आधार ब्याजदरभन्दा कममा ऋण ।
वैशाख ५, २०७३- अहिले केही बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर (बेस रेट) भन्दा कममा कर्जा प्रवाह गरिरहेका छन् । मुलुकमा लगानी गर्ने पर्याप्त साधन नभएको र वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएकाले यस्तो अवस्था आएको हो ।
बैक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर निर्धारण गर्दा आधारका रूपमा लिने निर्धारक तत्त्व समावेश गरिएको दर नै आधार ब्याजदर हो । यसलाई लागत दरका रूपमा पनि बुझ्न सकिन्छ ।
सामान्यतया यो दर भन्दा कममा ऋण प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थालाई नोक्सान हुन्छ । गत वैशाखको भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले मुलुकमा असहज परिस्थिति सिर्जना भएपछि अपेक्षित रूपमा कर्जा प्रवाह विस्तार हुन सकेको छैन ।
उक्त कारण केही बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदरभन्दा कममा पनि कर्जा प्रवाह गरिरहेको बैंकरहरूले बताएका छन् । ‘आधार ब्याजदरभन्दा कममा लगानी गरेर बैंकहरू कति दिन टिक्लान् ?’ स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले भने ।
विगत लामो समयदेखि वित्तीय प्रणाली नकारात्मक ब्याजदर (बैंक तथा वित्तीय संस्थाले दिने ब्याजदरभन्दा मूल्य वृद्धिदर बढी भएको अवस्था) रहेकाले दीर्घकालमा यसको प्रभाव नराम्रो हुने उनको अनुमान थियो ।
‘अझै केही समय यस्तै अवस्था रहिरहे उल्लेख्य लगानी अनुत्पादक क्षेत्रमा जाने छ,’ उनले कान्तिपुरसित भने । बैंकमा ब्याजदर कम भएसँगै मानिसहरू वित्तीय संस्थामा रकम जम्मा गर्न निरुत्साहित भएको उनले बताए ।
वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि त्यो व्यवस्थपनका लागि केही बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदरभन्दा पनि कममा लगानी गर्न बाध्य भएको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्याल पनि स्विकार्छन् । ‘यो समस्या समाधानका लागि राज्यले लगानीका विभिन्न औजारहरू ल्याउनुपर्छ,’
उनले भने ।
मुलुकको असहज परिस्थितिले लगानी वातावरण बिग्रिएपछि लामो समय वित्तीय संस्थामा कर्जा माग घट्यो । तर, उक्त अवधिमा पनि बैंकहरूले निक्षेपको लागत बेहोर्नुपर्यो ।
यसरी लामो समयसम्म आम्दानी बिनाको निक्षेप राखिरहनुको साटो कम ब्याजदरमा भए पनि लगानी गर्न थालेको पौड्यालले बताए । तर, केही महिनायता कर्जा प्रवाहमा सुधार देखिएकाले ब्याजदरमा पनि वृद्धिको संकेत देखिएको उनको अनुमान छ ।
करिब एक वर्षयता कर्जा वृद्धिदर करिब शून्य भएकाले बैंक तथा वित्तीय संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनमा समस्या भएको सिल्भानुसले बताए । वित्तीय प्रणालीमा थुप्रिएको अधिक तरलताले कर्जा र निक्षेपको ब्याजदर ऐतिहासिक रूपमै तल झरेकाले बैंक तथा वित्तीय संस्था लागतभन्दा कममा लगानी गर्न बाध्य भएको उनले गुनासो गरे ।
‘अहिले बैंक तथा वित्तीय संस्थाको सम्पत्ति र दायित्वबीच तालमेल मिलेको छैन,’ उनले भने, ‘यसले दीर्घकालमा समग्र वित्तीय प्रणालीमै समस्या ल्याउँछ ।’ सम्पत्ति तथा दायित्वको उत्कृष्ट व्यवस्थापन नहुँदा वित्तीय प्रणालीमा अनेक समस्या आउने र अहिले त्यसको संकेत देखिन थालेको उनले बताए । ‘यस्तो अवस्थामा वित्तीय प्रणालीलाई चुस्त र दुरुस्त बनाउन राज्य स्तरबाटै विशेष पहल गर्नुपर्छ,’ उनले भने ।
अहिले कोषको लागत कम गर्नकै लागि केही बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदरभन्दा कममा कर्जा प्रवाह गरिरहेको उनले बताए । यस्तै महँगो मूल्य तिरेर संकलन गरेको निक्षेप त्यत्तिकै थन्काएर राख्दा फाइदा नहुने भएकाले कम ब्याजदरमा भए पनि लगानी गर्न थालेका चाटर्ड एकाउन्टेन्ट एवं पूर्वबैंकर अनलराज भट्टराईले बताए ।
‘लगानीयोग्य रकम बैंकमा त्यत्तिकै थुप्रिँदा आम्दानी शून्य हुन्छ,’ उनले भने, ‘उक्त कारण केही बैंक तथा वित्तीय संस्थाले आधार दरभन्दा कममा कर्जा प्रवाह गरेका हुन् ।’
यस कथामा थप
Reviewed by marumala srinu
on
12:34 AM
Rating:

No comments: