Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पीडामा मुस्कुराएको नेपाली क्रिकेट

काठमाडौं: कुलेश्वरका ११ वर्षीय विष्णु शर्मा क्रिकेट भनेपछि हुरुक्क हुन्छन् । भर्खर कक्षा ४ को फाइनल परीक्षा सकेका उनी अहिले फुर्सदमा छन्। विष्णु एक महिना अघिदेखि कीर्तिपुरमा आयोजना भएको वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको व्यग्र प्रतीक्षामा थिए। 
 
नेपाल र नामिबियाबीचको दुईवटै खेलको मजा लिएका उनलाई नेपाली क्रिकेटको विवादबारे भने त्यतिसारो ज्ञान छैन। स्कुलको छुट्टीमा उनी घरसँगैको सानो चौरमा क्रिकेट खेल्छन्। कहिलेकाहीँ साथीसँग टुँडिखेलमा क्रिकेट खेलेर रमाउने गरेका उनले कीर्तिपुरमा हजारौं दर्शकको बीचमा बसेर पहिलोपटक ठूला प्रतियोगिता हेरेका हुन्।
 
सोमबार हातमा नेपालको झन्डा र छक्का चौका लेखेको प्ले कार्ड बोकेका विष्णुको मन पर्ने खेलाडी कप्तान पारस खड्का र सोमपाल कामी हुन् ।'पारसको ब्याटिङ र सोमपालको बलिङले मलाई लोभ्याउने गर्छ। पारस दाइको खेल देखेर मलाई पनि क्रिकेट खेल्ने रहर लागेको हो', विष्णुले अन्नपूर्ण पोस्ट्को जिज्ञासामा भने । यसैगरी यसअघि नेपालमा यो खेल हुने वा नहुने भन्ने दोधारको समाचार सुनेका काठमाडौं कपनका ३० वर्षीय शंकर बास्तोलाले नेपालमै प्रतियोगिता हुने निश्चित भएपछि खुसीले उफ्रिएको बताए।

‘क्यानको विवादका कारण खेल हुन्न भन्ने समाचार सुन्दा चिन्तित थिएँ । माइक्रोबसमा झुन्डिएर गाह्रो गरी कीर्तिपुर आएको छु । अस्ति टेलिभिजनमा हेरेँ । आज टिकट त लिएको छैन। बाहिरै उभिएर भए पनि आजको खेल नहेरी छाड्दिनँ । गलामा नेपालको झन्डा बनाएर र हातमा नेपाल लेखेको प्ले कार्ड बोकेर टीयू गेटतर्फ लम्कँदै गरेका शंकरले भने। 
 
कीर्तिपुरकै स्थानीय सुजन महर्जनले घरेलु मैदानमा हजारौंको भीडमा बसेर खेल हेर्न पाउँदा आफूलाई भर्खर सकिएको टीट्वेन्टी विश्वकप र भारतमा जारी आईपीएलभन्दा सयौं गुना खुसी लागेको प्रतिक्रिया दिए।'म यो खुसीलाई शब्दमा बयान गर्न सक्दिनँ । दुवै दिन नेपालले मन छुने खेल खेल्यो । आज पारस र शरद भेषावकरले नेपाललाई जित दिलाएरै छाडे', सुजनले भने।
 
कीर्तिपुर मैदानमा क्रिकेट खेल्न सुरु भएदेखि नेपाली क्रिकेटमा भिजेका सुजन पछिल्लो समय क्रिकेट संघका देखिएको विवादबारे पनि उत्तिकै जानकार रहेछन्।'खेलाडीको प्रदर्शन र दर्शकको उत्साह यस्तो छ। 
 
नेपालमा दुईवटा क्रिकेट संघ बनाइनु सरासर बेइमानी हो', सुजनले भने । विष्णु, शंकर र सुजन कीर्तिपुरमा भेटिएका प्रतिनिधि पात्रमात्र हुन्। सार्वजनिक यातायातमा झुन्डिएर कीर्तिपुर पुगेका २० औं हजार दर्शकको भीडलाई थेग्न टीयूको मुख्य गेटदेखि मैदानसम्मको खाली ठाउँ अपुगजस्तै बन्यो।
 
कीर्तिपुरमा क्रिकेट हेर्न जाने अधिकांश दर्शक औसत ३० वर्षे युवा र विद्यार्थी थिए । ईसेवामार्फत एक सय रुपैयाँको टिकट किन्न पाएका दर्शकले भित्र र टिकट किन्न नपाए पनि हजारौं सर्मथकले बाहिरबाट खेल अवधिभर नेपाली क्रिकेटरलाई माया गरिरहे। 
 
चर्को घामको पर्वाह नगरी नेपाल नेपाल नेपाल भन्दै चिच्याइरहे। नेपालको झन्डा, नेपाली टिमको जर्सी र हातमा टोलीको समर्थनका लागि बोकेको छक्का र चौकाको प्ले कार्डको दृश्यले नेपाली क्रिकेटको नेतृत्व सम्हालेका पदाधिकारी, क्यान व्यवस्थापन र आईसीसीका अफिसियललाई समेत गिज्याएको भान हुन्थ्यो । घरेलु झगडामा रुमल्लिएको क्यानको दुईवटै कमिटीका पदाधिकारीको उपस्थिति भने कीर्तिपुर मैदानमा शून्यजस्तै रह्यो।
 
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमेत नेपाली खेलाडीलाई उत्साह थप्न कीर्तिपुर पुगेका थिए । प्रधानमन्त्री कीर्तिपुर गएकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको क्यान तदर्थ समितिका संयोक रमेश सिलवाल प्रधानमन्त्रीको सहयोगीका रूपमा कीर्तिपुर पुगेका थिए। 
 
नेपालले खेल जितेपछि रमेशले मैदानमै गएर खेलाडीलाई बधाई भने दिन भ्याए। तर हाल अस्तित्वमा रहेका दुवै क्यानका अधिकांश पदाधिकारी भने गुमनामजस्तै रहे । अस्तित्वमा देखिएका दुवै क्यानका अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई आईसीसीले एकएकवटा प्रवेश पास उपलब्ध गराए पनि ती पदाधिकारी खेलाडीको समर्थन गर्न कीर्तिपुर पुगेनन्।
 
‘नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप हावी छ । पछिल्लो समय प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शीर्ष राजनीतिक दल एमाले, कांग्रेस र एमाओवादीका शीर्ष नेताकै आडमा नेपाली क्रिकेटलाई बन्दी बनाउने काम भइरहेको छ', क्रिकेटप्रेमी सुजन भन्छन्,'नेपाली खेलकुदको अभिभावक राखेपले समेत राजनीतिकै आडमा लामो समयदेखि क्रिकेटमा विवाद जन्माएको छ। 
 
राखेपले क्यानमा दुईवटा समिति खडा गरेर क्रिकेट खेल र खेलाडीलाई धराशयी बाटोमा लैजाने काम गरेको छ।नेपाली राजनीति र क्यान पदाधिकारीको कमजोरीका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समेत नेपाली क्रिकेटमा हस्तक्षेप गर्नुपर्ने अवस्था उत्पन्न भएको छ। 
 
आईसीसीले यही च्याम्पियनसिपमा खेलाडी छनोट, पुवुदु दासानायकेलाई सल्लाहकार प्रशिक्षक बनाउने, नेपाललाई उपलब्ध हुने आर्थिक सहयोग रोक्नेदेखि अन्य विषयमा समेत हस्तक्षेप गरिरहेको छ। तर, ठूला प्रतियोगिता आयोजना र सहभागिताको व्यवस्थापनमा सरकारको आर्थिक खर्च भने भइरहेकै छ।
 
सरकारले समयमै क्यानको व्यवस्थापन, खेल भावना र खेलाडीको प्रदर्शनलाई मनन गरेर समस्याको गाँठो फुकाउन आवश्यक छ। आईसीसीले आइतबारमात्र पत्रकार सम्मेलनमार्फत अस्तित्वमा रहेका दुवै क्यानलाई मिलेर अगाडि बढ्न गरेको आग्रह र नमिलेमा नेपाललाई प्रतिबन्ध गर्नसक्ने चेतावनीसमेत दिएकाले सम्बन्धित पक्षले समयमै यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ। 
 
नेपालले यही प्रतियोगिताअन्तर्गत आगामी वर्ष केन्यासँग हुने खेल फेरि घरेलु मैदानमा खेल्न पाउनका लागि पनि क्यानको विवाद अन्त्य हुनु जरुरी छ। अन्यथा कीर्तिपुरमा उत्रिएको हजारौं नेपाली क्रिकेट समर्थकको उत्साह र खुसी छिटै पीडामा बदलिने निश्चित छ।


पीडामा मुस्कुराएको नेपाली क्रिकेट Reviewed by marumala srinu on 10:02 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.