Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

विदेशबाट फर्कनेको पनि रेकर्ड राखिने, एयरपोर्टमै सरकारले लिनेछ ‘मिनी अन्तरवार्ता

१४ वैशाख, काठमाडौं । रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । तर, विदेशबाट फर्किनेहरुको बारेमा सरकारी निकायहरु कुनै खोजखबर गर्दैनन् ।

विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने प्रश्नमा निरुत्तर हुने गरेका सरकारी अधिकारीहरुले अब यसको जवाफ खोज्ने भएका छन् ।

श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ । ‘अहिलेसम्म कामका लागि ४० लाखभन्दा बढी युवा विदेशिएको तथ्याङ्क छ,’ मन्त्रालयका एक अधिकारीले भने-‘तर, उनीहरुमध्ये कति युवा स्वदेश फर्किए भन्ने प्रश्नमा हामी नाजवाफ छौं । त्यसैले अब विदेशबाट फर्किएकाहरुको पनि तथ्याङ्क राख्ने निश्कर्षमा पुगेका हौं ।’

मन्त्रालयका अनुसार केही महिनाभित्रै यो काम सुरु गरिनेछ । विदेशबाट फर्किएकालाई एयरपोर्टमै सोधिनेछ-‘के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? कुन कम्पनीमा काम गर्नुभयो ? फर्केर के गर्नुहुन्छ ? इत्यादि ।’

देशमा रोजगारीको पर्याप्त अवसर र उचित वातावरण नभएपछि युवा शक्तिको विदेश पलायन जारी छ । विदेशमा काम गर्न जान चाहने युवाले सरकारसँग श्रम स्वीकृति लिनुपर्छ । सरकारले तोकेको कर तिरेपछि पनि अनेक हण्डर खानुपर्छ ।

श्रम अनुमतिका लागि युवाले तिर्ने राजश्व सरकारको आम्दानीको गतिलो श्रोत पनि हो । त्यही युवा विदेशबाट अनेक दुःखकष्ट सहेर फकिँदा राज्य र सरकारी निकायले कुनै चासो राख्दैनन् । उल्टै मलेसिया सहितका खाडी मुलुकबाट फर्किएका युवालाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार भएको गुनासो सुनिन्छ ।

किन चाहियो तथ्याङ्क ? 

वैदेशिक रोजगार विभागका एक अधिकारीले भने-‘फर्किएका कामदारबाट पैसा नआउने भएकैले तथ्यांक नराखिएको हो भन्ने आरोप चिर्नलाई पनि यो कदम चाल्न लागिएको हो ।’

श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेल विदेशबाट फर्किएका जनशक्तिको महत्वलाई बुझेर नै तथ्याङ्क लिने तयारी गरिएको बताउँछन् । उनले विदेशबाट फर्किएका युवालाई ‘सोसियल रेमिट्यान्स’ को संज्ञा दिँदै उनीहरुलाई फेरि स्वदेशमा स्वरोजगार गराउन तथ्याङ्क काम लाग्ने बताए ।

‘एउटा कामदारले विदेश गएर कमाएर पठाउने रेमिट्यान्सको महत्व छँदैछ’ भुर्तेलले भने-‘तर, उनीहरुले विदेशमा संगालेका सीप र अनुभव त्योभन्दा निकै अमूल्य हुन्छ । त्यसको सदुपयोग गर्ने वातावरण तयार गर्न फर्किएका युवाबारे राज्यलाई जानकारी हुनुपर्छ ।’ उनले राज्यले रोजगारी सम्बन्धी नीति बनाउँदा र कार्यक्रमहरु तय गर्दा पनि यस्ता तथ्याङ्कले निकै महत्व राख्ने बताए ।

दुई विकल्पको प्रस्ताव 

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन विन्दुबाटै विदेशमा काम गरेर फर्किनेहरुको तथ्याङ्क लिने योजना बनाएको छ ।

त्यसका लागि मन्त्रालयले विमानस्थलमा आफ्नै डेस्क स्थापनाका लागि पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग खाली ठाउँ मागेको छ । ‘पत्र पठाएर पर्यटन मन्त्रालयलाई अनुरोध गरेका छौं,’ प्रवक्ता भुर्तेलले भने-‘विदेशबाट फर्किएकालाई सकेसम्म आफ्नै डेस्कमा इन्ट्री गराउने योजना छ ।’

मन्त्रालयले अर्को वैकल्पिक प्रस्ताव पनि तयार गरेको छ । अध्यागमन विभागको ‘एराइभल डेक्क’ प्रयोग गरेर सहज रुपमा तथ्याङ्क लिन सक्ने उसको अपेक्षा छ । ‘अध्यागमनले पासपोर्टमा एराइभल छाप लगाउनका लागि भर्नुपर्ने फारममा केही विवरण थप गरेर पनि यो तथ्याङ्क व्यवस्थित गर्न सकिन्छ’ भुर्तेलले भने-‘यसका लागि अध्यागमनको सफ्टवेयरमा केही परिवर्तन गर्नुपर्ने हुन्छ ।’

यसका लागि गृह मन्त्रालय र अध्यागमन विभागका अधिकारीहरुसँग छलफल थालिसकेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

यसमा विद्यार्थी, पर्यटक, कूटनीतिक तथा व्यापारिक भिसामा गएर फर्किने नेपालीको तथ्याङ्क भने राखिने छैन । विमानस्थलमा संकलित विवरण प्रत्येक महिना सार्वजनिक गर्ने मन्त्रालयको योजना छ ।


विदेशबाट फर्कनेको पनि रेकर्ड राखिने, एयरपोर्टमै सरकारले लिनेछ ‘मिनी अन्तरवार्ता Reviewed by marumala srinu on 9:49 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.