Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

‘शिक्षकको पिटाइले गुम्यो आँखा'

काठमाडौं: बालबालिकामाथि विद्यालयमा हुने भौतिक या शारीरिक यातनालाई कानुनले विरोध गरे पनि सुर्खेतको एउटा बोर्डिङ स्कुलमा शिक्षकको पिटाइबाट एक सात वर्षीया बालिकाको आँखाको ज्योति गुमेको दाबी उनका अभिभावकले गरेका छन् ।

सुर्खेत भेरीगंगा नगरपालिका–३ मेहलकुनाकी एलिसा बुढामगर एउटा आँखाको ज्योति गुमेको अवस्थामा यतिबेला महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकको निगरानीमा छिन् ।
 
उनका बुबा चन्द्रबहादुर बुढामगर र आमा भूमिसराले गत फागुन १६ गते देउती इङ्लिस बोर्डिङ स्कुलकी शिक्षक जानकी रानामगरले कुटेपछि छोरीको आँखाको ज्योति गुमेको अन्नपूर्णसँग बताए । शिक्षक जानकीले पछाडि फर्केको निहुँमा कुटेको एलिसाले बताइन् । एलिसाको आँखाको दायाँ आँखाको ज्योति सदाका लागि गुमेको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका छन् ।
 
‘पछाडि फर्केको थिएँ, म्यामले लठ्ठीले हान्न खोज्दा आँखामा चोट लागेको हो,' एलिसले यही वाक्य अन्नपूर्णसँग पटकपटक दाहोर्याइन् । ‘स्कुल पढ्न पठाएकी यति राम्री हाम्री छोरीको जीवन बरबाद पारिदिइन् ती शिक्षकले,' चन्द्रबहादुरले भने, ‘अब उसको भविष्य के होला ?'
 
एलिसाका अनुसार शिक्षक जानकीले घरमा उक्त घटनाबारे बताएमा फेरि थप सजाय हुने धम्कीसमेत दिएकी थिइन् । तर स्कुलका प्रधानाध्यापक किशोर शर्माले शिक्षक जानकीविरुद्ध अभिभावकले असत्य आरोप लगाएको बताए । चन्द्रबहादुरका अनुसार घरमा एलिसाले कुरा लुकाउने प्रयास गरे पनि आँखामा लागेको चोट लुक्न सकेन । 
 
धेरै केरकारपछि एलिसाले म्याम जानकीले कुटेको र घरमा नभन्नु भनेको कुरा खोलिन् । तत्काल विद्यालय जानुभन्दा छोरीको उपचार ‘प्राथमिकता' भएकाले मगर दम्पती नेपालगन्ज आए । नेपालगन्ज फुलटेक्रा आँखा अस्पतालमा ‘एनेस्थेसिस्ट' नहुँदा उनलाई अन्यत्रै लैजान सुझाइयो । अन्ततः उनलाई काठमाडौं ल्याइयो ।
 
चिकित्सकले शल्यक्रिया गर्दा पनि चोटका कारण गुमेको आँखाको ज्योति फिर्ता गर्न सकेनन् । निम्न आय भएका परिवारले एलिसाको उपचारमा एक लाख रुपैयाँभन्दा बढी खर्चेको बताए ।

‘एलिसालाई अस्पताल ल्याइपुर्याउँदा आँखामा चोटका कारण भएको संक्रमण, पिप जम्मा भएको र दृष्टि न्यून अवस्थामा पुगिसकेको थियो', उपचारमा संलग्न चिकित्सक सञ्जिता सिटौलाले भनिन्, ‘त्यस्तो अवस्थाको आँखालाई जस्ताको त्यस्तै राख्न सकिन्छ तर गुमेको ज्योति फर्काउन सकिँदैन ।'
 
डा. सिटौलाले चोटका कारण एलिसाको आँखाको ज्योति गुमेको भए पनि त्यो चोट कसरी लाग्यो भन्ने आधार आफूसँग नभएको बताइन् ।
 
चन्द्रबहादुरले शिक्षक जानकीका कारण छोरीको आँखाको ज्योति गुमेकाले उनलाई कानुनी कारबाही हुनुपर्ने, विद्यालयबाट क्षतिपूर्ति दिलाउनुपर्ने र उक्त विद्यालयले जीवनभर एलिसालाई निःशुल्क पढाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका छन् । घटनाबारे शिक्षक जानकीसँग पटकपटक कुरा गर्ने प्रयास गर्दा पनि टेलिफोन सम्पर्क हुन सकेन ।
 
प्रधानाध्यापक शर्माले शिक्षक जानकी केही दिनदेखि छुट्टीमा रहेको र मोबाइल स्विच अफ भएको बताए । तर उनले एलिसाको आँखाको ज्योति गुम्नुमा शिक्षक जानकीको कुनै पनि गल्ती नभएको दाबी गरे ।

‘त्यस दिन एलिसालाई छोएको समेत छैन भन्ने स्पष्टीकरण पटकपटक हामीलाई दिइसक्नुभएको छ जानकी म्याडमले,' शर्माले भने, ‘एलिसाको परिवारले क्षतिपूर्ति लिनका लागि हाम्रो विद्यालय र शिक्षक जानकीमाथि षड्यन्त्र गरिररहेका छन् ।'
 
एलिसालाई कुटेको भन्दै उनका परिवारका सदस्यले विद्यालय हाताभित्र पसेर शिक्षक जानकीमाथि हातपात गरेको र त्यसविरुद्ध आफूले इलाका प्रहरी कार्यालयमा उजुरी पनि दिएको उनले बताए ।


‘शिक्षकको पिटाइले गुम्यो आँखा' Reviewed by marumala srinu on 10:31 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.