फालिएका बच्चा पाल्दै सत्यनारायण
जनकपुर- अंग्रेजी विषयमा स्नातकोत्तर गरी प्राध्यापन पेसामा अगाडि बढेर पनि अन्ततः साधुको जीवनमा फर्केपछि समाजले असफल व्यक्तिको श्रेणीमा राख्नुपर्थ्यो। तर, उनी गरिबदेखि धनाढ्य परिवारका लागि पनि आदर्श व्यक्तित्व कहलिए। धेरैले भगवानको अर्को अवतार भनेर सम्मान गर्दैछन्। कतिले समाजका पथदर्शक भनेर पुज्छन्। उनी हुन्, महोत्तरी बिजलपुराका ४२ वर्षे सत्यनारायण महतो कुशवाहा। हाल उनी सत्यनारायण आलोक भनेर चिनिन्छन्।
परिवारै शाकाहारी रहेको हुँदा स्वभावले नै बाल्यावस्थादेखि पूर्ण शाकाहारी रहेका सत्यनारायण १८ वर्ष कटेपछि लहैलहैमा केही महिनासम्म माछामासु खाए, तर फेरि शाकाहारी भए। जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेपछि यहीँका निजी कलेजमा अध्यापन गराउन थाले। केही वर्ष यस्तै बित्यो।
कबिरपन्थी परिवारमै जन्मेका हुनाले स्नातकोत्तर गरेर पनि उनको मन कबिरको अनुयायीकै रुपमा रमाइरह्यो। उनी आधा समय कलेजमा विद्यार्थीसँग खर्चन्थे भने बाँकी समय बित्थ्यो, ग्रामीण भेगका परम्पराकालीन कबिरपन्थी समुदायलाई प्रवचन सुनाउन। बिहेबारी गरेर सांसारिक जीवनबारे उनको ध्येय नै गएन। यस्तै क्रममा उनले झाडीमा फ्याँकिएका बच्चाको भविष्य खोज्न थाले। अहिले ४२ वर्षको हुँदासम्म ९ जना बच्चाको लालनपालन जिम्मेवारी टाउकोमा थोपरिदिएपछि अध्यापन छुटेको छ। आफ्नै जिन्दगी पनि बिर्सिसकेका छन्, सद्गुरु कबिर अनाथ बाल बात्सल्य आश्रममा लागेर।
२०६६ साउन २९ गते जनकपुरको प्रसिद्ध संस्कृत विद्यालय ज्ञानकुपको अगाडि सडकमुनिको ह्युमपाइपमा सालनालसहितको शिशु फेला पर्योज। आफू बस्ने ठाउँनजिकै त्यस्तो घटना देखेपछि आलोकको मन थामिएन। उनले बच्चालाई आफूले पाल्ने भन्दै डेरामा ल्याए। कबिरपन्थी समुदायको परम्परा अनुसारै छ दिनपछि शिशुको न्वारन गरी देशना आलोक नामकरण गरे। त्यहीँबाट आलोकको डेरा अनाथ आश्रमका रुपमा स्थापित हुँदै गयो।
देशना आएको एक वर्षपछि २०६७ साउन ११ जनकपुरकै रंगभूमि मैदान बाह्रबिघाको झाडीमा अर्को सालनालसहितको शिशु भेटियो। आलोकले बेवारिस बच्चा भेटिए। आफूले पाल्ने घोषणा गरिसकेकाले तत्कालै उनलाई खबर आयो। उनले ती शिशुलाई पनि न्वारन गरी साधना आलोक नामकरण गरिदिए। हुँदाहुँदा १३ जना बच्चा आश्रममा थोपरियो। तर, कुनै कठ्यांग्रिदो चिसोमा सालनालसहित फालिएको त कुनै नदीकिनारमा बोराले बेरेर मिल्काइएकाले सबैको स्वास्थ्य स्थिति नाजुकै थियो। अहिलेसम्म अत्यन्त खराब स्वास्थ्य भएका चार जनाको मृत्यु भएको छ भने दुई छोरासहित ९ जना आश्रममा छन्।
तीमध्ये चार जना विद्यालय जान थालेका छन्। एक छोरा र तीन छोरीलाई जनकपुरको मोनास्टिक उच्च माविले निःशुल्क पढाइ दिइरहेको छ। एकजना भर्खर ८ महिनाकी भइन्। अन्य तीन जना टिबी लागेर रुन्च्यासे छन्। उनीहरुको नियमित उपचार भइरहे पनि अस्वस्थ गर्भ र जन्मेपछि पनि गरिएको भौतिक हेलाका कारण शारीरिक विकास हुन नसकिरहेको आलोक बताउँछन्।
बच्चाहरुको लालनपालनमा लाग्ने खर्च जोहो गर्ने समस्या त छँदैछ। त्योभन्दा पनि बच्चाको स्याहार गर्ने अभिभावक अभावले बढी तनाव झेल्नुपरिरहेको आलोकको दुखेसो छ।
