संघीय गठबन्धन पनि ३३ दलीय मोर्चा बन्ने खतरा
काठमाडौं । तराई–मधेसमा सात महिना बढी आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले वैशाख १५ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर कोणसभा, जुलुस प्रदर्शन, र्याली जस्ता आन्दोलनको कार्यक्रम संघीय गठबन्धनले गरेको छ ।
सात महिनाको मधेस आन्दोलनमा चार महिना मधेसमा कठोर आन्दोलन गरेको चार दलीय मोर्चाले नै अहिले २७ दलीय गठबन्धन बनाएर आन्दोलनको घोषणा गरेको छ । चार महिना कठोर आन्दोलन गर्दा पनि आफूहरुको माग पूरा नभएको भन्दै मोर्चाले अबको आन्दोलन मधेसमा मात्र केन्द्रित नगरी राष्ट्रब्यापी बनाउने घोषणा गरेको छ ।
भारतीय नाकामा धर्नादेखि तराई–मधेसमा अनिश्चितकालिन हड्तालका क्रममा ५५ जना भन्दा बढी निर्दोष नागरिकले ज्यान गुमाए । त्यही चार दलीय मधेसी मोर्चाले सात दलीय मोर्चा हुँदै अहिले २७ दलीय संघीय गठबन्धन बनाएको छ ।
शान्तिबाटिकामा झुल्किने विचित्रको मोर्चा
मधेसी मोर्चाले जस्तै यसअघि मोहन वैद्य नेतृत्वको माओवादीले पनि ३३ दलीय मोर्चा गठन गरेर आन्दोलन गर्यो । त्यो मोर्चा अहिले पनि विघटन भएको छैन । ३३ दलीय राष्ट्रिय मोर्चाको संयोजक पनि माओावादी अध्यक्ष वैद्य नै छन् । त्यो मोर्चा अहिले पनि बेला बेलामा रत्नपार्कको शान्तिबाटिकामा झुल्किने गर्छ ।
वैद्यकै ३३ दलीय मोर्चामा रहेका केही दलहरुले असन्तुष्टी समानान्तर ३३ दलीय मोर्चा बनाएका छन् । उनीहरुले पनि आफ्नो मोर्चामा ३३ दल रहेको भन्दै ३३ दलीय राष्ट्रिय मोर्चा नै नाम दिएको छ । ती ३३ दलीय मोर्चाको आन्दोलनको केन्द्र भनेको रत्नपार्कको शान्ति बाटिका हो । उनीहरुले शान्तिबाटिकाका सडकमा हिड्ने बटुवाहरु हुने भएकाले पनि त्यो ठाउँलाई आन्दोलनको केन्द्र बनाउने गरेका छन् । तर ती दुवै ३३ दलीय मोर्चाको आन्दोलनमा ३३ जना कार्यकर्ता पनि सडकमा देखिदैनन् ।
३३ दलकै नेताहरु संघीय गठबन्धनमा
वैद्य माओवादी नेतृत्वको मोर्चा तथा उनै वैद्यसँग अनुसन्तुष्ट समानान्तर मोर्चाकै नेताहरु अहिले मधेसी मोर्चा नेतृत्वको संघीय गठबन्धनमा आवद्ध छन् । यसअघि उनीहरु नै कहिले वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, कहिले वैद्य विरोधी समानान्तर ३३ दलीय मोर्चा त कहिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ३० दलीय मोर्चाका नेताहरु अहिले मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनमा छन् ।
३३ दलीय मोर्चामा रहेका संघीय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन समाजवादी पार्टी लगायतका दलहरु नै अहिले मधेस गठबन्धनतिर लागेका छन् । ३३ दलीय मोर्चामा रहेका केही नेताहरुलाई समेटेर विभिन्न प्रादेशिक संघर्ष समितिहरु बनाइएका छन् । ती सबै गरेर मोर्चाको अहिले २७ दलीय गठबन्धन बनेको छ ।
राष्ट्रब्यापी आन्दोलन घोषणा गरेको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले ‘काठमाडौं जाऔं, सिंहदरबार घेरौं’ भन्ने नारालाई उनीहरुले अभियानकै रुपमा प्रचार गर्ने र जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन् ।
एकाध कार्यकर्ताहरु पनि नभएका ब्यक्तिहरुको दललाई समेटेर बनाइएको मधेसी मोर्चाको गठबन्धनले आन्दोलन चर्काउँछ भन्नेमा सरकारलाई मात्र होइन, आम नागरिकसमेत विश्वस्त छैनन् । लामो समय मधेसमा मात्रै केन्द्रित भएको आन्दोलनलाई पूर्णता दिन नसकेको मधेसी दलहरुले राष्ट्रिय आन्दोलन चर्काउन सक्ने सम्भावना देखिएको छैन ।
संघीय गठबन्धन पनि ३३ दलीय मोर्चा बन्ने खतरा
Reviewed by marumala srinu
on
3:34 AM
Rating:
Reviewed by marumala srinu
on
3:34 AM
Rating:

No comments: