Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

विदेशमा बिक्दैछ सेना प्रहरीको प्रमाणपत्र

काठमाडौं– नेपालका सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय युद्ध लड्नु पर्दैन। माओवादी युद्ध अन्त्यपछि उनीहरुलाई मुलुकभित्र देखिनेगरी खतरा छैन। यसको मतलब युवाका लागि सुरक्षा अंग रोजगारीको अाकर्षक गन्तब्य हाे।

तर सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवा स्थायी जागिर र पेन्सन सुविधालाई बेवास्ता गर्दै जागिर छाेड्ने क्रम जारी छ।

सशस्त्र प्रहरीको जवान पदमा आठ वर्ष काम गरेपछि दीपक गिरीले २०७१ पुस महिनामा राजिनामा दिए। थप ८ वर्ष काम गरेका भए उनको पेन्सन पाक्थ्यो। जीवनभर पेन्सन खान पाउँथे। 'परिवारसँगको विछोड, कडा अनुशासनसहित २४ सै घण्टा सतर्क रहनुपर्ने र त्यसबापत १५ हजार रुपैयाँ पाइन्थ्यो। धेरै कुरा त राम्रा लाग्छन् तर परिवार चलाउन गाह्रो भयो', उनले राजिनामा दिनुको कारण खुलाए।

पर्वत कुश्माका स्थायी बासिन्दा गिरीले सुरक्षा अंगमा कार्यरत रहँदा हतियरा चलाउने, ड्रिल, बिल्ला वार, म्याप रिडिङलगायतका तालिम लिएका छन्। राज्यले पैसा खर्चेर उनलाई सिकाएको त्यो सीपसहित रोजगारीका लागि अहिले उनी खाडी मुलुक जाने तयारीमा छन्। यसरी बीचमै जागिर छाड्ने धेरै छन्, दीपक एक प्रतिनिधि पात्र मात्रै हुन्।

नेपालको सुरक्षा अंगमा ८ वर्ष बिताउँदा उनले लिएको तालिम, अनुभवका आधारमा खाडी र अन्य मुलुकमा सुरक्षा गार्डको काम सजिलै पाउँछन्। सीप र अनभवका आधारमा उनले जुनसुकै मुलुक गए पनि ५० हजार नेपाली रुपैयाँभन्दा बढी तलब पाउन सक्छन्। सशस्त्र प्रहरीतर्फ विभिन्न दर्जाका कर्मचारीलाई भिआईपी सेक्युरिटी तालिम पनि दिइएको हुन्छ। विदेशमा राम्रो पैसा कमाउन यो तालिम अचुक मानिन्छ। सेना र प्रहरीमा पनि यो तालिम गराइन्छ। 

सुरक्षा अंगमा प्रवेश गरेको ५ वर्षपछि जागिरबाट राजिनामा दिन पाइन्छ। सेनाले भने जागिर छोड्ने बेलामा केही कडाइ गर्छ। यही सुविधालार्इ उपयाेग गर्दै जागिर छाेड्ने जवानकाे संख्या तीन अाेटै सुरक्षाा संगठनमा बढेकाे देखिन्छ।

नेपाली सेनाले ९ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार गर्न करिब ७ लाख ७० हजार रूपैयाँ र सैनिक अधिकृतकाे २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रूपैयाँ लगानी गर्ने गरेकाे नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए।

'खाडीलगायत विश्वका विभिन्न मुलुकमा सुरक्षाको क्षेत्रमा काम गर्न जाने नेपाली युवामध्ये करिब ७ प्रतिशत सुरक्षा निकायबाट जागिर छोडेकाहरु रहेको अनुमान गर्न सकिन्छ,' नेपाल प्रहरीका पूर्वडिआइजी ज्ञानेन्द्र विक्रम महतको अनुमान छ।

'मासिक १५ हजार रुपैयाँ तलब स्केल छ। बजार भाउ बढेको बढ्यैछ, छ महिनासम्मको बन्द हड्ताल पनि सहनु परेको छ, त्यती पैसाले तल्लो तहमा कार्यरतलाई गुजारा चलाउन गाह्रो छ,' पूर्व डीआईजी महत भन्छन्, '१८ घण्टासम्म ड्युटीमा जोतिनु पर्छ। त्यसपछि उसले मासिक १२–१३ हजार रुपैयाँ तलब पाउँछ। कसरी गुजरा चल्छ?' धुवाँधुलो, रातदिन, जोखिम प्रहरी जवानका लागि 'सामान्य' ड्युटी हो।

