विहारमा मदिरा प्रतिबन्ध भएपछि भारतीयहरु नेपाली बजारमा
रिक्सा चालकदेखि प्रहरी अधिकारीसम्म मदिरा सेवन गर्न आउँछन्
नितिश कुमार मुख्यमन्त्री भएको भारतको विहार राज्यमा मार्च ३० तारिखमा शरावबन्दीको कानुन पारित भयो । विधानमण्डलमा विहार शंसोधन विधेयक, २०१६ सर्वसम्मत रुपमा पारित भएको थियो । त्यसपछि, अप्रिल १ तारिखदेखि यो कानुन लागू भयो ।
कानुनतः मदिरा उत्पादन, बिक्री–वितरण वा सेवन गरे १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म र १० वर्षसम्म कैद सजायको व्यवस्था समेत छ । यस्तो कानुन पारित भएपछि अहिले भारतीय मदिरा सेवनकर्ताहरु सीमावर्ती ग्रामिण भेगको नेपाली पसलहरुमा आएर मदिरा सेवन गर्ने गरेको पाइएको छ । खुल्ला मदिरा बिक्रीका कारण उनीहरुलाई मदिरा सेवनका लागि नेपाली सिमावर्ती क्षेत्र उत्तम विकल्प भएको हो ।
विहारमा अहिले यो कानुन निक्कै कडाइका साथ लागू गरिएता पनि नेपाली बजारमा विहारका स्थानीयदेखि प्रहरीका अधिकारीहरुसम्म मदिरा सेवन गर्न आउने गरेको भारतसँग सिमा जोडिएको झापाको लसूना बोर्डरका एक स्थानीयले नाम नबताउने सर्तमा जानकारी दिए । उनले हामीलाई एक प्रहरीले मदिरा खरिद गर्दै गरेको तस्वीर समेत उपलब्ध गराएका छन् ।
मदिरा सेवनका कारण विहार राज्यमा अपराध बढेको र नागरिकले घरपरिवारलाई वेवास्ता गरेको भन्दै त्यहाँ मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । मदिरा प्रतिबन्ध भएपछि विहारसँग सिमा जोडिएको नेपाली बजार लसुना र झापा बजारमा भारतीय ग्राहकलाई लक्षित गरी होटलहरु खुल्ने क्रम बढेको छ ।
हाल लसुना र झापा बजारमा करिब एक दर्जन होटल खुलिसकेका छन् भने त्यति नै सङ्ख्यामा खुल्ने क्रममा रहेका छन् ।

No comments: