Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

भूकम्पका बेला अभिभावकसँग विछोडिएकी भक्तपुरकी बालिका वीरगञ्जमा


बैशाख २१
गत वर्ष भूकम्पका बेला अलपत्र परेकी अन्दाजी ४ वर्षीया बालिकालाई आफूसँगै लिएर गएका एक भारतीय नागरिकले बालिका फिर्ता गरेका छन् ।
भारत, बिहारको मोतिहारीका २३ वर्षीय विजय गिरीले १२ बैशाख २०७२ देखि नै आफ्नो साथमा रहेकी अन्दाजी ४ वर्षकी बालिकालाई २० बैशाखमा नेपाली अधिकारीहरुको जिम्मा लगाएका हुन् ।
एक वर्षदेखि साथमै रहेकी बालिका उनले पर्साका जिल्ला बालकल्याण अधिकृत सावित्री कुमारी भण्डारीको जिम्मा लगाए ।
गिरीका अनुसार गरी तीन वर्षदेखि भक्तपुरमा काठ मिस्त्रीको काम गर्ने उनी भक्तपुरको कालोपाटीस्थित डेरामा बसेका बेला भूइचालो गएपछि त्यहाँबाट भाग्ने क्रममा उनका स–साना भाञ्जाहरुसँगै खेलिरहेकी बालिकालाई पनि साथमै ल्याएका थिए ।
अपरिचित बालिकालाई आफूले सँगै ल्याउन नचाहे पनि उनको जिम्मा लिने त्यसबेला कोही नभएको र एक्लै छोड्न मन नलागेकाले सँगै ल्याउनु परेको उनले दाबी गरे ।
“सँगै रहेकी मेरी दिदी गीताले पनि बालिकालाई उनीहरुका अभिभावकको जिम्मा लगाउन भनिन्, उसका अभिभावकलाई खोज्ने प्रयास गरें तर भेट्टाउन सकिन,” उनले भने, “त्यसबेला सबै तिर त्रास मात्रै थियो, भक्तपुर छोड्ने बेला बालिकालाई एक्लै छोड्न सकिएन अनी सँगै लिएर आएँ ।”
अभिभावक फेला नपरेपछि अविवाहित गिरीले बालिकालाई साथै लिएर भारतस्थित घर पुगेका थिए ।
अहिले बालिकालाई आफ्नो घरमा हेरचाह राम्रो नभएको, परिवारका सदस्यले हेला गर्न थालेकाले बुझाउन नेपाल ल्याएको उनले बताए ।
“सानी बच्ची मेरो अनुहारमा टुलुटुलु हेर्छिन्, माया लाग्छ,” गहभरी आँशु पार्दै उनले भने, “पहिले मोटी थिइन्, अहिले दुब्ली भइसकेकी छन् ।”
बालिकालाई तिम्रा आमाबुवा खोई भनेर सोध्दा, “दबाके मरगईल’ (च्याँपिएर विते) भन्छिन । १ वर्षसम्म भोजपुरीभाषी परिवारसँगै रहेकी बालिका पनि अहिले भोजपुरी बोल्ने भएकी छन् । उनीसँग आफ्नो परिवारबारे अरु जानकारी छैन ।
गिरीले बालिकाका अभिभावक खोज्न आफू एकपटक फेरि भक्तपुर पुगे पनि फेला नपारेको बताए ।
बालिकालाई स्थानीय प्रशासन, नेपाल प्रहरी, माईती नेपाल र पत्रकारहरुको रोहबरमा जिम्मा लिईएको र अभिभावक नभेटुन्जेलसम्मका लागि माईती नेपालको संरक्षणमा राखिएको बालकल्याण अधिकृत भण्डारीले जानकारी दिईन् ।
“संभावित क्षेत्रहरुमा अभिभावक खोजतलास गछौं, भेटिएनन् भने छलफल गरेर के गर्न सकिन्छ निर्णयमा पुग्छौं,” उनले भनिन् ।
हिमालखबरबाट


भूकम्पका बेला अभिभावकसँग विछोडिएकी भक्तपुरकी बालिका वीरगञ्जमा Reviewed by marumala srinu on 8:00 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.