Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

गरिब चेपाङको प्रश्न,'के खाएर बाँच्ने ?'

काँकडा (मकवानपुर): काठले बारेको झुप्रोभित्र दुई बालकालिका अगेनामा आगो फुकेर बसिरहेका छन्। आमाले जंगलबाट केही कन्दमूल ल्याउलिन् र पकाएर खाउँला भन्ने आसमा रहेका उनीहरू भोक लाग्यो भन्दैनजिकै रहेका बुबा मिलन चेपाङसँग रोइकराई गरिरहेका थिए। 
 
काँकडा-८ धिराङस्थित झुप्रोभित्र खाली कसौँडी हेरेर बसिरहेका छोराछोरीलाई उनले सान्त्वनासमेत दिन सकेनन्। मिलनको पाँचजनाको परिवारको पेटमा अन्न नपरेको दुई महिना बितिसक्यो। 'जंगलमा कन्दमूल पनि पाउन छाड्यो, अब के खाएर बाँच्ने ?' उनले गुनासो गरे।

 
गत वैशाख १२ गतेको भूकम्पपछि उनी ओढारनजिकै रहेको खोरिया बारीमा झुप्रो बनाएर सरेका हुन्। जंगलको बीचमा रहेको ओढार देखाउँदै उनले भने, 'भूकम्पले ओढार छेउछाउ चर्किएपछि पहिरो जाने डरले यता सरेको हुँ।' 
 
ओढारमै जन्मिएका उनलाई ओढार छोडेर खोरियामा झुप्रो बनाउँदाको ऋणले पिरोलेको छ। 'सात हजार घर बनाउँदाको ऋण छ, अनिकालले अन्न बेसाउँदा अरू तीन हजार साहुसँग ऋण लिएको छु', उनले भने, 'बारीको उब्जनीले तीन महिना पनि खान पुग्दैन, बाँकी समय बेसाएरै खाने हो ।' झुप्रो घरनजिकै निर्माणाधीन उनको काठे घर अधुरै छ।
 
बाजेको पालादेखि नै ओढारमा बस्दै आएका मिलनले बिहे पनि ओढारमै गरेका थिए। विद्यालयको अनुहार देख्न नपाएका उनलाई तीन छोरा छोरी भने विद्यालय पढाउने रहर छ। तर नागरिकता नभएकाले उनले छ वर्षका जेठा छोरालाई विद्यालय भर्ना गराउन सकेका छैनन्। 'मेरो नागरिकता छैन, विद्यालय भर्ना गर्न बच्चाको जन्मदर्ता चाहिँदोरहेछ, कहाँबाट बनाउने', उनी अन्योलमा छन्।
 
बुबा सानैमा बितेका मिलनको आमा पनि बितेपछि तीन वर्षअघि उनका दाजु रामकुमार ओढारबाट छुट्टिएर नजिकै खोरियामा झुप्रो बनाएर बसेका थिए । जंगलमा टाँकीको साग टिप्न जाँदा लडेर देब्रे हात भाँचिएकी रामकुमारकी श्रीमती राममायाँलाई एक सतादेखि ठेउलाले सताएको छ। 
 
ज्यानभरि ठेउला आएपछि थलिएकी श्रीमतीलाई उनले उपचारका लागि स्वास्थ्य चौकी लैजान सकेका छैनन्। बाँसको चोया काट्दै गरेका ३२ वर्षीय रामकुमारले भने, 'खानेकुरा किन्ने पैसा त छैन, कहाँबाट उपचार गर्नु ?' श्रीमतीको उपचार गर्ने मन भए पनि पैसा नभएकाले घरमै राख्नुपरेको उनले गुनासो गरे।
 
यहाँबाट नजिकको छिमेकी लोथर गाविस देउरालीटारस्थित स्वास्थ्य चौकी पुग्न तीन घन्टा र काँकडा स्वाथ्य चौकी पुग्न चार घन्टा लाग्छ। ठेउलाले थलिएकी राममायालाई आफ्नोभन्दा पनि छोराछोरीको चिन्ता छ। 'घरमा खानेकुरा छैन, बिरामी भएपछि मेरो दूध राम्ररी आएको छैन', उनले भनिन्, 'सानो छोरो भोकले कराँउछ खानदिने कुरा केही छैन।'
 
ओढार छाडेदेखि थप दुःख पाएको बताउँदै उनले भने, 'बरू ओढारकै बसाइ राम्रो थियो, ऋण त लागेको थिएन ।' ओढार छाडेपछि बनाएको झुप्रो घर भूकम्पले भत्काएपछि रामकुमारले नयाँ घर निर्माण गर्न थालेका छन्। 'सरकारले दिएको केही पैसाले जस्ता किने अरू काम गर्न सकेको छैन', उनले भने, 'घर बनाउँदा र अन्नपात बेसाउँदाको ऋण दस हजार नाघिसक्यो ,कहाँ बस्ने के खाने हामी अन्योलमा छौं।'
 
एक हल गोरु लाग्ने खोरिया बारीको पनि उनीसँग लालपुर्जा छैन । अघिल्लो वर्ष वैशाखमा रामकुमार मकै गोड्थे। तर यस वर्ष खरेडीका कारण बारी बाँझै छ। 'घर बनाएको ऋण र छाक टार्न लिएको सापटी कसरी तिर्ने, बारी बाँझै छ', उनले दुखेसो पोखे, 'सबै समस्या एकै पटक आइपर्यो, यो समस्या कसरी टार्ने, सहयोग गर्ने कोही छैन।'
 
जिल्लाकै विकट काँकडा गाविसको धादिङ जिल्लास्थित महादेवस्थान गाविससँग जोडिएको धिराङमा चेपाङ जातिको मात्र बसोबास छ। शिक्षा र स्वास्थ्यको पहुँचबाहिर रहेको धिराङलाई सरकारले कहिल्यै नहेरेको रामकुमारको गुनासो छ। 'भीरपाखामा कसैको ध्यान नजाँदो रहेछ, यहाँ मान्छे मर्दा पनि कसैले थाहा पाउँदैनन्', उनले भने, 'सबै समस्या गरिबलाई मात्रै आउँदोरहेछ।'
गरिब चेपाङको प्रश्न,'के खाएर बाँच्ने ?' Reviewed by marumala srinu on 10:28 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.