ओलीको सम्बोधनमा आधा दर्जन ‘कमेडी’
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार व्यवस्थापिका संसदलाई सम्बोधन गरेका छन् । एक घण्टा ४५ मिनेट लामो भाषणमा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमदेखि भूकम्प, पुनर्निर्माण हुँदै मधेस आन्दोलनका विषयलाई सिलसिला मिलाएर प्रस्तुत गरे ।
सम्बोधनको सुरुमा बिनम्र भएर प्रस्तुत भएका ओलीले सम्बोधनका क्रममा पटकपटक ‘कमेडी’ प्रस्तुत गरे । कतिपय संवेदनशील विषयलाई समेत ओलीले हाँस्य शैलीमा प्रस्तुत गरे ।
कमेडी नम्बर एक: सरकारविरुद्ध जालझेल भयो आपत पर्ला भनेर पानी पर्यो
बुधबार एकीकृत माओवादीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानन्त्री बनाउने औपचारिक निर्णय गर्यो । प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्तारुढ सबैदललाई आग्रह गरे ।
सत्ताको नेतृत्वकर्ता एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर भेट्दै आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरे ।
यो विषयले बुधबार नेपालको राजनीति राम्ररी तात्यो । त्यसकै आधारमा मिडियामा ओली सरकार धरापमा परेका खबर प्रकाशित भए । सामाजिक सञ्जालमा समेत भारतको खेलमा ओली सरकार ढल्न लागेको टिकाटिप्पणी भयो । यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार दिउँसो शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराए।
बुधबार राजनीति तातिरहेका बेला लामो समयको खडेरीपछि पानी परेको थियो । यही विषयलाई संसदमा सम्बोधन गर्ने क्रममा ओलीले कमेडी शैलीमा प्रस्तुत गरे । ओलीले भने, ‘बुधबार दिनभर सरकारविरुद्ध जालझेल भयो, अपत्तै पर्ला कि भनेर बेलुका पानी पर्यो ।’ ओलीको यो कमेडीले संसद भवन सांसदको हाँसोले भरियो ।
कमेडी नम्बर दुई:चीनसँगको सम्झौता उखान–टुक्का हो ?
ओलीको भाषण जतिसुकै गम्भीर विषयमा भए पनि उखान टुक्का बाक्लै प्रयोग हुन्छन् । प्रधानमन्त्री बनेपछि समेत ओलीले सानैदेखि लागेको बानी छोड्न सकेनन् । प्रधानमन्त्री भएपछि समेत उखान–टुक्का प्रयोग गरेर उनी चर्चामा आए । कहिले हावाबाट विजुली निकाल्ने भनेर चर्चामा आए त कहिले चुल्हो चुल्होमा पाइपबाट ग्यास भनेर चर्चामा आए ।
ओलीको यो शैलीले बिहीबारको संसदको सम्बोधनमा समेत निरन्तरता पायो । प्रधानमन्त्री भएपछि ओलीले भाषणमा धेरै उखान टुक्का प्रयोग गरेपछि उखान टुक्काले देश नचल्ने भन्दै आलोचना भयो । त्यो आलोचनाको प्रतिवाद गर्दै ओलीले बिहीबार पुनः नयाँ टुक्का तयार गरे ।
चीनसँग भएको व्यापार, इन्धन र विकास सम्झौतालाई जोड्दै संसदलाई सम्बोधनका क्रममा ओलीले भने, ‘उखान टुक्काले देश चल्दैन रे ! चीनसँगको पारवहन सम्झौता उखान टुक्का हो ?’
उनले उल्टै प्रश्न गर्दै भने, ‘विशाखापटनम सम्झौता र चीनसँगको पारवहन सम्झौता उखान टुक्का हो ?’ ओलीले यत्ति भन्दा पुनः एक पटक संसद भवन हाँसोले गुञ्जयमान भएको थियो ।
कमेडी नम्बर तीन: रेल गुडिया हो र भन्नेबित्तिकै आउने ?
ओलीले प्रधानमन्त्री भएलगत्तै काठमाडौँ–पोखरा हुँदै लुिम्बनी रेलमार्ग बनाउने घोषणा गरेका थिए । ओलीको घोषणा बोलीमा मात्र सीमित भएको भन्दै चौतर्फी आलोचना भयो ।
ओलीले उक्त रेल मार्गको सर्भे भइसकेको र अब रेलमार्ग निर्माणको काम चाँडै हुने जानकारी गराए । रेल किन गुडेन भन्नेतर्फ व्याङ्ग्य गर्दै ओलीले भने, ‘रेल गुडिया हो र बोलीसक्नेवित्तिकै मैले लगेर गुडाउनलाई ?’
‘काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेल कुदाउँछु भन्दा मान्छेलाई छट्पटी होला तर म बनाएर देखाउँछु,’ उनले भने, ‘गुडिया रेल बजारबाट ल्याएर कुदाउने हो र भन्नेवित्तिकै गुडाउन ? कुरा भयो, काम भएन भन्नेहरुलाई रेल कुदाएर देखाउँछु ।’ ओलीले यत्ति भन्दा संसद भवनमा हाँसो छाएको थियो ।
कमेडी नम्बर चार: घाँटी सुक्यो भन्दै पानी पिएर हँसाए
सम्बोधनका क्रममा ओलीले राष्ट्रिय सहमतिको सरकारका बनाउँ भन्दाभन्दा आफ्नो घाँटी सुकेको बताए । ओलीले भाषणको सिलसिलामै सहमतिको सरकारका कुरा गर्दा घाँटी सुकेको उल्लेख गरे ।
‘सहमतिको सरकार भन्दा भन्दै घाँटी सुकिसक्यो ।’ उनले यत्ति भन्दा नभन्दै पानी समेत पिए ।
ओलीले भाषणका क्रममा सिलसिला मिलाएर राष्ट्रिय सहमतिको सरकारको रटान लगाउँदा घाँटी सुकेको भन्दै पानी पिएपछि संसद् भवनमा हाँसो फैलिएको थियो । सबै सांसद हाँस्न थालेपछि ओली केहीबेर चुप लागेका थिए ।
कमेडी नम्बर पाँच:झोलामा पैसा बाँड्न मिल्दैन
भूकम्पपीडितलाई सरकारले राहत नदिएको भन्दै सांसदमा सरकारको आलोचना भयो । गत वर्ष वैशाख १२ गतेको भूकम्पकापीडितले अझैसम्म राहत नपाएको भन्दै विरोध भएकोप्रति ओलीले आपत्ति जनाए ।
ओलीले नीति बनाएर नियमसंगत ढंगले सरकारले काम गरिरहेको भन्दै पैसा झोलाबाट बाँड्न नमिल्ने बताए ।
ओलीले भने, ‘विधि नबनाई भूकम्पपीडितलाई झोलामा हालेर पैसा बाँड्न सकिन्न ।’ ओलीले झोलामा हालेर पैसा बाँड्न मिल्दैन भन्दा समेत सांसद्हरु मजैले हाँसेका थिए । ओलीले गम्भीर विषयवस्तु प्रस्तुत गरे पनि त्यसलाई सांसदले हाँस्यव्यङ्ग्यझैँ ठानेर हाँसे र त्यसलाई समेत कमेडी बनाए ।
कमेडी नम्बर छ: सन्तानले नेपालमै रेल चढ्छन्
प्रधानमन्त्री ओलीले आफू रेल हेर्न भारत पुग्नु परेको तर सन्तानले रेल हेर्न र चढ्न भारत जानुनपर्ने बताए । ओलीले भने, ‘म रेल हेर्न भारतको गलगलिया गएको थिएँ, हाम्रा सन्तान रेल हेर्न भारत जानुपर्दैन । यही हेर्छन् अनि यहीँ रेल चढ्छन् ।’ ओलीको यो भनाइले समेत संसद भवनमा हाँसो भरिएको थियो ।
लामो भाषण भए पनि बीचबीचमा कमेडी घुसेकाले सांसदले ननिदाई प्रधानमन्त्रीको भाषण रोचक मानेर सुनेका थिए । ओलीले तुइन चुडाउँने, चुह्लाचुह्लामा पाइपमार्फत ग्यस जोड्ने विषय सपना नभएर यथार्थ भएको प्रस्तुत गरे । ओलीले तुइन र ग्यासको प्रसंग उठाउँदा समेत संसदमा हाँसो छाएको थियो ।
ओलीको सम्बोधनमा आधा दर्जन ‘कमेडी’
Reviewed by marumala srinu
on
9:29 AM
Rating:

No comments: