कोरिया जान भाषा सिकेर मात्रै नहुने, सीपको पनि परीक्षण हुने
७ वैशाख, काठमाडौं । कामका लागि दक्षिण कोरिया जाने सपना बुन्दै हुनुहुन्छ ? त्यो हो भने अब भाषासँगै सीप पनि सिक्न थाल्नुभए हुन्छ । कोरियाले सन् २०१९ देखि भाषाको मात्रै होइन, सीपको पनि परीक्षण गरेर मात्रै नेपाली कामदार लैजाने भएको छ ।
रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि लैजाने क्रम २०१८ सम्म मात्रै चल्ने भएको छ । त्यसपछि सीप हातमा नभएका युवालाई कोरियाले असफल ठहर्याउनेछ ।
आज कोरियाको मानव संशाधन विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । विभागअन्तर्गत इपीएस सेन्टर नेपालका महानिर्देशक किम कि वुकले सन् २०१९ देखि कामदार छनोट प्रणालीमा अंक प्रणाली लगाउने जानकारी दिए ।
कोरियाले नयाँ अंक प्रणालीमा अब उत्पादनमूलक क्षेत्रमा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्नेछ । कृषि, मत्स्यपालन, निर्माण लगायतको भाषा परीक्षामा ९० र सीप परीक्षणमा ११० पूर्णांक हुनेछ ।
नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि विशेष रुपमा परीक्षण गर्नेछ । यस्तै कामदारको सीपको लेभल र कार्य अनुभवलाई पनि प्राथमिकता दिएर अंक दिइनेछ ।
नयाँ परीक्षा प्रणाली नवौं भाषा परीक्षाबाट लागु गर्ने कोरियाको तयारी छ । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।

No comments: