Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कुटपिटपछि महिलालाई पिसाब खुवाइयो

२०७२ चैत्र ५ शुक्रबार

फोटो :जिल्ला अस्पतालमा उपचार गराउँदै जनला ।
गमगढी: देवर नाता पर्नेसँग दुई महिना बिताएर पुनः पुरानै पतिसँग फर्केको आरोपमा मुगुको रुगा गाविसकी एक महिलालाई गाउँलेले कुटपिट गरी पिसाब पियाएका छन् । छोराछोरीको बिचल्ली भएको भन्दै पतिले पत्नी स्वीकार गरे पनि गाउँलेले भने दुवै घरपरिवारलाई सामाजिक बहिष्कार गरेका छन् ।

जिल्ला सदरमुकाम नजिकैको रुगा गाविस ८ फोइपाटाकी ३८ वर्षीया जनला बढुवाललाई गत सोमबार उनकै घरमा सातजनाले कुटपिट गर्नुका साथै पिसाब पियाएका हुन् ।

देवर नाता पर्नेसँग भागी भारत पुगेर फर्केको दुई महिनापछि गाउँलेले बालबच्चाको बिचल्ली भएको भन्दै पति हरिबहादुर बढुवाललाई मनाएर पत्नी स्वीकार्ने वातावरण बनाइदिएका थिए ।तर केही गाउँलेले जनलाका पति हरिबहादुर र उनलाई भारत लैजाने प्रेम बढुवाल परिवारलाई सामाजिक बहिष्कार गरेका छन् । उनीहरूलाई गाउँको धाराको पानी खानसमेत दिइएको छैन । सोमबार दिउँसो सोही गाउँका जनलाल बढुवाल, नरेन्द्र बढुवाल, राजमती बढुवाल, कपुर बढुवाल, जनसिंह बढुवाल र ज्ञानसिंह बढुवालले कुटपिट गरेका हुन् । उनीहरूले जनलालाई पिसाब पियाइदिएको पीडित जनलाका भाइ जनबहादुर खड्काले बताए । उनीहरूले धाराको पाइपसमेत उखेलिदिएका छन् ।

घर फर्केकी दिदीलाई भिनाजुले पत्नी स्वीकार गरिसके पनि गाउँलेले सामाजिक बहिष्कार गरेको उनले बताए । ‘उहाँहरूको घरपरिवारले समेत स्वीकार गरेको बेला घरमै गएर कुटपिट गरी अमानवीय तरिकाले पिसाब खुवाइयो । हामीले घाउ जाँचका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराइसकेका छौं । उनीहरूमाथि कारबाहीका लागि निवेदन पनि दिएका छौं’, जनलाका भाइले भने ।

कुटपिटबाट घाइते जनलाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जनलाको टाउकाको देब्रे भागमा पाँच टाँका लगाइएको उनका आफन्तले बताए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख लोकबहादुर जीसीले पीडितले प्रहरी कार्यालयमा उजुरी दिएको जानकारी दिए । प्रहरीले घटनासँग सम्बन्धित कसैलाई पक्राउ गरेको छैन ।

कुटपिटपछि महिलालाई पिसाब खुवाइयो Reviewed by marumala srinu on 8:00 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.