Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

ई–रिक्साले धरानमा विद्युत भारलाई असन्तुलित बनायो

वैशाख १३, २०७३- नाकाबन्दीको बेला इन्धनको विकल्पमा वातावरणमैत्री स्थानिय सवारी साधनको रुपमा भित्रिन थालेको इ–रिक्साको संख्या अत्याधिक रुपमा बढेकाले विद्युत वितरणमा असन्तुलन पैदा हुन थालेको छ । 

विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार अत्याधिक रुपमा भित्रिएको ई–रिक्साहरुले साँझको पिक अवरमा एकैसाथ ब्याट्री चार्जमा लगाउँदा क्षमता भन्दा भार अधिक भएर ट्रान्सफरमर पड्कने समस्या समेत उत्पन्न हुन थालेको छ । केन्द्र प्रमुख इञ्जिीनियर खिलानाथ अर्यालले भने, ‘दिनभरी चलाउन धरानमा भएका सबै सिटी सफारी रातभरी चार्जमा लगाउने हुँदा ट्रान्सफरमरहरुले भार थेग्न नसक्ने अवस्था आएको छ ।’

ट्रान्सफरमरहरुमा भार बढ्दा फ्युज जाने प्रणाली राखिए पनि अति धेरै भारबढ्दा धरान–१६ को एउटा ट्रान्सफरमर पड्कीएको घट्ना समेत भएको उनले बताए । लोडसेडिङ बाहेकको समयमा दिनहुँ पटकपटक अधिक भारका कारण ट्रान्सफरमरको फ्युज जाने गरेकाले सर्वसाधारण ग्राहकहरुले अहिलेको गर्मीको मौसममा असुविधा भोग्नुपर्ने अवस्था आएको छ । रातको समयमा फ्युज जाँदा प्राधिकरणका प्राविधिकले मर्मत गर्दागर्दै लोडसेडिङको समय सकिए पनि घन्टौं बिजुली नआएको गुनासो कार्यालयमा आउने गरेको छ ।
    
धरान वितरण केन्द्र अन्तरगत बराहक्षेत्र गाविसमा २६ हजार विद्युत ग्राहक छन् । विद्युत वितरणको भार सन्तुलन गर्न ५० देखी ५०० केभीएका नीजि सहित १ सय ६७ वटा ट्रान्सफरमर छन् । ‘यो संख्या धरान उपमहानगरको लागि पर्याप्त होइन्,’ सामान्य भार थेग्न पनि १०० देखी २०० केभीए क्षमताको १५ वटा ट्रान्सफरमर धरानका विभिन्न ठाउँमा जडान गर्न आवश्यक भएको बताउँदै उनले भने, ‘क्षेत्रिय कार्यालयमा पटक पटक ट्रान्सफरमर माग गर्दै आएपनि पाउन सकिएको छैन् ।’

१५ एम्पिएरभन्दा माथीको मिटरमा मात्र इ–रिक्साको ब्याट्री चार्ज गर्न सकिने भएकोले हाल त्यस मुनीका एम्पिएरका ग्राहकहरु एम्पाएर बढाउन निवेदन लिएर आउन थालेका छन् । तर भार थेग्ने ट्रान्सफरमर जडान नभएसम्म गार्हस्थ विद्युत ग्राहक कसैको पनि एम्पियर बढाउन सकिएको छैन । उनका अनुसार १५ देखी २०० एम्पिएरका ग्राहकहरुको भार एउटै ट्रान्सफरमा पर्ने गरेको छ ।

धरान उपमहानगरपालिका अनुसार कार्यालयमा दर्ताका लागि निवेदन परेका ई–रिक्साको संख्या ५ सय ५० छन् । त्यसबाहेक आफु खुसी ल्याएर चलाएकाको संख्या समेत ७ सय नाघ्न लागेको अनुमान छ । यहाँ सञ्चालनमा रहेका ई–रिक्साहरु सबै दर्ता भैसकेका छैनन् र नम्बर प्लेट बिना चलेकाहरुको संख्या एकिन छैन । एउटा सामान्य ई–रिक्समा १२ भोल्टको ४ वटा १०० एम्पियर क्षमताको ब्याट्री जडान गरिएको हुन्छ । पछिल्लोपटक भित्रिएको जापानी प्रविधिको ई–रिक्सामा ५ वटा १४० एम्पिएर क्षमताको ब्याट्री हुन्छ । उक्त ब्याट्री पुरा चार्ज हुनका लागि निरन्तर ८ घन्टा विद्युत चार्जमा राख्न आवश्यक हुन्छ ।
 
विद्युत भारमा असन्तुलन पैदा गर्ने अर्को समस्या विद्युत चारी र हुकिङबाट सिधै विद्युत उपभोग गर्ने प्रवृत्ती पनि भएको वितरण केन्द्र प्रमुख अर्यालले बताए । पोहोर धरान बजारमै हुकिङबाट चार परिवारका सबै विद्युतिय घरायसी उपकरण चलाउँदै आएको प्राधिकरणको टोलीले फेला पारेको थियो । यसपाली पनि गत शनिबार धरान–२७ पटनालीमा हुकिङबाटै २ हर्स पावरको मोटरमा काठ काट्ने उपकराण जडान गरी फर्निचर उद्योग नै सञ्चालन गर्दै आएको अर्यालको टोलीले फेला पारेर उपकरण नियन्त्रणमा लिएको थियो ।

पटनालीसहित बराहक्षेत्र गाविसको बगुवा र खारखोला क्षेत्रमा ९ घरधुरीले हुकिङबाट चोरीएको विद्युतबाट उपयोग गर्दै आएका ५ वटा टेलिभीजन सेट, २ वटा पंखा, एउटा पानी उमाल्ने किट्ली र ४० वटा बल्ब नियन्त्रणमा लिएको थियो । कतिपय ठाउँमा चोरी पक्राउ गर्न लाग्दा स्थानियवासीले अवरोध गर्ने अवस्थामा पनि आएकोले यसपालि प्रहरीसहितको प्राविधिक टोली अनुगमनमा गएको थियो । 
    
केन्द्र प्रमुख अर्यालले भने, ‘विद्युत भारलाई सन्तुलनमा ल्याउन प्राविधिक रुपमा गैरकानुनी कामको पनि छानबिन थालेका छौं ।’ उनका अनुसार ग्राहकले बढी विद्युत उपभोग गर्न मिटरमै प्राविधिक गडबढी गरेर प्राधिकरणबाट लिएको एम्पिएर मिटर भन्दा धेरै विद्युत खपत गरेको जाँच गर्न रिसिलिङको काम पनि दैनिक थालिएको छ । यो प्रकृयामा प्राधिकरणको टोलीले मिटरको सिल तोडेर मिटरमा गडबडी गरिएको छ, छैन भनि जाँच गरी पूनः सिल लगाउने गरिन्छ । यो सँगै बाँकी बक्यौता नतिर्ने ग्राहकको बिना पूर्व सूचना लाईन काट्न थालिएको छ । यसरी लाईन काट्ने काम दैनिक १५ देखी २० पुग्ने गरेको अर्यायले बताए ।

ई–रिक्साले धरानमा विद्युत भारलाई असन्तुलित बनायो Reviewed by marumala srinu on 10:47 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.