायी, सरकारी, गैरसरकारी र वित्तीय संस्थाका कर्मचारी, दश जोड दुई र कलेजका विद्यार्थीको भरमा भूकम्प र नाकाबन्दीले थलिएको यहाँको पर्यटन व्यवसाय धानिएको छ। 
यहाँ ओइरिने विदेशी पर्यटक धान्न सक्ने गरी नै नेपालीबाट पनि व्यवसाय सञ्चालन हुने गरेको घान्द्रुकमा होटल व्यवसाय सञ्चालन गरिबसेका विक्रम गुरुड बताउँछन्। गुरुडका अनुसार सशस्त्र द्वन्द्वपछि यहाँ आन्तरिक पर्यटकको आगमन बढ्दै गएको हो। 
 
घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर जाने घोरेपानी पुनहिल क्षेत्रमा पश्चिम नेपालकै ठूलो गुराँसको जङ्गल रहेको छ। यो मार्गमा झण्डै १५ घण्टा गुराँस जङ्गलको बाटो हिँड्न पाएर पर्यटकहरु दङ्ग पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र घान्द्रुकका प्रमुख विदुर कुँइकेलको अनुभव छ।
 
 विदेशीहरुका लागि समयका हिसाबले छोटो, सस्तो र फरक फरक अनुभुति हुने यो पदमार्ग प्राकृतिक मनोरम र जैविक अनुसन्धानको हिसावले पनि आकर्षक गन्तव्य बन्दै आएको उनले बताए। यो पदमार्गको यात्रा कास्कीको बिरेठाटीबाट सुरु हुन्छ र अन्नपूर्ण आधार शिविरसम्म पुगेर फर्कंदा झण्डै ५ दिन लाग्छ।
 
 यात्राका बीचमा पर्यटकहरुले घान्द्रुक, सेनुवा, बम्बु, हिमालय, देउराली, माछापुच्छ्रे आधार शिविर जस्ता रमाइला स्थलहरुको अवलोकन गर्न पाउँछन्। 
 
चम्किला किरण छर्दै सूर्योदय हुँदा घान्द्रुकबाट सुन टल्किएकै भान हुने हिमशृङ्खलाको अद्भूत लहर दृश्यावलोकन गर्न सकिन्छ । आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने २० भन्दा बढी हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु यस क्षेत्रको आकर्षण हो। 
 
यस पदमार्गमा चैत–वैशाखमा करिव १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ । पुस र माघमा सेताम्मे हिउँ पर्छ । पर्यटकहरुका लागि यो आधार शिविर क्षेत्रमा आकर्षक हिमालहरुको मनोरम दृश्य आँखा अगाडि नै पर्ने हुनाले आधार शिविरसम्मको यात्रा सहज बन्ने गरेको कुँइकेल बताउँछन्।  
 
अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । बिदा र फुर्सदको समयमा देशभित्रकै पर्यटकीय स्थल घुमेर प्राकृतिक सौन्दर्यमा रमाउने नेपालीहरुको चाहनाले गर्दा आन्तरिक पर्यटनको विकास हुँदै गएको हो। 
 
हिमशृङ्खला, सूर्योदय, ग्रामीण बस्ती, फरक संस्कृति, वन जङ्गल र मनोरम भूगोलको अवलोकन गर्न पाउँदा आफ्नो देश कस्तो रहेछ भनेर बुझ्ने अवसर पनि मिल्ने गरेको घान्द्रुकमा तीन दिन बिताएर फर्कनुभएका रुपन्देही व्यापार सङ्घका अध्यक्ष मोतीलाल पाण्डे बताउँछन्। उनी नेतृत्वको सङ्घको सिङ्गो टोली नै केही दिन अघि घान्द्रुकमा तीन दिन बसेर संस्थाको रणनीतिक कार्ययोजना गोष्ठी सम्पन्न गरेर फर्किएको थियो। 
 
भूकम्पपछि सुरक्षित रहेका पदमार्गका बारेमा सकारात्मक सन्देश प्रवाहका साथै पर्यटन क्षेत्रलाई बन्द हडताल मुक्त बनाउन सकिए जुनसुकै पर्यटकीय गन्तव्यमा पनि पर्यटक आगमन बढेर जाने अध्यक्ष पाण्डेको विश्वास छ। रासस 
आन्तरिक पर्यटकको रोजाइमा घान्द्रुक Reviewed by marumala srinu on 11:02 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.