पाटनमा अजिमाको १२ वर्षे नाच
ललितपुर-पाटनबाट एक लस्कर जात्रालु धिमे र नरसिंगाको धुनमा नाच्दै पूजा लिएर पुल्चोक पुग्छन् । काठमाडौंबाट ङतभुलु अजिमा (नरदेवी श्वेतकालीमाई)का १९ अवतार देवगणका लस्कर अजिमालाई अगाडि लगाएर पुल्चोक पुगिसकेका हुन्छन् ।
पुल्चोकस्थित सोह्रखुट्टे पाटीमा देवगणलाई निम्त्याएर जात्रा गर्दै मंगलबजारस्थित कार्तिक नाच डबलीमा लगिएको थियो । देवगणको नियमित पूजापछि शुक्रबार मध्यरात देवगणको नाच हुने ज्यापु समाज यलले जनाएको छ ।
काठमाडौं नरदेवी श्वेतकालीमाईको ऐतिहासिक १२ वर्षे नाच पाटन दरबारको कार्तिक डबलीमा शुक्रबार सुरु भएको हो । पाटनमा दुई दिनसम्म मध्यरात १९ देवी, अवतार र दैत्यको नाच गरिने परम्परा रहेको छ । नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समितिका अनुसार १२ वर्षमा आयोजना हुने विशेष देवीनाचको निरन्तरताका लागि बिहीबार र शुक्रबार पाटनको कार्तिक नाच डबलीमा नाच हुने भएको हो । यस्तै कीर्तिपुरस्थित लायकु डबलीमा आइतबार र सोमबार देवीनाच हुनेछ । समितिका अनुसार २०६६ सालमा सुरु भएको देवी नाच २०६८ सम्म काठमाडौंको तलेजु भवानीको मन्दिरस्थित दश अवतार डबलीमा भएको थियो ।
काठमाडौंको प्राचीन बस्ती नरदेवीमा रहेकी ङतभुलु अजिमा विभिन्न रुपधारण गर्ने भएकी र अवतारमा देखिने नरदेवीकी माताको भूमिका देखाउँदै पाटनको कार्तिक नाच डबली, काठमाडौंको दश अवतार डबली र कीर्तिपुरको लायकु डबलीमा १२ वर्षे देवीनाच आयोजना हुने गर्छ । उत्तरमा थँबहीदेखि दक्षिणमा ओनदेसम्म मध्यभागमा नेवारीमा ङतभुलु अजिमा नरदेवीले सबैको रक्षा र असत्यमाथि सत्यको जितस्वरुप नाच आयोजना हुँदै आएको हो ।
ज्यापु समाज यलका सचिव मोहन व्यञ्जनकारका अनुसार ङतभुलु अजिमा रहेको काठमाडौं नरदेवी टोलका मूलधामी लक्ष्मीनारायण महर्जनको नेतृत्वमा देवगणको टोली पाटनको मंगलबजार आएको हो । नरदेवीका अन्य १८ रुपमा समेत गुठियार मध्येबाटै देवगणका रुपमा नाच गर्नेछन् । कुमारी, भैरव, बाराही, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिहिंनी, ब्याघ्रिनी, करुणामय, महाद्यः, चण्डेश्वरी, कुमार, दैत्य, ध्वं र खिचाजस्ता देव, दैत्य र अवतारको नाच हुने समाजले जानकारी दिएको छ ।
पाटनमा अजिमाको १२ वर्षे नाच
Reviewed by marumala srinu
on
2:19 AM
Rating:

No comments: