फुलेन लालीगुराँस
अघिल्ला वर्ष यो याममा वनभरि ढकमक्क लालीगुराँस फुलेका हुन्थे । तर, यो वर्ष लामो खडेरी र जलवायु परिवर्तनले गुराँस फुलेनन् वैशाख १३, २०७३- बझाङ– फागुन र चैत महिना गुराँस फुल्ने मौसम हो । माघको अन्तबाट फुल्न सुरु भएर फागुन महिनाभरि जंगल रातै भइसक्थ्यो । तर, अचम्म चैत लागिसक्दा पनि यसवर्ष विगतझै गुराँस फुलेन । सधैंभरि यो मौसममा ढकमक्क लालीगुराँस फलेको र वन रातै भएको देखेका कैलास ८ भण्डारका उमेश विष्टले अचम्म मान्दै भने, ‘यत्रो उमेर भयो । कहिल्यै यस्तो भएको देखिन। यो वर्ष अचम्मै भयो ।’ झन्डै ६५ हेक्टर क्षेत्रफलमा फैलिएको उनको गाउँ नजिकैको भण्डारी पातल वन पोहोर परार यो मौसममा गुराँस फुलेर रातै भएको हुन्थ्यो । लालीगुराँस फुलेको हेर्ने र फोटो खिच्नका लागि सदरमुकाम चैनपुरलगायत विभिन्न गाविसबाट स्थानीयवास ियहाँ घुम्न आउने गरेको उनले बताए। ‘कुनैकुनै बोटमा लालीगुराँस फुलेको छ । तर पहिलाजस्तो भर्भराउँदो छैन,’ मेलविसौनाका जनक शार्कीले भने, ‘पहिलेका वर्षहरूमा जस्तो फक्रेको छैन । चिम्सो र सुक्न लागेको जस्तो गरी फुलेको छ।’ गाउँ नजिकैको बबइपातल सामुदायिक वनमा प्रत्येक वर्ष ढकमक्क फुल्ने लालीगुराँस नफुल्दा अचम्मित भएका उनले यसको कारण अनुमान गर्दै भने, ‘यो वर्ष भदौ देखि पानी नै परेको छैन । सुक्खा बढी भएर गुराँस नफुलेको होला ।’ जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठ खडेरीका कारणले मात्र गुराँस नफुलेको भन्ने कुरामा पूर्ण रूपमा सहमत हुन नसकिने बताउँछन् । ‘खडेरीले पनि केही न केही असर त पारेको होला । तर यो मात्र कारण हुन सक्दैन,’ उनले भने, ‘विश्वव्यापी तापमान वृद्धिका कारण धेरैजसो बिरुवालाई पहिलाको स्थानीयता (लोकालिटी) प्रतिकूल बन्दै गएकाले ‘ट्रि लाइन’ माथिमाथि सर्दै गएको छ । यो पनि मुख्य कारण हुन सक्छ ।’ वन अधिकृत श्रेष्ठका अनुसार तापक्रम वृद्धि हँुदै जाँदा जीवजन्तु तथा बिरुवाहरूले रैथाने बासस्थान परिवर्तन गर्ने र आफूअनुकूलको स्थानमा मात्र आफ्ना गतिविधि गर्न सक्छन् । तुलनात्मक रूपमा बेंसी क्षेत्रभन्दा लेकाली भेगमा लालीगुराँस बढी फुलेको पाइएकाले जलवायु परिर्वतनको असर यसमा परेको हुन सक्ने उनको अनुमान छ । गत वर्षजस्तै गुराँस नफुल्नुमा के कारण मुख्य हो भनेर पत्ता लगाउन अध्ययन नगरिकनै यसै भन्न नसकिने श्रेष्ठले बताए । बझाङको १ हजार ३ सय मिटरदेखि ५ हजार मिटर उचाइका ठाउँमा विभिन्न १५ भन्दा बढी प्रजातिका लालीगुराँस पाइने गरेका छन् । माघ अन्तिमदेखि चैत्रसम्म लाली गुराँस फुलेर यहाँका प्राय: जसो जंगल ढकमक्क हुने गर्छन् । लालीगुराँसलाई स्थानीय भाषामा गुराँउसीफूल, चिमालो, गुराँसलगायत नामले चिन्ने गरिन्छ ।
फुलेन लालीगुराँस
Reviewed by marumala srinu
on
8:32 AM
Rating:

No comments: