Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अामा मैले हजुरकाे फाेटाे फेसबुकमा राखिन,मन दुखाऊनु होला

         आफ्नै शिरानी मुनि दिनको तीन पटक नखाई नहुने ओखती राखेर पनि हर क्षण हाम्रै सु-स्वास्थ्यको कामना गरिरहने हजुर जस्ती ममतामयी आमाको शुभ-आशिषले आजका मिति सम्म स-कुशल छु, पूर्ण रूपमा कुशल त हुनुहुन्न हैन भने त त्यो ओखती पो किन चाहिन्थ्यो र ।

तै पनि हजुरको सु-स्वास्थ्यको लागि भगवान सँग दुई हात फैलाई रहेको छु । आमा, हुन त फोनबाट नै भएपनि हप्तामा २/३ पटक सन्चो-बिसन्चो दुःख-सुखको कुरा भईरहेको छ । अब त आमालाई म कति बजे उठ्छु, कति बजे काममा जान्छु, कति बजे फर्कन्छु भन्ने पनि सवै जानकारी भैसकेको होला, धेरै पटक फोनमा मेरो दैनिकीको बारेमा पनि कुराकानी भएका छन् ।

अझै बढ़ी भन्नु पर्दा मेरो छुट्टी कहिले हुन्छ भन्ने सायद आमालाई जानकारी छ होला मैले आजसम्म कुनै पनि छुट्टिमा आमासँग कुरा नभएको छुट्टिनै छैन होला । आमा, हुनत हजुरले मैले यो फ़ेसबुक मार्फ़त लेखेको पत्र हेर्न सक्नु हुन्न रपढ्न सक्नु हुन्न, त्यो मलाई राम्रो सँग थाहा छ तर आजको दिन आमाको मुख हेर्ने दिन हो, यस्ता दिनको जानकारी र महत्व उमेर र समय अनुसार फरक हुदो रहेछ ।

आमाको मुख हेर्ने दिन त त्यति बेला पनि थियो होला जति बेला म आमा कै साथमा थिए, तर आमाको मुख हेर्ने दिन हो भनेर आमाको पाऊ परेर मिठो मसिनो बनाएर ख्वाएको मलाई जानकारी छैन, आमाको लागि केहि उपहार किन्न सक्ने त मेरो अवस्था नै कहा थियो र ? आमा, उमेर बढ्दै जादा पहिले पढाईको निम्ति घर छोडियो र अहिले हात मुख जोड्ने समस्या समाधानका लागि हामी धेरै टाढा छौ, दुरीले जति टाढा हुदै गईयो त्यति नै आमाको महत्व बुझ्दै आईयो ।

घर छोड़े देखि नै आमाले पकाएर पस्कियर दिएको खाना मीठो भएन भनेर थाल ऊछिट्ट्यायर हिडे जस्तो सहज नहुदो रैछ बाहिरी बसाँई भन्ने जानकारी जति जति बढ्दै गयो त्यति त्यति नै आमाको सामिप्यताको अभाव बढ्दै गयो, तर रातभर ऊपियाले र दिनभर रूपियाले टोकिएको हजुरको छोरा खै किन हो ? कसरी हो ? आज यो बिदेसी भूमिमा सुन्दर भविष्यको आशामा संघर्षरत छ ।

यहाँ के गरियो, के गरिदै छ सबै फोनमा भलाकुसारी भईरहेको नै छ । आमा कुनै समय आमाको मुख हेर्ने दिन भन्ने थाहा नै नपाएका दिन पनि थिए, पछि फ़ोन मार्फ़त मुख हेरे भनेका दिन पनि थिए तर अहिले अलि नयाँ तरिका आएको छ त्यो हो फेसबुकमा आ-आफ्ना आमाहरूको फ़ोटो टास्ने र मुख हेर्ने ।

आज भोलि सबैका हातमा मोबाईल छ सबैले फ़ेसबुक चलाऊछन, सायद हजुरले पनि कोहि कसैले कसैका आमाको फोटो फ़ेसबुकमा देखाउदा हाम्रो छोराले पनि मेरो फोटो राखेको छ कि छैन भनेर सोध्नु होला, छैन भन्दा सायद मन दुखाऊनु होला । मैले हजुरको फोटो फेसबुकमा टासेर आमाको मुख हेर्ने दिन नमनाऊने निर्णय गरेको छु । त्यसैले फ़ेसबुक मार्फ़त यो पत्र सम्प्रेषित गरेको छु ।

आमा मैले यसो भन्दा मनमा अनेक कुरा खेल्लान, अपमान गरेको सम्झनु होला तर त्यस्तो अनर्थ नलगाई दिनु होला । सबै मान्छेको मन एक नासको हुदैन, सबैको स्वभाव एकनासको हुदैन । छोरा-छोरी हुदा हुदै पनि बेसहारा भएका आमाहरू पनि हुनु हुन्छ ।

दिन-रात आमाको लालन पालनमा लाग्ने छोरा-छोरी पनि हुनुहुन्छ । कति आमाहरू वृद्ध आश्रममा बस्न बाध्य हुनुहुन्छ । कति आमाहरू महलमा पनि बस्ने भाग्य पाऊनु भएको छ । कति छोरा-छोरी आज आमाको मुख हेर्ने दिन हो रे फ़ोन गर्नु पर्छ भनेर फ़ोन गर्ने पनि हुनुहुन्छ । कति सदैव आमाको अवस्था के होला ? कस्तो होला भनेर चिन्ता गर्ने भेंटरफ़ोन गरिरहने पनि हुनुहुन्छ ।

कति समाजले के भन्लान् भनेर आमाको सेवा गरे जस्तै गर्ने हुनुहुन्छ । कति आमाको दुस्ख देख्नै नसक्ने हुनुहुन्छ । मानव स्वभाव फरक-फरक हुन्छ ति मध्येबाट म कुन छोरामा पर्छु ? असल छोरामा पर्न पाऊँ भन्ने आशा गर्दछु । आमा आजको दिनमा फ़ेसबुक आ-आफ्ना आमाहरूका फोटाले रंगिने छ ।

आमाको साथमा बस्न पाऊने भाग्यमानीहरूले सँगै फोटो खिचेर अपलोड गर्नु हुनेछ, संगै नहुनेले पुराना फोटा, संगै पनि फोटो नहुनेले एकल फोटा अवस्य अपलोड गर्नु हुने छ । हुने र पुग्नेहरू उपहार र मिठो खानाको साथमा आमाहरू सामु उपस्थित हुनु हुनेछ, धन नभए पनि मन मात्रै हुनेहरू एकपटक भेट्न मात्रै भएपनि आमाहरू सामु पुग्नु हुनेछ ।

म ख़ाली हात भएपनि आमाको नजिक आएर एक पटक पाऊँ छोएर आशिर्वाद माग्नबाट वन्चित हुनु पर्दा भने आफैलाई अभागी मह़शुस गरेको छु । आमा,माफ़ गर्नुहोला मैले आज फ़ेसबुकमा हजुरको फोटो टासेर आडमा लभ यू ममीरमिस यू मम् लेख्न सकिन, अहिलेको ज़माना अनुसार चल्न जानिन । ३६५ दिनमा १ दिन मात्रै म आमालाई सम्झन चाहिन, १ दिन मिठो ख्वायर ३६४ दिन खाए खाऊन नखाए नखाऊन भन्न सकिन । हजुरको हरेक दुःखमा साथ दिन पाउ, मलाई सराप्दै आँखाबाट आँसु झार्ने दिन कहिल्यै नआओस् ।

आज एक दिन देखाउन फ़ेसबुकमा फोटो नराख्दैमा के भो र मनमा पुजेर राखेको छु । एक दिन केक बोकेर आउन नसकेर के भो र दैनिक दाल चामलको समस्या पर्न दिने छैन । दुःख विमार पर्दा औषधी उपचार गर्न नपाएर मर्न दिने छैन । आमाको मुख हेर्ने दिनमा आमालाई मेरो उपहार स्वरूप यही प्रण गर्दछु ।

अन्तमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्दै एक पटक फेरी हजुरको सु-स्वास्थ्य एवं दिर्घायुको लागि भगवानसंग प्रार्थना गर्दै यो फ़ेसबुके पत्रबाट ओझल पर्न चाहन्छु ।


अामा मैले हजुरकाे फाेटाे फेसबुकमा राखिन,मन दुखाऊनु होला Reviewed by marumala srinu on 11:55 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.