Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कहाँ जान्छ ग्यास ?

काठमाडौं–भारतीय नाकाबन्दीमा असहज बनेको ग्यास आपूर्ति नाकाबन्दी खुलेको तीन महिना भइसक्दा पनि सुध्रिन सकेको छैन। आयात बढेपछि उद्योगीले हरेक ग्राहकलाई १–१ थान ग्यास पुर्याउने योजना सहित क्षेत्रगत आधारमा बिक्री गरे पनि उपभोक्ता अझै असन्तुष्ट छन्।

वैशाख पहिलो साता काठमाडौ, ललितपुर, भक्तपुरका हरेक ग्राहकलाई १–१ सिलिन्डर ग्यास दिने योजना बनाए पनि सबैले पाउन नसकेको गुनासो छ । उद्योगीले सार्वजनिक गरेको पालो अनुसार बिक्रेताकहाँ पुग्दा रित्तो हात फर्किन परेपछि केही उपभोक्ता आक्रोशित भए । आफ्नै टोलमा ग्यास पाउने आसमा नयाँ बजारमा लाइन बसेकी अर्चना श्रेष्ठ घन्टौं लाइन बसेर रित्तो सिलिन्डर लिएर घर फर्किन् । 'सबैले ग्यास पाइन्छ भनेपछि बिहानैदेखि लाइन बसें,' श्रेष्ठले भनिन्, 'कोटा पुगेको भन्दै ग्यास नदिएपछि त्यसै फर्किएँ ।'

उद्योगीले चैत २९ देखि वैशाख ७ गतेसम्मलाई सार्वजनिक गरेको तालिका अनुसार ग्यास नपठाएको बिक्रेता बताउँछन् । अधिकांश उपभोक्ताले भान्छामा खाली रहेका सिलिन्डर भरेर राख्दा माग निकै बढेको दाबी छ । अहिलेको वितरणले सर्वसाधारणको पहुँचमा ग्यास पुगेको उद्योगीले दाबी गरिरहँदा कतिपय बिक्रेताको ग्यास नै नआएको कारण उपभोक्ताको चित्त बुझाउन नसकेको बताए । क्षेत्र तोकेअनुसार ग्यास नआएको कारण ग्राहकको चित्त बुझाउन नसकेका ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले बताए । 'कुनै डिपोमा ग्यास नै आएको छैन,' थापाले भने, 'ग्यास आपूर्ति कम र प्रयोगकर्ताको कार्ड नहुँदा समस्या बल्झिरह्यो ।'

उपभोक्ताका समस्यालाई मध्यनजर गर्दै एक साताको अवधिमा करिब दुई लाख सिलिन्डर बजारमा पठाएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । संघले शुक्रबार न्युरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लिबजार, ज्ञानेश्वर, मैतीदेवी लगायत क्षेत्रमा २५ हजार सिलिन्डर ग्यास पठाएको जनाएको छ । अहिलेको वितरण पद्धतिले सर्वसाधारण उपभोक्ताले ग्यास पाएको ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । 'विगतमा भन्दा अहिले साधारण उपभोक्ताले ग्यास पाएका छन्,' घिमिरेले भने, 'प्याकेजमा बिक्री गर्दा उपभोक्तामा सन्तुष्टि बढेको छ ।' एउटा ब्लकमा एकै दिन २५ हजार उपभोक्तले ग्यास पाउनु सामान्य विषय नभएको घिमिरेको दाबी छ ।

संघले भक्तपुर, काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहल, पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चावहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल, नयाँ बस्ती, ललितपुरमा एक चरण ग्यास बिक्री गरिसकेको जनाएको छ । तर, त्यस क्षेत्रका धेरै ग्राहकले ग्यास नपाएको गुनासो गरेका छन् । संघले सोमबार कलंकी, थानकोट, बल्खु, कीर्तिपुर, सतुंगल, कालीमाटी, बाफल, बालाजु, सीतापाइला, स्वयम्भु र मंगलबार महाराजगन्ज, बूढानीलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी, धुम्बाराही क्षेत्रमा वितरण गर्ने जनाएको छ ।

ग्यास आपूर्ति बढिरहँदा उपभोक्ताको गुनासो अहिले पनि आइरहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । 'लाइनमा बसेर खाली फर्किनु प¥यो भन्ने केही उपभोक्ताको गुनासो छ,' घिमिरेले भने, 'तर, धेरैले पाएका छन् ।'

माघमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट १४ हजार एक सय ९९ मेट्रिक टन ग्यास आयात भएकोमा फागुनमा २१ हजार ६ सय ८५ टन भित्रिएको थियो । चैतमा २७ हजार तीन सय ४८ टन आयात भएको नेपाल आयल निगमले जनाएको छ । आगामी महिना ग्यास बढाउन निगमले पहल गरिरहेको जनाएको छ । मासिक करिब ३० हजार मेट्रिक टन ग्यास आयात गर्ने निगमले मेमा करिब ३६ हजार टन ल्याउन पहल गरिरहेको जनाएको छ । 'बजारको ग्याप मेटाउन आयात बढाउन प्रयत्नशील छौं,' निगम प्रवक्ता घिमिरेले भने, 'ग्यास ढुवानी गर्ने बुलेटको समेत प्रबन्ध भइसकेको छ ।' ग्यास उद्योगीले अप्रिलको लागि ग्यासको कोटा बढाउन माग गरेको जनाएका छन् । मार्चमा ३० हजार एक सय ३५ टन आयात गरेकोमा अप्रिलको लागि ३६ हजार नौ सय १८ मेट्रिक टन माग भएको संघले जनाएको छ ।
कहाँ जान्छ ग्यास ? Reviewed by marumala srinu on 1:34 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.