अन्नको भन्दा पानीको चिन्ता
खोटाङ– खोटाङको पश्चिमी गाबिस च्यास्मीटार–५ स्थित बनपालामा रहेको करिब डेढ सय घर परिवारलाई धान्दैआएको पानीको स्रोत केही वर्षअघि सुक्यो। उत्तिकै संख्यको घरधुरीले उपभोग गर्दैआएको सोही वडाको जोरसिमलमा रहेको पानीको श्रोत पनि सुकीसकेको छ।
मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयराम सडक खण्डको बनपाला र जोरसिमलमा सडकको डिलमुनि अहिले जिर्ण बनेको धारा मात्र देख्न सकिन्छ। केही वर्ष अघिसम्म कलकल पानी निस्कने जोरसिमलमा 'पानीको स्रोत थियो' भनेर अहिले पत्याउनै मुस्किल पर्छ। पानीको स्रोत नभएको च्यास्मीटारका डाँडाडाँडाका बस्तीका सयौं स्थानीय बनपाला र जोरसिमलको पानी सुकेपछि डेढ घण्टा तलपर्ने कैंजलेबाट पानी निकाल्न बाध्य छन्।
यस वर्ष छिमेकी गाबिस दुर्छिम–८ पहिरेनीमा रहेको पानीको मुहान सुकेपछि बडहरे–६ र च्यास्मीटार–१ हुन्डाखाका ४५ घरपरिवार अहिले च्यास्मीटारकै बोझेओढारमुनि पर्ने भुतिया खोलाको शिरबाट पानी ल्याइरहेका छन् । उपभोग गर्दै आएको पानीको श्रोत सुकेपछि हाल पानीकालागि दैनिक दुई घण्टा धाउनु परिरहेको च्यास्मीटार–१ की गृहिणी सर्मिला परियारले बताईन् । भुतियामा अहिले झिसमिसे बिहानदेखि नै मेलामाझैं पानी भर्ने स्थानीयको भीड लाग्छ । आधा दिन बिताएर ल्याएको एक गाग्रो पानीले खाना पकाउन, भाँडाकुँडा सरसफाई गर्न, हातमुख धुन र गाईबस्तुलाई पुर्यारउनु पर्छ । भएका श्रोत सुक्दैगएका कारण स्थानीयलाई अहिले अन्नकोभन्दा बढि पानीको चिन्ताले सताउने गरेको देउराली प्राबि च्यास्मीटारका प्रअ शिबजी अधिकारीले बताए। 'भन्नै लाजमर्दो छ, यो ठाउँको सबैभन्दा ठूलो समस्य पिउने पानीको हो,' प्रअ अधिकारीले भने, 'यहाँका मान्छेलाई भरै के खाने, के पकाउने भन्दाबढि पानीको चिन्ता छ ।' च्यास्मीटार–८ छोर्दिपाकै आमबोटे र थर्पु मुहान सुकेपछि स्थानीय दुई घण्टा खर्चेर तिनजले खोला धाउन बाध्य छन् ।
यस्तै, नार्चीपा र लाङ्मा खोलामा रहेको पानीको श्रोत सुकेपछि छिमेकी गाबिस डिकुवा–४ का स्थानीय तीन घण्टा धाएर डिकुवा खोलाबाट पानी ल्याउन बाध्य छन् । नार्चीपा–दाम्ली ग्रामिण खानेपानी योजनाको मुहान सुकेपछि डिकुवा–४ बाहेक ५ र ८ का स्थानीय अहिले डिकुवा खोलामै निर्भर छन् । सिमले खोला, पहिरेनी र ठूलोधार मुहान सुकेपछि डिकुवा–६ का स्थानीय अहिले डिकुवा खोला र नार्केडाँडामा रहेको स्रोत धाउँछन् । स्थानीय सामाजिक कार्यकर्ता रमेश राईका अनुशार डिकुवा–७ को खारखोला, बडहरे खोला, सिसौ खोला र रसुले खोलाको मुहान सुकीसकेका छन् । यस्तै, डिकुवा–८ मा रहेको सिमलचौंर मुहान पानी सुक्दा २७ घर पानीकालागि चिसापानी धाउन बाध्य छन् । सदियौंदेखि प्रयोग हुँदैआएको डिकुवा–९ मा रहेको ठूलो पँधेरो र भञ्ज्याङपानी, डिकुवा–१ को चिउरीपाखा, डिकुवा–३ को खहरे खोला, नाम्री खोलाको पानी सुकीसकेको छ । चिउरीपाखा मुहान सुक्दा डिकुवा–१ का स्थानीय सुनकोसीको पानी पिउन बाध्य बनेको सामाजिक कार्यकर्ता राईले बताए । 'चिउरीपाखा मुहान सुकेपछि डिकुवा–१ का गाउँलेले कोसीको पानी उपयोग गरिरहेका छन्,' सामाजिक कार्यकर्ता राईले भने, 'भएको स्रोत सुकेपछि उनीहरुसँग कोसीको पानीको कुनै बिकल्प छैन ।' पिउने पानीको अभावका कारण सो क्षेत्रका होटलमा बास बसेका ग्राहकलाई हातमुख र खुट्टा धुने पानी पाउन धौ–धौ पर्छ । पर्याप्त पानीको अभावमा च्यास्मीटार, बाहुनीडाँडा, दुर्छिम, बडहरे, हलेसी लगायतका स्थानीयले बिहे, भोजभतेरकालागि चाहिले पानी ट्याक्टरबाट ड्रममा हालेर ओसार्ने गरेका छन्।
यी पानीको श्रोत सुक्दैगएको डरलाग्दा उदाहरणहरु हुन् । खडेरीमा समेत नसुक्ने जिल्लाका अधिकांश गाबिसमा भएका पानीका मुहान अहिले सुक्दैगएको छ । च्यास्मीटार, दुर्छिम, डिकुवा र बाहुनीडाँडाको दुबैतिरबाट कलकल सुनकोसी र दुधकोसी बग्छ । तर, गाउँ पुछारबाट नदी बगेपनि गाउँको शिरमा पानीको हाहाकार छ । पानीको श्रोत नभएको ठाउँमा स्वभाबैले कृषिजन्य उत्पादन कमी हुन्छ । उत्पादन कमी भएपछि वर्षभरी 'के खाने र के लाउने' चिन्ता हुने नै भयो । यो चिन्तासँगै उनीहरुको अर्को चिन्ता थपिएको छ बिहान बेलुकाको छाक टार्न प्रयोग हुने पानीको । उत्तरी क्षेत्रको व्यापारिक केन्द्रकारुपमा रहेको बाक्सिलाबजारमा रहेको चर्चित बर्मेधारा यसपल्ट सुकेको छ । बर्मेधारा सुकेपछि दुई सय उपभोक्ता हल्कुमबाट पानी ल्याउन बाध्य छन् । दुर्छिम–५ को कोलिसा खानेपानी योजना र छापडाँडा मुल पँधेरो सुकेपछि स्थानीयले शहरबोटे खेतको पानी उपयोग गरिरहेका छन् । बडहरे–९ को चिसापानी र सुकेधारा श्रोत पनि सुकेको छ । लिच्कीराम्चेमा पानीको श्रोत सुक्दा व्यापारी खोलाको पुछार र गारे खोलाको पानी उपयोग भइरहेको स्थानीय ताराचन्द्र बस्नेत बताउँछन् । व्यपारी खोलाको शिरमा रहेको मुहान सुक्दा स्थानीय एक गाग्रो पानी ल्याउन त्यही खोलाको तल्लो भागमा पुग्न बाध्य छन् । 'मान्छेलाई पुग्ने पानी छैन,' बस्नेतले भने, 'पानीले पुर्याोउन नसक्दा गाईभैँसी बेच्नुपर्ने अवस्था आएको छ।'
वर्षौँ अघिदेखिको पानीको श्रोत सुकेको तथ्यांक जिल्लामा कहीकतै भेटिन्नन् । तर, भएका पानीको श्रोत सुक्नेक्रम बढ्दो छ । बिगत ५/६ वर्षयता मुल फुट्नेगरी वर्षा भएको छैन । जुनसुकै ठाउँमा पानीको श्रोत सुकीरहेका छन् । पानीको श्रोत सुक्नेक्रमले निरन्तरता पाइरहे संकट निम्तिने त्रास बढ्दो छ । 'पानीको श्रोत सुकीरहेको खबर आउँछ,' खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय खोटाङका प्रमुख बिजय ठाकुरले भने, 'तर यसको तथ्यांक राख्ने व्यवस्था कसैसँग छैन ।'
पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको अशरका कारण पानीको श्रोत सुक्दैगएको सामुदायीक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईको दाबी छ। खडेरी, डढेलो र जथाभाबी सडक निर्माण लगायतका मानवीय कार्यले समेत पानीको श्रोत सुकेको राईले बताए । 'दिनानुदिन पानीको श्रोत सुक्दैगएको छ,' राईले भने, 'श्रोत संरक्षणकालागि वर्षाको पानीलाई पोखरीमा जम्मा गरेर जमिनलाई रिचार्ज गर्ने अभियान चलाउन आवश्यक छ ।'
नुहाउन र लुगा धुन रोक
पानीको अभावका कारण दुर्छिम–५ शहरबोटे मुहानमा नुहाउन र लुगा धुन रोक लगाईको छ । अन्य श्रोत सुकेपछि दुर्छिम–५ का सबै स्थानीय शहरबोटे मुहानमा निर्भर हुन थालेका कारण सो मुहानमा लुगा धुन र नुहाउन रोक लगाइएको हो । भएका पानीको मुहान सुकेका कारण पानीले धान्न छाडेकाले सो स्थानमा नुहाउन र लुगा धुन रोक लगाइएको स्थानीय समाजसेबी चक्रकुमार राईले बताए । अहिले शहरबोटेमा पानीकालागि स्थानीयको घुइँचो लाग्ने गरेको छ । 'पिउने पानी पाउन गा¥हो छ, कहाँको नुहाउनु, लुगा धुनु,' समाजसेबी राईले भने, 'त्यही भएर नुहाउन र लुगा धुन नदिइएको हो ।' नुहाउन र लुगा धुन भने खोलामा जाने गरिएको छ ।
यसअघि छिमेकी गाबिस च्यास्मीटार–५ कै बनपाला र चिलाउनेबोटे धारामा पनि नुहाउन र लुगा धुन प्रतिबन्ध लगाइएको थियो । तर, अहिले दुबै ठाउँको मुहान सुकीसकेको छ ।
'पानी माग्दा ड्यू'
खोटाङको महादेबस्थान, दुर्छिम, च्यास्मीटार, डिकुवा, बाहुनीडाँडा लगायतका पश्चिमी गाबिस सुक्खाग्रस्त क्षेत्र घोषित क्षेत्र हो। पानीको स्रोत नभएको तथा जनसंख्य अनुशार स्रोत नपुगेपछि यस क्षेत्रका महादेबस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडालाई जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मध्यहापडी लोकमार्ग अन्तरगत जयराम–हलेसी ३० किलोमिटर सडकले छोएका बाहुनीडाँडा, च्यास्मीटार, बडहरे, दुर्छिम र महादेबस्थानका बिभिन्न चोकमा दर्जनौं होटल पशल सञ्चालनमा छन्। यात्राकाक्रममा यही बाटो पार गर्ने जुनसुकै ठाउँका यात्रुले भनेकोबेलामा पिउने पानी पाउँदैनन्। दर्जनौं पशल भेटिन्छन् तर पिउने पानी भेट्दैनन्। तिर्खा मेट्नकालागि उनीहरु ड्यू किन्न बाध्य हुन्छन्। पानी मागिए, सोधिए पशलेले पनि ड्यू देखाउँछन्। सो सडक खण्ड आसपासमा तिर्खा मेट्नकालागि पानीको सट्टा ड्यू पिउनुको बिकल्प पनि छैन।
पानीको श्रोत सुक्दैगएपछि जिल्लाको राजापानी, लिच्कीराम्चे, सल्ले र धितुङ गाबिसलाई समेत सुक्खाग्रस्त क्षेत्र घोषणाकालागि आवाज उठिरहेको छ । स्थानीय शान्ति समिति नेतृत्वको नेताहरुले चैत्र–२९ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटगरी थप चार गाबिसलाई सुक्खाग्रस्त घोषणाकालागि सहयोग गर्न आग्रह गरेको शान्ति समितिका संयोजक श्यामराज राईले बताए
अन्नको भन्दा पानीको चिन्ता
Reviewed by marumala srinu
on
1:25 PM
Rating:

No comments: