यसरी थाहा हुन्छ गर्भमै शिशुको मृत्यु भएको – डा. सुमनराज ताम्राकार
गर्भे शिशुको मृत्युपूर्व गर्भवती महिलाले थाहा पाउने मुख्य लक्षण बच्चा कम चल्ने हो । अर्थात गर्भमै शिशु मृत्यु भएका धेरैजसो गर्भवती महिलाले यहि शिकायत गर्ने गरेको पाइएको छ । त्यसैले पनि यसलाई हेलचक्रयाईंको रुपमा लिनु हुँदैन । गर्भ भित्रको शिशु मृत्यु भएको निकै समय भैसकेको छ भने गर्भावस्थाका लक्षण चिन्हहरु बिस्तारै हराउँदै जान्छ । जाँचको क्रममा गर्भे शिशुको मुटुको ढुकढुकी सुनिँदैन । जुन कुरा अल्ट्रासाउण्ड अर्थात् भिडियो एक्सरेबाट मात्र निक्र्यौल गर्न सकिन्छ ।
भिडियो एक्सरेमा गर्भे शिशुको मुटुको ढुकढुकी नदेखिनुको साथै बच्चाको टाउकोको हड्डी खप्टिएको देखिन्छ, ढाड निकै कुप्रिएको हुन्छ, करङको हड्डी बाक्लिएको हुन्छ, मुटु तथा ठूलो रक्तनलीमा हावाको फोका देखिन थाल्छ । मृत शिशु जन्मेपछि जाँचको क्रममा छालामा फोका फोका देखिन्छ वा आलुको बोक्रा जस्तै सजिलै उप्किन्छ भने गर्भे शिशुको मृत्यु २४ घण्टा भन्दा बढी भैसकेको बुभ्mनु पर्दछ ।
गर्भे शिशुको मृत्यु भएको हो होइन भन्ने कुरा भिडियो एक्सरेबाट खुट्याएपनि गर्भे शिशुको मृत्यु हुनाको कारण रगत तथा पिसाबको विभिन्न जाँच एवं सुत्केरीपछि सालको जाँचको आवश्यकता पर्दछ । यसका साथै उक्त महिलाको रगत जम्ने प्रक्रिया ठिक छ, छैन जाँच गर्नु पर्दछ । अस्पतालमा वा स्वास्थ्यकर्मीले औषधि राखेर मृत बच्चा निकाल्ने व्यथा गराउँछ । बच्चा तेर्सो बसेको छ, पुट्ठाको हड्डी सानो छ, साल पाठेघरको तल्लो भागमा छ, पहिले २ पटक भन्दा बढी सिजेरियन अपरेशनबाट बच्चा पाएको छ वा पाठेघरको मुख खुल्दै खुलेन भने यो पटक सिजेरियन गरेरै मृत बच्चा निकाल्नु पर्ने हुन्छ ।
यस्तो अवस्थामा गर्भ भित्रै शिशु भएको गर्भवती महिलालाई यसको दोषारोपण गरेर गाली गर्नु भन्दा मानसिक ढाडस दिने, मन हल्का हुने सल्लाह दिनु पर्दछ । मृत शिशु पाएपछि दुध सुक्ने औषधिको अलावा अवस्था हेरिकन एन्टिबायोटिक औषधिको जरुरत पर्दछ । सुत्केरीको छ हप्तापछि चेकअपमा जानु पर्दछ । कम्तिमा ३ महिना अर्को बच्चा नपाउनु राम्रो हुन्छ । जन्मान्तरको लागि उपयुक्त परिवार नियोजनका साधन प्रयोग गर्नु पर्दछ । अर्को बच्चा पाउनु (गर्भ आउनु) पूर्व फेरि चिकित्सकको सल्लाह लिनु पर्दछ । त्यसबखत उच्च रक्तचाप, मधुमेह, रगतको विकार तथा अन्य कुनै संक्रमण छ भने त्यो निराकरण एवं नियन्त्रणमा ल्याउनु पर्दछ । साथै चिकित्सकको सल्लाहमा दैनिक रुपमा फोलिक एसिड नामको भिटामिन सेवन गर्नु पर्दछ ।
डा. सुमनराज ताम्राकार
स्त्री तथा प्रसुती रोग विशेषज्ञ
यसरी थाहा हुन्छ गर्भमै शिशुको मृत्यु भएको – डा. सुमनराज ताम्राकार
Reviewed by marumala srinu
on
2:03 PM
Rating:

No comments: