Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

उद्धारका हिरो -

वैशाख १२, २०७३- भूकम्पमा आफ्नो परिवार बेखबर हुँदा पनि सुरक्षाकर्मीहरू उद्धारमा लागिरहेका थिए । स्युचाटारस्थित सशस्त्र प्रहरी बलको उपत्यका विपद् व्यवस्थापन बेसलाई आदेश आइसकेको थिएन, तर ५० जनाको टोली भूकम्पलगत्तै उद्धारमा निस्किसकेको थियो । उनीहरू खाना खाएर बसेका मात्र के थियो, भूकम्प आइहाल्यो । ‘पहिले प्रतिकार्य त्यसपछि रिपोर्ट,’ विपद् व्यवस्थापनको पहिलो मन्त्र उनीहरूले स्युचाटारमा प्रयोग गरे ।

‘एक स्थानीय आएर श्रीमती च्याम्पिएको छ बचाइदिनोस् भने । हामी तत्काल गयौं । कच्ची घरले कम्मरमुनि च्यापिएको रहेछ । १०–१५ मिनेटको प्रयासमा निकाल्यौं । उनलाई निकालेको १०–१५ मिनेटमा परकम्पको धक्काले पूरै घर ढल्यो । त्यसले झस्कायो । तत्कालै त्यहाँ नपुगेको भए के हुन्थ्यो होला ?’ सशस्त्र प्रहरी निरीक्षक ध्वजविक्रम शाहीले एक वर्षअघिको घटना सम्झिए । उनको समूहले स्युचाटारमा तत्काल १५–१६ जनाको उद्धार गरेर अस्पताल पठाएको थियो ।

स्युचाटारपछि उनको टोली कलंकी पुगिहाल्यो । त्यहाँ धेरै घर ढलेका थिए । भत्किएको एउटा घरमा भेटिए, हजुरआमा र नातिनी । नातिनीलाई बचाउन हजुरआमाले छोपेर राखेकी थिइन् । उद्धार गरेपछि दुवैको ज्यान जोगियो । नजिकै लुम्बिनी वाटिका गेस्टहाउसमा धेरै मान्छे च्यापिएका थिए । शाहीसहितको टोलीले त्यहाँ १४ जनाको उद्धार गर्दा १३ वैशाखको बिहान साढे ३ बजिसकेको थियो । ‘विदेश जान आएका एक युवालाई उद्धार गरेको समयमा ठीकठाकै देखिन्थे । तर, एम्बुलेन्स मार्फत अस्पताल पुर्याउँदा बितिसकेछन् । नरमाइलो लाग्यो,’ शाहीले भने ।

त्यहाँ उद्धार गरिरहँदा शाही आफ्नो परिवारबारे भने निकै बेरसम्म बेखबर थिए । बाजुराका यी २८ वर्षीयको परिवार थलीस्थित नयाँ घरमा बस्छन् । ‘उद्धारमा थिएँ । आफ्नै घरमा चाहिं के भयो भन्ने अत्तोपत्तो थिएन । फोन पनि लागेको थिएन । सबैतिरको अवस्था हेर्दा डर लागेको थियो,’ उनले भने, ‘तर, साँझ ७ बजेतिर वी आर सेफ लेखिएको भाउजूको म्यासेज आयो । अनि ढुक्क भएर उद्धारमा लागें ।’ लगातार तीन दिन तीन रातसम्म निद्रा के हो उनको टोलीलाई थाहा भएन । जुस र बिस्कुटको भरमा उद्धार गरिरहे ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका दुई लाखभन्दा बढीमध्ये भूकम्प प्रभावित क्षेत्रमा रहेकाहरू निरन्तर उद्धारमा खटिएका थिए । एक दशकअघि राजधानीमा विपद् व्यवस्थापनको तालिम भएको थियो, जुन सशस्त्र, जनपद प्रहरी र सेनाका अधिकृतहरूले लिएका थिए । उनीहरू नै पछि प्रशिक्षक बने । ‘त्यसले धेरै कुरा सिकायो,’ जनपदका प्रहरी नायब उपरीक्षक आभूषण तिमल्सिनाले भने, ‘तालिममा लिइएको ज्ञान भूकम्पपछि खुबै उपयोग भयो ।’ त्यसपछि सशस्त्रले विपद् व्यवस्थापन तालिम केन्द्र, जनपद प्रहरीले विपद् व्यवस्थापन विभाग र २०६९ सालमा नेपाली सेनाले विपद् व्यवस्थापन निर्देशनालय स्थापना गरे । उनीहरूले डेढ दर्जन देशबाट आएका सहयोगीहरूसँगै भूकम्पमा फसेकाहरूको उद्धार गरेका थिए ।

‘शव कति निकाल्यौं, हिसाब छैन,’ तिमिसिनाले भने, ‘कति ठाउँमा त शव गन्हाएर छिर्नै गाह्रो थियो । यस्तो बेला केही गर्छु भनेर छिर्ने हो नत्र सकिँदैन । परकम्प लगातार आइरहेको थियो । तर, नेपाली हौं भन्ने व्यक्ति–व्यक्तिको सोचले काम गर्यो । मैले पनि जानेको कौशल उपयोग गरें ।’ उनी प्रहरी मुख्यालयस्थित अन्वेषण तथा योजना निर्देशनालयमा थिए । तर, भूकम्पलगत्तै उनीसहितका विपद् व्यवस्थापनका तालिम लिएका/दिएकाहरू वरिष्ठ प्रहरी उपरीक्षक ठूले राईको नेतृत्वमा उद्धारमा निस्किए । विराटनगरका उनी यति व्यस्त थिए कि राजधानीकै धुम्बाराहीमा रहेको परिवारलाई त्रिपाल पुर्याउन पनि ५ दिन लागेको थियो । उनी गोंगबु, सामाखुसी, भोटाहिटी र भक्तपुरमा खटिएका थिए । गोंगबुस्थित जनसेवा गेस्टहाउसबाट कृष्णकुमारी खड्कालाई १ सय २८ घन्टापछि गरिएिको उद्धारलाई उनी ठूलो सफलता मान्छन् ।

इजरायल, फ्रान्स, नर्बे र नेपाल प्रहरीको संयुक्त टोलीले निरन्तर नौ घन्टा प्रयास गरेपछि जयनगर ६, बर्दियाकी खड्कालाई उद्धार गरिएको थियो । उनी पाँचतले गेस्टहाउस ढल्दा भुइँतलामा थिइन् । ‘त्यसमा एक दिनअघि पनि शव निकालेका थियौं । त्यसैले अब जीवित छैन भन्ने भयो । तर, होटलवाला नारायण तिम्सिना र काम गर्ने कृष्णकुमारी अझै भेटिएका छैनन् भन्ने स्थानीय प्रहरीले खबर गरेपछि त्यहाँ पुग्यौं,’ तिमल्सिनाले भने । हैटीमा ४३ दिनपछि पनि उद्धार गरिएको उनले सुनेका थिए । तर, त्यहाँजस्तै डिपार्टमेन्ट स्टोरमा फस्ने ‘भाग्यमानी’ नेपालमा हुने विश्वास उनलाई थिएन । ‘नारायणको शरीरले कृष्णकुमारीलाई छोपेको रहेछ,’ उनले भने, ‘विदेशीको सहयोगमा हेडफोन पुर्याउँदा बोल्न खोजेको स्वाँ..स्वाँ आवाज आएजस्तो लाग्यो । फेरि सुनेपछि जिउँदै छन् भन्ने भयो । मेडिकल टिमले २–३ घन्टा काम गरेपछि उनलाई उद्धार गर्यौं ।’ उनले डेढ महिनाअघि कृष्णकुमारीलाई भेटेका थिए । ‘उहाँलाई देख्दा निकै खुसी लाग्यो,’ उनले भने, ‘पुरानो पीडा सम्झाउने कुरा गरिनँ । कुशलै हुनुहुन्छ भनेर सोधें मात्रै ।’

उद्धारमा खट्नेहरूले ज्यानको बाजी लगाउनुपरेको थियो । ‘गोंगबुमै तीन शव निकालेपछि भित्र अरू पनि छ भनेर पसेका थियौं । परकम्प आयो र घर धसियो । त्यही फस्ने डर लाग्यो । थप काम गर्ने अवस्था भएन । र, बाटो खोलेर निस्कियौं,’ तिमल्सिनाले सुनाए ।

चमेलियामा २०७१ सालमा दुई इन्जिनियरको शव निकाल्ने र तराईका थुप्रै बाढी र सडक दुर्घटनामा उद्धार गरिसकेका सशस्त्रका प्रहरी निरीक्षक ध्वजविक्रम शाहीले भने, ‘उद्धारको अनुभव भएकोले मलाई गाह्रो भएन, सामान्य ड्युटीकै रूपमा लिएँ ।’ स्युचाटार, कलंकी, गोंगबुको उद्धार र बल्खु, कालीमाटी, थानकोट, बलम्बुको भग्नावशेष व्यवस्थापनमा भदौसम्म खटिएका उनले भने, ‘केही स्थानमा उस्तै घर बनिसकेका छन्, हेर्दै डर लाग्छ ।’

गोंगबुको एक होटलमा १३ गते पुगेका उनको समूहले भोलिपल्ट जोन केसीलाई उद्धार गरेको थियो । ‘दुवै खुट्टा ग्रिलमा च्यापिएका उनको उद्धार चाइनिज टोलीले असम्भव भनेको थियो । हामीले डच टोलीको सहयोगमा २४ घन्टा लगाएर उद्धार गरी अस्पताल पठायौं । तर, दुई दिनपछि उनको मृत्युको खबर सुनें । साह्रै नमज्जा लाग्यो,’ उनले भने । उनले ४ र ८ वर्षका बच्चालाई आमाले च्यापेर राखेको पनि भेटाए तर श्वासप्रश्वास बन्द भइसकेको थियो ।

नुवाकोटका १५ बर्षे ठिटो पेम्बा लामाको १ सय २० घन्टापछि गरिएको उद्धारबारे शाहीले भने, ‘त्यस होटलमा पाँचौं दिन बालिकाको शव भेटियो । त्यसपछि फर्कने निधो गरेका थियौं । तर, टोलीका गोपी भट्टले भित्रबाट मान्छेको आवाज सुनेको बताए । मैले पत्याइनँ, गाली गरें । उनले भने– बचाउनोस् भन्दैछन् सर । मैले पनि ऐया भनेको सुनें । लक्ष्मण सरको टोली पनि आइपुग्यो । सबै मिलेर उनको उद्धार गर्यौं । मेरो जीवनको सबभन्दा ठूलो उपलब्धि यही हो । त्यसरी बाँच्नु र बचाउनु आश्चर्य मान्नुपर्छ ।’

अलि ओसिलो ठाउँमा फसेका पेम्बा स्वस्थ थिए । अस्पतालमा बस्नुपरेन । ‘भोलिपल्ट नै हामीले काम गरेको ठाउँमा आइपुगेका थिए । सँगै फाटो खिच्यौं । खुसी लाग्यो । त्यसपछि भने भेटेको छैन,’ शाहीले भने । उनी विपद् व्यवस्थापन प्रशिक्षक पनि हुन् । भूकम्प जानुअघि केही अघिसम्म माओवादी (चन्द) ले आन्दोलन थालेको थियो । सशस्त्र टोली दिनदिनै कलंकी पुग्थ्यो । त्यसैले फौजी सामान सफाइ नगरेको १५ दिन भइसकेको थियो ।

‘अन्दोलन फिर्ता लिएको दुई दिनपछि असइ दिवाकर अधिकारीले सफा गरौं भने, गर्यौं । रेस्क्युका सामान बेग्लै राख्यौं, जुन अरू बेला मिलाउने गर्दैनथ्यौं । भोलिपल्टै आएको भूकम्पपछि त्यसले ठूलो काम गर्यो,’ शाहीले सम्झिए । उद्धारमा राम्रो गरेको भन्दै सशस्त्रले उनलाई ५ साताको तालिममा अमेरिका पनि पठायो ।

मूलढोका–४, भक्तपुरका ६ महिने बालक सोनिस अवाललाई धेरैले याद गरेको हुनुपर्छ, जो माटोले पुरिएको थिए र धूलाम्मे रूपमै निकालिए । विपद् व्यवस्थापन गण, सुन्दरीजलको १२–१५ जनाको टोलीले २२ घन्टापछि उनको उद्धार गरेको थियो । ढलेको चारतले घरको एकातिर दुई बच्चा बिते । अर्कोतिर पुरिएका थिए, सोनिस । ‘राति १२ बजेसम्म काम गर्दा पनि भेटिएन । परकम्पले गर्दा पूरा रात उद्धार गर्न सकिएन,’ नेपाली सेनाका सुबेदार दीपक राईले भने, ‘दुई बच्चा फसेका रहेछन् । हामी पुग्दा दिदीको उद्धार भइसकेको थियो । भाइ पुरिएकै थिए ।’ उनका अनुसार खन्दै जांँदा अल्मुनियमको कुर्सी फेला पार्यो । अनि बच्चाको औंला देखियो । ‘हल्का औंला चलेजस्तो लाग्यो,’ राईले भने, ‘कताकता मुसाको जस्तो चिं चिं आवाज १–२ घन्टामा आइरहेको थियो । तर, बच्चाकै होला भन्ने लागेको थिएन । औंला हल्का चलेको देखे । अनि बल्ल जीवितै छन् भन्ने लाग्यो । कुर्सीको खुट्टामा कोल्टे परेर हातलाई सिरानी लाएर सुतेजस्तो अवस्थामा रहेछन् ।’ उनको टोलीलाई औंला देखेपछि अनिसलाई निकाल्न डेढ घन्टा लाग्यो ।

‘जसरी हुन्छ, जीवितै उद्धार गर्न सके हुन्थ्योजस्तो लागेको थियो । आफ्नै हातले निकाल्दा एकदम खुसी महसुस गरें,’ २८ वर्षीय उनले भने । माओवादीबाट सेना समायोजन मार्फत तीन वर्षअघि नेपाली सेनामा पुगेका राई भक्तपुरका थुप्रै स्थान र साँखुमा पनि उद्धार र भग्नावशेष व्यवस्थापनमा खटिए ।

१२ वैशाखको भूकम्पमा नेपाली सेनाका प्रमुख सेनानी जगदीश खड्का शान्ति सेना मार्फत हैटीमा कार्यरत थिए । उनी एक महिना बिदा लिएर ५ दिनभित्रै स्वदेश फर्किए । ‘मैले सिकेको काम विपद् व्यवस्थापन नै हो । त्यसैले देशलाई सेवा गर्ने मौका चुकाउन चाहिनँ र फर्किहालें,’ दोलखा, भक्तपुर, काठमाडौं र ललितपुरका उद्धारमा २५ दिन बिताएका उनले भने । हाल विपद् व्यवस्थापन गण, सुन्दरीजलका प्रमुख रहेका खड्कासहित सेनाका २४ जना अधिकृत्ले सन् २००२ मा विपद् व्यवस्थापनबारे तालिम लिएका थिए । विपद् व्यवस्थापनमा सेनाको पहिलो ब्याच त्यही हो । पछि उनीहरूले देश–विदेशमा थुप्रै प्रशिक्षण दिएका छन् । भूकम्प गएपछि त्यसले खुबै काम गर्यो ।


सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका दुई लाखभन्दा बढीमध्ये भूकम्प प्रभावित क्षेत्रमा रहेकाहरू निरन्तर उद्धारमा खटिएका थिए । एक दशकअघि राजधानीमा विपद् व्यवस्थापनको तालिम भएको थियो, जुन सशस्त्र, जनपद प्रहरी र सेनाका अधिकृतहरूले लिएका थिए ।


उद्धारका हिरो - Reviewed by marumala srinu on 7:27 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.