'सुरक्षा निकायका कर्मचारीले पाएको ट्रेनिङको प्रमाणपत्र नै विदेशका सुरक्षा कम्पनीहरुमा जागिर प्राप्त गर्ने हतियार बनेको छ,' सशस्त्र प्रहरीका एक अधिकृतले नाम नबताउने शर्तमा भने, 'हातमा प्रमाणपत्र पाएपछि जागिर छोडेर विदेश जान हतार गर्ने युवा पनि देखिन्छन्।' आफूले पाएको ट्रनिङकै कारण विदेशमा १ लाखभन्दा बढी मासिक तलब पाउने आशामा कतिपयले जागिर छोडेको उनको भनाइ छ। विदेश जानेहरुले कमाइरहेका पनि छन्। र यही कारण जागिर छाड्न चाहनेहरु प्रेरित भइरहेका छन्।

नेपाली सेनाकाकाे जनसम्पर्क निर्देशनालयकाअनुसार सेनामा प्रवेश गरेको एक जवानको समय १० वर्षसम्म विभिन्न तालिम कार्यक्रमहरुमा नै व्यस्त रहने गर्छ। '१० वर्षसम्म तालिम दिई तयार पारेको सैन्य शक्ति विदेश पलायन हुनु देशका लागि राम्रो होइन,' सेनाका एक जर्नेल भन्छन्, 'याे अवस्था आउन नदिन हामीले लागिर छोड्ने बेलामै स्पष्ट कारणसहित बोलाएको समयमा उपस्थित हुने गरी मात्र राजनीतिमा स्वीकृत हुन्छ।'

जागिर शुरु गरेको १० वर्षमा एक सेनाले शान्ति सेनामा जाने र राम्रो तलब सुविधाको अवसर पाउने भएकोले पनि सेनामा बैदेशिक रोजगारीमै जान सेनामा जागिर छोड्नेको संख्या बढी नभएको उनी बताउँछन्। शान्ति सेनामा न्यूनतम तलब खाने जवानले पनि मासिक १ लाखका दरले पारिश्रमिक पाउँछन्। एक वर्षमा १२ लाख रुपैयाँभन्दा बढी कमाउँछ। 'यी सबै सुविधाले पनि जागिर छोड्न चाहने कमै हुन्छन्,' उनी भन्छन्, 'यति हुँदाहुँदै पनि कतिपय वैदेशिक रोजगारीमा जाने गरेको भन्ने मैले पनि सुनेको छु।'

'सुविधा थप्नु समाधान'
'तत्कालको अवस्थामा सुरक्षा बलको एक जवानको तलब न्यूनत ३० हजार रुपैयाँसम्म बनाउने हो भने पनि कोही जागिर छोडेर विदेश जाँदैन,' एक सैनिक जवानले भने। तर, तलब बढाएर मात्रै समाधान नहुने कतिपय जानकारहरुको बुझाइ छ। आजको विश्वव्यापी युगमा युवाहरुले विदेशको सम्पन्न जीवनशैली बुझ्न पनि विदेश नै जान चाहने गरेको उनीहरुको भनाइ छ। त्यसमाथि देखासिकी गर्नेहरुका कारण पनि सुरक्षा निकायका कर्मचारी जागिर छोडेर विदेश जाने गर्छन्।

सुरक्षा निकायका उच्च तहका अधारिकारहरुका अनुसार जागिर छोडेर विदेशिने क्रमलाई रोक्न सेवा सुविधाको वृद्धि अनिवार्य छ। 'आफूले पाउँदै आएकोभन्दा बढी सेवा सुविधा प्राप्त हुने अवस्थामा सुरक्षा निकायका कर्मचारी जागिर छोडेर अन्य रोजगारीमा आकर्षित हुनु स्वभाविक नै हो,' पूर्वडिआइजी महत भन्छन्, '२०६२ पछि रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढेसँगै सुरक्षा निकायका तल्लो तहका कर्मचरीहरुले जागिर छोड्ने प्रवृत्ति पनि बढेको हो।' जागिर छोड्ने प्रवृत्तिले नेपाललाई फाइदा नहुने भएकोले यस्ता कर्मचारीलाई जागिरमा टिकाउने बारे राज्य संयन्त्रले नै सोच्नु पर्ने बेला भएको पूर्वडिआइजी महत बताउँछन्।

'अधिकृतभन्दा तलका कर्मचारीले विशेष गरी पेन्सन नहुँदै जागिर छोड्ने गरेको देखिन्छ,' नेपाल प्रहरीका प्रवक्ताको जिम्मेवारीमा समेत रहिसकेका कमल सिंह बम भन्छन्, 'पेन्सन भएपछि विदेशमा सुरक्षा गार्डको काममा जाने क्रम त झनै बढी छ।' पेन्सन भइसकेकाहरु वैदेशिक रोजगारीमा गए पनि पेन्सन हुनुअघि नै जागिर छोडेर वैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्न सेवासेवा सुविधा बढाउनु पर्ने उनको भनाइ छ।




विदेशमा बिक्दैछ सेना प्रहरीको प्रमाणपत्र Reviewed by marumala srinu on 5:44 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.