Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रुघाखोकीले मर्ने २० पुगे

हुम्ला- जिल्लामा फागुनदेखि फैलिएको रुघाखोकी नियन्त्रण नहुँदा २० जनाको ज्यान गएको छ। यसमध्ये १८ जनाको वैशाखमा मृत्यु भएको हो। दुईजनाको अघिल्ला दुई महिनामा मृत्यु भएको थियो।
रुघाखोकीका कारण वैशाखमा स्याँडाका ९, रायाका ७, रोडिकोटका २ र मदनाका २ जनाको ज्यान गएको छ। १ हजार ५ सय भन्दा बढी बिरामी परेका छन्। २७ गाविस भएको हुम्लामा अहिले रुघाखोकीका बिरामी नभएको गाउँ भेट्न मुस्किल छ। स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुँदा र स्वास्थ्यकर्मी नबस्दा रुघाखोकी नियन्त्रणमा आउन नसकेको स्थानीयको दाबी छ।
लामो समय रुघाखोकीले थला परेका बिरामी वैशाख सुरुसँगै मर्न थालेका हुन्। रुघाखोकीजन्य रोगका कारण वैशाख लागेपछि १२ गतेसम्म राया, स्याँडा र मदनामा गरी १८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त प्रमुख अमरद्विप देवले जानकारी दिए। राया गाविसमा दुई दम्पतीसहित ७ जनाको ज्यान गएको छ। स्याँडामा एकै घरमा तीन जनासहित ९ जनाको मृत्यु भएको स्याँडा स्वास्थ्य चौकी इन्चार्ज खडानन्द न्यौपानेले बताए। मृत्यु हुनेमा अधिकांश ५० वर्ष माथिका रहेको जिल्ला स्वास्थ्य कार्यालय, हुम्लाले जनाएको छ। कार्यालयका निमित्त प्रमुख देवका अनुसार रुघाखोकीबाट ज्यान जानेमा राया २ का ६६ वर्षीय सर्पजित रावल, ५ का ३७ वर्षीय विष्णु रावल, ६ का ६३ वर्षीय हिरा रावल, ८ का ६४ वर्र्षीय जस रावल, ७ का ८६ वर्षीया रिउली रावल, ८ का ६० वर्षीय चीनाकली रावल र ६ का ७६ वर्षीय सिरे रावल छन्।
रुघाखोकीका कारण स्याँडा ५ का एकै घरका ६४ वर्षीया भ्याल्ली रोकाया, ८० वर्षीय जप्ते रोकाया र ७२ वर्षीय भोटाने रोकायाको ज्यान गएको छ। त्यस्तै स्याँडा ५ का ९४ वर्षीया ढाली बुढा, ८ का ७५ वर्र्षीय पाथे शाही, ४ का ८४ वर्षीय लामती बुढा, ६ का ७२ वर्षीय भद्रवीर बुढा ८ का ५८ वर्षीय छत्र शाहीलगायतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नौमध्ये सातजनाको अघिल्लो एक साताको अवधिमा ज्यान गएको हो। स्याँडा ३ की ८० वर्षीया हासु भग्रीको लडेर ज्यान गएको दाबी जिल्ला स्वास्थ्य कार्यालयले गरे पनि स्थानीय छक्क बुढाले उनी चैतदेखि रुघाखोकीले थलिएको बताए। स्याँडामा रुघाखोकीका बिरामी नभएको घर प्रायः नभएको बुढाले बताए।
सुरुमा नाक, कान घाँटी दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने हल्का पखाला लाग्ने र श्वास फेर्न गाह्रो हुने लक्षणसहितको रुघाखोकी मदनामा दुई जनाको मृत्यु भएको छ। मदना ५ का ६५ वर्षीया वेलकला रावल र ६ का ५५ वर्षीय मनसिंह बैजीको मृत्यु भएको स्थानीय शिक्षक सिंहबहादुर बुढाले बताए। रुघाखोकीले मदनामा ५० भन्दा बढी थलिएका छन्। सिंहबहादुरका अनुसार सदरमुकाम सिमकोटदेखि ४८ कोषो दुरीमा रहेको मदनास्थित स्वास्थ्य संस्थामा पर्याप्त औषधि र स्वास्थ्यकर्मी नहुँदा रोग नियन्त्रण हुन सकेको छैन। रोडिकोटमा वैशाखको पहिलो साता ५८ वर्षीया रिउली रोकाया र ६१ वर्षीया कलनधरा रोकायाको ज्यान गएको छ। रोडिकोटमा हरेक घरमा कम्तीमा १ जना रुघाखोकीका बिरामी भएको कल्पना रोकायाले बताइन। उनका अनुसर रोडिकोटको राहदेवमा मात्रै ७० जनाभन्दा बढी बिरामी छन्।
अतिप्रभावित क्षेत्रमा औषधिसहित डाक्टर
वैशाख लागेपछि रुघाखोकीले जिल्लामा १८ जनाको ज्यान गएपछि जिल्ला स्वास्थ्य कार्यालयले अतिप्रभावित राया र स्याँडामा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ। डाक्टर छवि बास्तोलाको नेतृत्वमा औषधिसहित टोली प्रभावित क्षेत्रमा पठाएको उक्त कार्यालयका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताए। रायामा बास्तोलाको नेतृत्वमा र स्याँडामा सिनियर अहेब हरिभक्त शाहीको नेतृत्वमा टोली पठाइएको छ। राया र थालीमा ४ सय ७८ जनाको जाँच गरिएकोमा ३ सय ४५ मा रुघाखोकी लक्षण, ८३ जनामा झाडापखाला लक्षण र ९ जनाको दिसामा रगत देखिएको जानकारी डा. बास्तोलाले दिए। स्याडाका बिरामीको स्वास्थ्य परीक्षण गर्दा अधिकांशमा रुघाखोकीको लक्षण देखिएको सिनियर अहेब शाहीले बताए।
रुघाखोकीको असर जिल्लाभरि
जिल्ला साउन अन्तिम सातादेखि पर्याप्त वर्षा भएको छैन। वर्षा नहुँदा सुक्खा बढेसँगै फागुनदेखि फैलिएको अनौठो प्रकारको रुघाखोकीले जिल्लाका प्रायः गाविस प्रभावित छन्। चीनको स्वशासित क्षेत्र तिब्बतसँंग सीमा जोडिएको लिमी गाविसमा भने रुघाखोकी बिरामी पाइएका छैनन्। रोडीकोटका प्रकाश हमालले स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुनु र स्वास्थ्यकर्मी पनि नबस्दा रोग नियन्त्रणमा आउन नसकेको बताए। रोडिकोट, गोठी, साँया, सर्किदेउलगायत गाविस रुघाखोकीबाट प्रभावित भएको जिविसकी सामाजिक परिचालक बसन्ती शाहीले बताइन्। स्वास्थ्य संस्थामा गए पनि स्वास्थ्यकर्मीले औषधि नभएको भन्दै फर्काउने गरेको गोठी २ का मानसिहं विकले बताए। रुघाखोकीले श्रीनगर १ माा मात्रै ३० जनाभन्दा बढी बिरामी भएको महिला कल्याण सेवामा कार्यरत पवित्रा देवकोटाले बताइन्। श्रीनगर ८ स्थित सामुदाकिय स्वास्थ्य क्लिनिकका इन्चार्ज प्रकाश मल्लले गाउँका हरेक घरमा बिरामी भएको तर औषधि कम भएकाले दिन नसकिएको बताए। रुघाखोकीले जैरमा २ सय भन्दा बढी बिरामी परेको इलाका प्रशासन कार्यालय, सर्केघार्डका नासु भिमबहादुर रोकायाले बताए।
सिमकोट नजिकैको खार्पुनाथ स्वास्थ्य चौकीकी अनमी श्यामकुमारी शाहीका अनुसार अहिले दिनहुँ १० जनाभन्दा बढी उपचारका लागि आउँछन्।
जिल्ला नछाड्न निर्देशन
रुघाखोकीबाट जिल्लामा वैशाखमा मात्र १८ जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्णबहादुर घिमिरेले यस्तो निर्देशन दिएका हुन्।

रुघाखोकीले मर्ने २० पुगे Reviewed by marumala srinu on 7:38 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.