लोकमान भन्छन्- म कसैसँग डराउँदिन, गलत गर्ने कसैलाई नछाड्ने चेतावनी
काठमाडौं, ८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफू कसैसँग नडराउने बताएका छन् ।
आफूलाई सम्बोधन गरी एक जना लेखक डा कमल लामिछानेले लेखमार्फत नेताको सम्पत्ति छानविन गर्दा महाअभियोग लगाउने धम्की दिएपछि पछि हट्नुभएको हो की भन्ने प्रश्नमा जवाफ दिँदै लोकमानले ‘मेरो जीवनको शव्दकोषमा भय, संझौता र विचलन भन्ने शब्द नै छैन’ भनेका छन् ।
उनले गलत कामबाट पैसा कमाउने, सम्पत्ति आर्जन गर्ने कसैलाई पनि नछाड्ने चेतावनी पनि दिएका छन् । ‘आयोग प्रमुखका नाताले आयोगप्रतिको प्रत्येक नागरिक अपेक्षालाई सम्बोधन गर्ने दायित्यबाट म कदाचित बिमुख हुने छैन, गलत गर्ने कसैलाई पनि छाडिनेछैन्,’ उनले भनेका छन् ।
यस्तो छ डा.लामिछानेको पत्र माथि लोकमानको प्रत्युत्तरपत्र:
—————————————–
मङ्गलबार प्रकाशित कान्तिपुर दैनिकको बिचार पृष्ठमा डा.कमल लामिछानेद्वारा मलाई सम्बोधन गरि लेखिएको पत्र ग्रहणयोग्य र मननीय छ। एक अर्थमा सो पत्र मुलुकमा विद्यमान तमाम बेथितिबाट आहत, पीडित र कुण्ठित नेपालीजनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति राखेको प्रतिनिधी अपेक्षा हो। तसर्थ आयोग प्रमुखका नाताले आयोगप्रतिको प्रत्येक नागरिक अपेक्षालाई सम्बोधन गर्ने दायित्यबाट म कदाचित बिमुख हुने छैन भन्ने प्रतिबद्दता पुन: एकपटक दोहोर्याउन चाहन्छु।
पत्र मार्फत डा. लामीछानेले आयोग र मेरा प्रति गर्नुभएको पृष्टपोषण प्रशंशायोग्य छन्, सुझाबहरु मननीय छन् र उठान गर्नुभएका मुद्दा सम्बोधन लायक छन्। यसनिम्ति लेखक धन्यबादका पात्र हुनुहुन्छ।
हो, डा. लामिछानेले औंल्याउनु भएझैं मुलुकमा सुशासनको अवस्था दुरुह बनेको अभिमत प्रति मेरो पनि सहमति छ। मुलुकमा भ्रष्टाचार, गुण्डागर्दी, माफियातन्त्र, कार्टेलिङ्ग र एकाधिकारवादी प्रवृत्ति हावी भएको तथ्य मैले बारम्बार बिभिन्न संञ्चारमाध्यम मार्फत आफ्ना अभिधारणाहरु सार्वजनिक गर्ने क्रममा उठाउंदै आएका विषय हुन्। त्यसैले लेखकका विचारलाई मैले आफ्ना भावना र धारणा निकट पाएको छु।
मुलुकमा बिद्यमान असंगतिहरु बिरुद्द ऐक्यबद्दता प्रकट गरिरहँदा मैले डा. लामीछाने र आम पाठकहरुलाई आयोगको क्षेत्राधिकारका विषयमा समेतआत्मबोध गरिदिनुहुन निबेदन गर्नैपर्ने हुन्छ। मुलुकमा हुने अनियमितताका आम क्षेत्रहरुमध्ये आयोगको क्षेत्राधिकार भित्र करिब ४० प्रतिशत क्षेत्र मात्र कानुनत: समेटिएको तथ्य सम्भवत: सबैको जानकारिमा नहुनसक्छ। मुलुकको निजीक्षेत्र, मन्त्रिपरिषदका निर्णयहरु, नेपाली सेना, न्यायिक अदालत र संबैधानिक अङ्गहरु लगायतका विविध क्षेत्र आयोगको कार्वाहीधिकार भन्दा बाहिर छन्। त्यसमाथि सुशासन प्रत्याभूतिको प्रधान दायित्व नेपाल सरकारको हो भन्ने सत्यतालाई समेत हामीले बिर्सनु हुदैन। कतिपय विषयमा स्वयं नेपाल सरकार र राज्यसम्बद्द अङ्ग वा निकाय स्वयंले कार्वाहिधिकार राख्ने कुराको हेक्का राख्नु पनि उत्तिकै जरुरी छ। त्यसैले डा. लामीछानेले पत्र मार्फत उठान गर्नुभएकाकतिपय मुद्दालाई यसै आलोकमा हेर्नु पर्छ भन्ने मलाई लाग्दछ ।
जहाँसम्म अकुत सम्पति छानविनका क्रममा केहि राजनीतिकर्मी तानिए पछि उत्पन्न प्रतिकृया मेरा विरुद्द महाभियोग लगाउने तह सम्म प्रकट भएको र यस्ता प्रतिकृयाबाट अख्तियार नेतृत्वका रुपमा मेरो भूमिका प्रभावित हुने हो की भन्ने लेखकले अभिव्यक्त गर्नु भएको चिन्तायुक्त प्रश्न छ- एक वाक्यांशमा भन्नु पर्दा मेरो जीवनको शव्दकोषमा भय, संझौता र विचलन भन्ने शव्द नै छैन । नेपाली जनताको आशिर्वाद र परमात्माको कृपाले मेरा लागि राज्यद्वारा उपलव्ध दायित्व र जिम्मेवारी पर्याप्त छ । मेरो व्यक्तिगत तथा पारिवारीक पृष्ठभूमिका आधारमा समेत जीवनको यो उत्तरार्धमा आएर मैले कुनै स्वार्थप्रेरित काम वा अवान्छित संझौता गर्नु पर्ने चाहना या वाध्यता मँ मा दुवै छैन । सोझो अर्थमा म आफु आश र त्रासबाट पुर्णत: मुक्त छु । मुलुक र जनताको सेवा सिवाय मेरो कुनै अलग्गै स्वार्थ छैन । म आफुलाई प्राप्त पदिय दायित्वमा कति लामो समय सम्म रहने वा टिक्ने भन्दा पनि मेरा लागि मेरो कार्यकालको प्रत्येक पल कति गुणस्तरिय हुन्छ भन्ने कुराले अर्थ राख्दछ । त्यसैले महाभियोग लाग्ने, लगाईने वा अन्य कुनै प्रकृतिको भयले मेरो संवैधानिक भूमिका किन्चित प्रभावित नहुने विश्वास दिलाउन चाहन्छु ।
आश र त्रासबाट मुक्त प्रत्येक व्यक्ति सर्वथा आग्रह र पुर्वाग्रहबाट समेत मुक्त रहन्छ । मैले आफ्ना हरेक निर्णय अघि परमात्माको तराजुमा द्वेष वा प्रतिद्वेषको भावना सम्मको पनि न्यायिक लेखाजोखा हुन्छ भन्ने कुराको हेक्का राख्ने गरेको छु । आजन्म पदमा रहने भ्रम कम्तिमा मैले पालेको छैन । यसर्थ अख्तियार नेतृत्वका हैसियतलेमेरा जुन कुनै पनि निर्णय आग्रह वा प्रतिशोधको छुद्र दायराबाट मुक्त छन् र माथि छन् ।
रह्यो डा.लामिछानेले पत्रमा सम्मुलेखन गर्नुभएको शैक्षिक अराजकता र माफियागिरीको सन्दर्भ- यस प्रशंगमा कतिपय विषयवस्तुलाई आयोगले कारवाहीको दायरामा ल्याईसकेको छ र कतिपय छानविनको क्रममा रहेको तथ्य स्पष्ट पार्न चाहन्छु ।
आयोग डा.लामिछानेको जस्तै रचनात्मक सुझाव, पृष्ठपोषण र तथ्यपरक सूचनाको सर्वथा स्वागत गर्दछ र आम सचेत नागरिकबाट सहकार्यको अपेक्षा गर्दछ । आयोग नेपाली जनताकै अधिनस्थ छ । त्यसै प्रत्येक नेपालीजनमा आयोगलाई सही पथ प्रदर्शन गर्ने अधिकार निहित
छ ।
लोकमान भन्छन्- म कसैसँग डराउँदिन, गलत गर्ने कसैलाई नछाड्ने चेतावनी
Reviewed by marumala srinu
on
6:16 AM
Rating:

No comments: