पाकिस्तानमा मुसा आतंक
मुसाले टोकेर एक वर्षमा ८ को मृत्यु, एक महिनामा ३ सय ७४ घाइते
प्रकाशित: वैशाख २१, २०७३
वैशाख २१, २०७३- पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तको राजधानी पेसावरमा मुसा आतंक फैलिएको छ । त्यहाँ मुसाले मानिसलाई नै आक्रमण गर्न सुरु गरेका छन् ।
शनिबार मात्र पेसावरको लेडी रिडिङ अस्पतालमा मुसाको आक्रमणबाट घाइते भएका २२ जनालाई उपचारका लागि ल्याइएको थियो । एक महिनाको बीचमा मुसाले ३ सय ७४ मानिसलाई टोकेर घाइते बनाइसकेको छ ।
मुसाले टोक्न थालेपछि पेसावरमा त्रासको माहोल छाएको सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमण गर्ने मुसाहरू अन्य मुसाभन्दा ठूला हुने गरेको बताइएको छ । लेडी रिडिङ अस्पतालमा मुसाले टोकेर घाइते भएकाहरू दैनिक आउने गरेका छन् ।
अस्पतालका प्रवक्ता सैय्यद जमिल शाहले एक महिनामा मुसाले टोकेर घाइते हुनेमा १ सय ७४ बालबालिका र ७२ महिला रहेको बताए । उनका अनुसार मुसाले घाँटीभन्दा तल टोकेमा एउटा इन्जेक्सन दिइन्छ भने घाँटीभन्दा माथि टोके केही दिनको अन्तरमा चारवटा इन्जेक्सन दिइन्छ ।
बालबालिकालाई मुसाले घाँटीभन्दा माथि टोक्ने गरेको बताइन्छ । बढी घाइते पेसावरको भित्री क्षेत्रका हुन् । स्थानीयका अनुसार मुसा राति र बिहानको समयमा बढी देखिन्छन् । भुइँमा सुतेकाहरू बढी आक्रमणका सिकार भएका छन् । घाइतेका अनुसार मुसाहरू खाटमा चढेरसमेत आक्रमण गर्ने गरेका छन् ।
प्रशासनले मुसा मार्न स्थानीयको सहयोगमा एक अभियान पनि चलाएको थियो । जसअनुसार एक मुसा मार्नेलाई ३० रुपैयाँ दिने गरिएको थियो । तर, पछि यो अभियान बन्द गरिएको थियो ।
स्थानीय अधिकारीहरूका अनुसार एक वर्षयता मुसाले टोकेर ८ बालबालिकाको मृत्यु भइसकेको छ । रातिको समयमा ती मुसा अस्पताल तथा स्कुलहरूमा कुदिरहेका देखिन्छन् भने खानेकुरा, काठ, भित्ता कोपिरहेका भेटिन्छन् । स्थानीयको दाबीअनुसार ती मुसा बाहिर कतैबाट आएका हुन् र निकै ठूला छन् ।
स्थानीय मुहम्मद हुमायुँ भन्छन्, ‘तिनीहरू बिरालाजत्रै देखिन्छन्, अगाडि तिखा दुइटा दाँत हुन्छन् ।’ केहीले भने सन् २०१० र २०१२ मा अफगानसीमा क्षेत्रका पहाडमा गएको पहिरोपछि दुलाबाट निस्केका मुसाबाट यस्तो समस्या सुरु भएको बताएका छन् ।
पेसावरका मेयर मुहम्मद असिमले मुसा आतकंसँग लड्न रणनीति तयार गरेका छन् । यस्तो रणनीति आतंकवादी लडाकु खोज्ने जस्तै हुनेछ । नगरपालिकाले मुसाको विष छर्न ३० कर्मचारीलाई खटाएको थियो । उनीहरूले रातिको समयमा विष छर्नेछन् । नगरवासीलाई नि:शुल्क रूपमा विष बाँडिएको छ ।
मेयर असिम भन्छन्, ‘मानिसहरू डराइरहेका छन्, उनीहरू सामान्य मुसा हैन भनिरहेका छन्, तिनीहरूले खाना, कपडा, कागजात केही बाँकी राख्दैनन् । उनका अनुसार केही समयअघि कान मुसाले खाइदिएपछि एक ३ महिनाकी बालिकाको निधन भएको थियो ।
स्थानीय बासिन्दाका अनुसार जस्तोसुकै उपाय अपनाउँदा पनि मुसाहरूले कोठाभित्र पसेर उधुम मच्चाउन छाडेका छैनन् । ‘राति ढोकाको प्वालमा मैले चप्पल राखेको थिएँ, त्यो चपाएर मुसा भित्र छिरेछ,’ एक स्थानीयले भने ।
मुसाले दु:ख दिन थालेपछि नसिर अहमद नाम गरेका व्यक्तिले ७ वर्षदेखि मुसा मार्ने अभियान चलाएका थिए । ‘र्याट किलर’ उपमा पाएका उनले अहिलेसम्म १ लाखभन्दा बढी मुसा मारिसकेका छन् ।
पाकिस्तानमा मुसा आतंक
Reviewed by marumala srinu
on
12:11 AM
Rating:
Reviewed by marumala srinu
on
12:11 AM
Rating:

No comments: