Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

वर्षमा १५ लाख पटक भूकम्प

काठमाडौं: अघिल्लो र यस साता जापान, इक्वेडर, अफगानिस्तानलगायतका मुलुकमा आएका ठूला भूकम्पका कारण नेपाली पनि त्रसित बने-कतै नेपालमा फेरि गत वर्ष वैशाख १२ को जस्तै भूकम्प आउँछ कि भनेर । तर भूकम्पको भविष्यवाणी गर्न नसकिए पनि यसको विगतको प्रवृत्ति हेरेर वैज्ञानिकले नतर्सिन आग्रह गरेका छन्।
 
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा प्रत्येक वर्ष चार रेक्टर स्केलमाथिका भूकम्प ५० पटकभन्दा बढी गएका छन्। 'ती प्रत्येक भूकम्पका आफ्नै परकम्प आउँछन्,' अधिकारीले सोमबार अन्नपूर्णसित भने, 'वैशाख १२ गतेपछि मात्र नेपालीहरूको मानसिकतामा परिवर्तन भएर भूकम्पप्रति सजगता र भय बढेको हो।'
 
अधिकारीका अनुसार विश्वमा वर्षभरि १५ लाखपटक भूकम्प जान्छ । सामान्यतया प्रत्येक वर्ष विश्वमा कहीं न कहीं ८ रेक्टर स्केलका भूकम्प एकपटक गएको देखिन्छ । एक वर्षमा सातदेखि ७.९ रेक्टर स्केलका भूकम्प १५ पटक जाने गरेको अधिकारीले बताए। 
 
उनका अनुसार ६ देखि ६.९ रेक्टर स्केलसम्मका भूकम्प एक सय ३५ वटासम्म गएको अभिलेख छ। 'मध्यनेपालमा गत वैशाख १२ गते आएको भूकम्प दुई सय ५० वर्षपछिको हो,' उनले भने, 'वैशाख १२ पछि नेपालमा सानाठूला गरेर ३० हजारपटक भूकम्प गएका छन्।'
 
त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक तथा जियोटेक्निकल इन्जिनियर रञ्जन दाहालका अनुसार भूकम्प जानु पृथ्वीमा हावा चल्नु, वर्षा हुनु, हिउँ पर्नुजस्तै हो । 'भूकम्प कहिले जान्छ कसैले भन्न सक्दैन, तर तर्साउने कामभन्दा पनि सुरक्षित निर्माणका लागि सबैले सिकाउने काम गर्नुपर्छ।'
 
उनले जापानमा हालै गएको भूकम्पको सम्भावना वैज्ञानिकहरूले ३० वर्षमा ०.९ प्रतिशत मात्र छ भनेको उल्लेख गर्दै भने, 'तर भूकम्प आयो, जापानमा अहिले सिकोकु टापुको पूर्व नान्काई टफमा भूकम्प जाने सम्भावना वैज्ञानिकहरूले ३० वर्षमा ७० प्रतिशत भनेका छन्। अहिलेसम्म गएको छैन, पूर्वतयारी भने जोडतोडका साथ भइरहेको छ।'
 
 
सामान्यतया प्रत्येक वर्ष विश्वमा कही न कही ८ रेक्टरस्केला भूकम्प एकपटक गएको देखिन्छ। 
 
 
केन्द्र प्रमुख अधिकारी पनि विगतको तथ्यांक हेरेर भूकम्पसम्बन्धी सरसर्ती अनुमानसम्म गर्न सकिने बताउँछन्। उनले पूर्वी नेपालमा सन् १२५५ र सन् १९३४ मा महाभूकम्प गएको उल्लेख गरे।
 
'त्यसपछि २०४५ सम्म महाभूकम्प गएन, र २०४५ को महाभूकम्प होइन र त्यसपछि पनि गएको छैन,' उनले भने, 'हालसम्मको प्रवृत्ति हेर्दा एउटा ठूलो भूकम्प गएपछि त्यस्तै खालको भूकम्प जान सामान्यतया सयदेखि अढाइ सय वर्ष लाग्छ, तर कहिले जान्छ भन्न सकिन्न।'
 
मध्यनेपालमा सन् १३४२, १४०१, १६८१ र १८३३ मा महाभूकम्प गएका थिए। त्यसपछि गत वैशाख १२ गते ठूलो भूकम्प गएको हो । तर गोरखादेखि पश्चिम भारतको देहरादुनसम्म ठूलो भूकम्प नगएको पाँच सय वर्ष भएको छ। 'त्यस क्षेत्रमा अरू पाँच सय वर्ष ठूला भूकम्प नजाला, किटान गर्न सकिँदैन।'
 
भूकम्प शक्ति पनि यसको मापनमा ठूलो फरक पर्छ। अधिकारीका अनुसार ५ रेक्टर स्केलको भन्दा ६ रिक्टर स्केलको भूकम्प ३२ गुणा शक्तिशाली हुन्छ । त्यस्ते ६ भन्दा ७ रेक्टर स्केलमा पनि ३२ गुणै फरक पर्छ । तर ५ रेक्टर स्केलभन्दा ७ रेक्टर स्केल एक हजार गुणा शक्तिशाली हुन्छ।
 
नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको १० औं स्थानमा पर्छ। वैशाख १२ अघिसम्म पनि भूकम्पसम्बन्धी चेतना र चासो नभएका कारण सुरक्षातर्फ ध्यान नपुगेको अधिकारीको भनाइ छ। 'अहिले मानसिकता र उपलब्ध प्राविधिक सुविधाले गर्दा जनचेतना वृद्धि भएको छ, साथसाथै भय पनि,' उनले भने, 'डराउनुपर्ने अवस्था छैन, सबैले सुरक्षा सतर्कता अ पनाउनुपर्छ।'


वर्षमा १५ लाख पटक भूकम्प Reviewed by marumala srinu on 7:22 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.