'नौ जना बच्चा। सबै काखमै खेल्ने उमेरका। उनीहरुलाई नुहाउने, खाना खुवाउने, लत्ताकपडा धुने र स्कुल पठाउने,' आलोक भन्छन्, 'कसरी साध्य हुन्छ एक्लो?' उनले आश्रम स्थापनाकालदेखि पाएका सहयोगी (निरादेवी) नभइदिएको भए आफूले केही गर्न नसक्ने बताउँछन्। मुख्य कुरो बच्चाहरुको छाक धान्न समाजलाई प्रवचन सुनाएर आर्थिक जोहो गर्छन् आलोक। उनी बाहिर गएका बेला सबैलाई स्याहार्ने एक्ली हुन्छिन्, तिनै माता, निरादेवी।
'एक त बच्चालाई स्याहार्ने मान्छे नै पाइँदैन,' उनी भन्छन्, 'पाइहाले पनि बच्चाहरुलाई माया गर्ने हुँदैनन्।' बच्चालाई हप्काउँदा आफूले सहन नसकेर तिनीहरुलाई धपाइदिने गरेको उनी बताउँछन्। आलोकले 'माता' भनेर सम्बोधन गर्ने निरादेवी नौ जनाकै आमा हुन्। धर्मआमा। 'तर, बच्चाहरुका लागि जन्म दिने आमा नै हुन्। उनी नभएको भए आज ती बच्चा एउटै संसारमा हुँदैनथे' भन्दै आलोक भावुक भए। आलोकले आफू पर्दाको हिरो भए पनि आश्रमको असली अभिभावक निरादेवीलाई नै मान्छन्।
दुई छोराछोरीकी आमा ४४ वर्षे निरादेवीले तिनै झाडीमा फ्याँकिएका बच्चाको जीवनमा आफ्नो भविष्य देख्छिन्। छोरीज्वाइँ काठमाडौंमा कारको एजेन्सी चलाइरहेका छन्। एक्लो छोरा अमेरिकामा एरोनोटिकल पढेर उतै सेटल भइसके। छोराछोरीले आफूतिर बोलाउँदा पनि ती सुख त्यागेर आमाबाबुविहीन शिशुहरुको धर्मआमा बन्ने सौभाग्य पाउनुमा उनी रमाउँछिन्। भन्छिन्, 'आफ्ना लागि त सबैले गर्छन्, कोही नहुने अरुका लागि गरे पनि गरेको भन्न मिल्छ।'
आलोकले यतिका बच्चाको भविष्य सुनिश्चित गरेपछि अब अनाथ आश्रमको विकास गर्नुपर्ने सोचको आवश्यकता नपरोस् भनेर चाहन्छन्। 'अनाथ आश्रम चलाएर पनि म यो आश्रमको विरोधी हुँ। यसका लागि हरेक परिवारले आफ्नो बच्चा जस्तै कम्तीमा एकजना अर्काको बच्चा पनि हुर्काउँछु भनेर सोचिदिए समाजमा यस्तो समस्या थपिँदैन,' उनी भन्छन्।
कसरी चल्छन् आश्रम?
फुसकै घरमा सुरु भएको आश्रममा गर्मी र वर्षायाममा निकै कठिनाइ हुन थालेपछि तीनकोठे अधुरो घर निर्माण गरिएको छ। यसका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले तीन लाखको कागजात बनाए पनि करिब डेढ लाखजतिको काम गरिदियो। एक लाख ९४ हजार पर्यटन मन्त्रालयले र पाँच लाख काठमाडौंका एक जना व्यवसायी भरत अधिकारीले उपलब्ध गराइदिए। एक लाख जनकपुरको मोडेल मल्टिपल कलेज, ८८ हजार एमाले सांसद शीतल झा र ५० हजार रामसपा सांसद दिनेश साहले उपलब्ध गराएको आलोकले बताए। जनकपुरकै दुई जना परिवारले दुई हजार र तीन हजारको दरले बच्चाहरुलाई दूध खान भनेर मासिक रुपमा उपलब्ध गराइरहेका छन्।
जिल्ला विकास समिति र नगरपालिकासँग बच्चाहरुको लालनपालनका लागि नियमित सहयोग गरिदिन छ वर्षदेखि धाए पनि अहिलेसम्म वास्ता नगरेको गुनासो आलोकको छ। आर्थिक अभावकै कारण अब बेवारिस बच्चा पाए पनि आश्रममा ल्याउन सकिने अवस्था नरहेको बताउँछन्। यसका लागि सरोकारवाला निकायले आवश्यक बन्दोबस्त गरिदिए समाजको लागि राम्रो हुने स
फालिएका बच्चा पाल्दै सत्यनारायण
Reviewed by marumala srinu
on
10:44 PM
Rating:

No comments: