सात नेपाली कलाकारका साथमा सोनाक्षी र मलाइका
काठमाडौं: चर्चित भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र नृत्यांगना मलाइका अरोराको साथमा अभिनेत्री र गायिका गरी सात नेपाली कलाकारले पनि प्रस्तुति दिने भएका छन्।
यही जेठ १ गते राजधानीको टुँडिखेलमा आयोजना हुने 'अमर पन्छी: राइजिङ फ्रम द एसेज' कार्यक्रममा नेपाली अभिनेत्रीहरू रेखा थापा, प्रियंका कार्की, सुषमा कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा र गायिका इन्दिरा जोशी प्रस्तुत हुँदैछन्।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कार्यक्रममा आकर्षक नृत्य तथा गीतका साथमा नेपाली कलाकार प्रस्तुत हुन लागेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री प्रियंका कार्कीले दुई महिनादेखि तयारी गरिरहेकाले आफूहरूको प्रस्तुति उत्कृष्ट हुने बताइन्।
बलिउड कलाकारसँगको प्रस्तुतिलाई कत्तिको चुनौतीपूर्ण मान्नुभएको छ? भन्ने प्रश्नको जवाफमा उनले भनिन्, 'नेपाली कलाकारको प्रतिभा पनि उस्तै हो। उनीहरूसँग स्टेज, कोरस, कस्ट्युम, लाइट हुन्छन्।
यो कार्यक्रममा हामीले त्यो सबै पाएका छौं। हाम्रो लागि चुनौतीपूर्ण छैन।' नेपालमा आएर कार्यक्रम प्रस्तुत गर्नुचाहिँ उनीहरूका लागि चुनौतीपूर्ण हुनसक्ने उनको भनाइ थियो।
नेपालमा पहिलोपटक स्टेज कार्यक्रममा प्रस्तुत हुन लागेकी रेखा थापाले बलिउड कलाकारसँग प्रतिस्पर्धा होइन उनीहरूलाई नेपालमा स्वागत गर्नुपर्ने बताइन्। उनले महिला सशक्तीकरणको विषयमा आफ्नो प्रस्तुति केन्द्रित हुने बताइन्। अभिनेत्री निशा अधिकारीले कार्यक्रम नेपाली र भारतीय कलाकारको सामूहिक उत्सव भएको बताइन्।
निशा र सुषमाले आफूहरूले आकर्षक आइटम नम्बरमा नृत्य प्रस्तुत गर्ने जानकारी दिए। गायिका इन्दिरा जोशीले करिब २५ मिनेट आफ्ना चर्चित नृत्यले दर्शक नचाउने बताइन्। कार्यक्रमको सञ्चालन सहाना वज्राचार्यले गर्ने भएकी छन्।
सोनाक्षी र मलाइका वैशाख ३१ गते काठमाडौं आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। उनीहरूका साथमा डेढ दर्जन कलाकार पनि नेपाल आउँदैछन्।
सैनिक श्रीमती संघको आयोजनामा हुने कार्यक्रमलाई अल्पेन ग्लो इभेन्ट्सले व्यवस्थापन गर्दैछ।
करिब अढाई घन्टा लामो कार्यक्रमका लागि पाँच सयदेखि सात हजार रुपैयाँसम्मको टिकटको व्यवस्था गरिएको छ। कार्यक्रममा ६० हजार दर्शकको उपस्थिति रहने अल्पेन ग्लोकी कार्यक्रम संयोजक देशल लामाले अनुमान गरिन्।
बलिउड कलाकारले अन्तर्राष्ट्रियस्तरको स्टेज, कोरस, साउन्ड सिस्टम तथा लाइटका साथमा कार्यक्रम आयोजना गरिने उनले बताइन्। करिब एक करोड खर्च गरेर आयोजना गरिने कार्यक्रमबाट संकलित रकम भूकम्पपीडितको सहयोगका लागि खर्च गरिने आयोजकले जनाएको छ।
सात नेपाली कलाकारका साथमा सोनाक्षी र मलाइका
Reviewed by marumala srinu
on
10:43 PM
Rating:
Reviewed by marumala srinu
on
10:43 PM
Rating:

No comments: