दीक्षितलाई छाड्न आदेश, अख्तियारको नाममा परमादेश जारी
काठमाडौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका पत्रकार तथा साझा यातायातका सञ्चालक कनकमणि दीक्षितलाई थुनामुक्त गर्न सोमबार आदेश दिएको छ।
विशेष अदालतले दीक्षितलाई दस दिन थुनामा राख्न दिएको आदेशको कुनै आधार र कारण नखुलेको सर्वोच्चले जनाएको छ।दीक्षितकी पत्नी शान्ताले दिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जनार्दन शर्मा पौडेलको संयुक्त इजलासले दीक्षितलाई रिहा गर्न आदेश दिएको हो।
दीक्षितलाई थुनामा राखिरहनु कानुनसम्मत नभएको समेत सर्वोच्चले आदेशमा उल्लेख गरेको छ।सर्वोच्चले आगामी दिनमा दीक्षितमाथि भ्रष्टाचार मुद्दामा छानबिन गर्नुपरेमा साधारण तारेखमा राखी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा परमादेश पनि जारी गरेको छ।
'निवेदिकाको पतिउपरको भ्रष्टाचार मुद्दाको अनुसन्धान कारबाही सुरु गरेको देखिँदा सो मुद्दामा कारबाही गर्न आवश्यक देखिएमा निवेदिकाको पतिको नाउँमा कानुनबमोजिम म्याद जारी गरी झिकाई साधारण तारिखमा राखी मुद्दाको कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाउँमा परमादेशको आदेशसमेत जारी गरी दिएको छ', सर्वोच्चको आदेशमा भनिएको छ।
दीक्षितका पक्षमा बहस गर्न तीन दर्जन वकिल सर्वोच्च अदालत पुगेका थिए।थुनामुक्त भएपछि सर्वोच्च अदालत परिसरमा पत्रकारहरूसँग दीक्षितले भने, 'यो मेरो एक्लो लडाइँ होइन। अरू पनि निर्दोष धेरै छन्।
मभन्दा अगाडि पनि एक्लो लडाइँ गर्ने अभियन्ताहरू हुनुहुन्छ। उहाँहरूले पनि मलाई अदालतमा साथ दिइरहनुभएको थियो।' विधिको शासन, मानवअधिकार र कानुनी राज्यका लागि आफूले अभियान जारी राख्ने उनले बताए।
सर्वोच्चको आदेशबाट थुनामुक्त भएपछि पत्नी शान्ता र भाइ कुन्दनका साथमा प्रफुल्ल मुद्रामा सर्वोच्च अदालत परिसरमा प्रस्तुत भएका दीक्षितले आफू 'स्ट्रेस' मुक्त भएको बताए।
दीक्षितलाई छाड्न आदेश, अख्तियारको नाममा परमादेश जारी
Reviewed by marumala srinu
on
7:11 PM
Rating:
Reviewed by marumala srinu
on
7:11 PM
Rating:

No comments: