Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

किन भयो क्रिकेट संघ (क्यान) निलम्बित

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आसिसी) ले सोमबार नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनलाई औपचारिकता दिएको छ ।

आइसिसी मुख्यालय दुबईमा बिहीबारदेखि बसेको बैठकबाट विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको हो । 

चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित र रमेश सिलवाल नेतृत्वको तदर्थ समितिबीचको विवादमा राष्ट्रिय खेलकुद परिषद (राखेप) समेत मुछिएपछि आइसिसीबाट यस्तो निणर्य आएको हो । राखेप र तत्कालीन क्यानका अध्यक्ष टंक आङबुहाङको असहमतिका बाबजुद बहुमत सदस्यको निर्णयबाट मंसिर २९ मा भएको निर्वाचनले चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । राखेपले त्यसलाई मान्यता नरहेको भन्दै पुस २४ मा सिलवालको अध्यक्षतामा तदर्थ समिति बनाएको थियो ।

राखेपको निर्णयविरुद्ध चन्द समितिले पुस २८ मा दायर गरेको मुद्दा अदालतमा विचाराधीन छ । लामो समयदेखि क्यानभित्रको कुशासन र आर्थिक अपारदर्शिताका कारण आजित रहेको आइसिसीले यसअघि नै नेपाली क्रिकेटलाई अघोषित निलम्बन गरिसकेको थियो । यही वैशाख ४ र ६ मा कीर्तिपुरमा सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको खेल आइसिसीले आफै आयोजना गरेको थियो । नेपाली क्रिकेट प्रशासनलाई पूर्ण रूपमा बेवास्था गर्दै क्यानकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरे र राखेपको सहयोग लिएर आइसिसीले कीर्तिपुरमा खेल आयोजना गर्दा नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी समेत आफ्ना प्रतिनिधि बैंकटपति राजुलाई दिएको थियो ।

त्यही खेलका लागि नेपाल आएका आइसिसीका ग्लोबल डेभलपमेन्ट डाइरेक्टर टिम एन्डरसनले वैशाख ५ मा पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट सञ्चालनका लागि कुनै आधिकारिक निकाय नभएको बताएका थिए । उनले अदालतको निर्णय आएपछि समिक्षा गरेरमात्र आइसिसीले त्यसबारे धारणा राख्ने बताएका थिए ।

त्यही अघोषित निलम्बनलाई सोमबार औपचारिकता दिने क्रममा आइसिसीले विज्ञप्ति जारी गर्दै नेपालले आइसिसीको नियम उल्लंघन गरेको जनाएको छ । 'क्यानको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले नेपाललमा क्रिकेटलाई नेतृत्व गर्ने संस्थाको अभाव भएको छ । आइसिसी विधानको उल्लंघन भएकाले यो बोर्ड बैठक क्यानलाई निलम्बन गर्ने निर्णय गर्छ । यसले सरकारी हस्तक्षेप रोक्ने र स्वच्छ चुनाव गराउन बाटो खुल्नेछ,' आइसिसीको विज्ञप्तिमा भनिएको छ, 'यो निलम्बनपछि क्यानले आइसिसीबाट पाउने सम्पूर्ण रकम रोकिनेछ । यद्यपि खेलाडीले आइसिसीको सबै प्रतियोगतामा भाग लिन पाउँछन् ।'

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशबकुमार विष्टले आइसिसीको निर्णय अपेक्षित भएको प्रतिक्रिया दिए । 'पहिला पनि निलम्बनजस्तै थियो । पहिला पनि बजेट आएको थिएन, अब पनि नआउने भयो । देशभित्र काम गर्न र खेलाडीलाई खेल्न रोकेको छैन । विवाद मिलाए खोलिदिन्छु भनेकै छ,' विष्टले भने, 'आइसिसीले यति चाँडो गर्ला भन्ने लागेको थिएन । मसँग आजै पनि कुरा हुँदा चेतावनीमात्र दिएजस्तो लोगेको थियो । तर, उनीहरुले निलम्बन नै गरे ।'

आइसिसीबाट 'ग्रिन सिग्नल' पाएर तदर्थ समिति बनाएको बताउने विष्टले अब विवाद मिलाउन अघि बढ्ने बताए । 'पहिला उनीहरूले क्यानमा हस्तक्षेप गर्न हामीलाई बारम्बार अनुरोध गरेका थिए । उनीहरूसँग औपचारिक÷अनौपचारिक रूपमा विभिन्न चरणमा छलफलपछि हामीले तदर्थ समिति बनाएका हौं । आइसिसी पनि त्यसमा खुसी थियो । अव हामीले विवाद मिलाउनुपर्छ,' विष्टले भने, 'मैले केही दिनअघि देखि नै चतुरजीहरूसँग यसको पहल सुरु गरिसकेको थिएँ । मुद्दा फिर्ता लिन मैले उहाँहरूलाई अनुरोध गरेको थिएँ । उहाँहरूले मुद्दा फिर्ता लिने र दुवै पक्ष मिलाएर नयाँ समिति बनाउनेमा उहाँहरू सकारात्मक हुनुहुन्थ्यो । आइसिसीले एक÷डेढ महिनापछि मात्र यस्तो गर्ला भन्ने लागेको थियो । चाँडै ग¥यो ।'

निर्वाचित क्यानका अध्यक्ष चन्दले सरकारी हस्तक्षेपका कारण नेपाली क्रिकेटले निलम्बन भोग्नुपरेको बताउँदै त्यसको पूरा जिम्मेवारी राखेपले लिनुपर्ने बताए । 'खेलकुदमा अनावश्यक राजनीतिक हस्तक्षेप गर्नुहुन्न भन्ने सरकारले बुझ्नुपर्छ । राखेपलाई हामीले बारम्बार अनुरोध गर्दा पनि उहाँहरू हस्तक्षेपको मनसायबाट डेक चल्नुभएन,' चन्दले भने, 'सरकारले अझै पनि आफ्नो गलत कदम सच्याए नेपाली क्रिकेट दुर्भाग्यबाट जोगिन्छ । अरु खेलमा पनि यस्तो नगर्न आइसिसीको निर्णयले राखेपलाई सचेत बनाएको छ ।'

सदस्यसचिव विष्टले भने निर्वाचित संघले अदालतमा मुद्दा दायर गरेका कारण समस्या आएको बताए । 'सुरुमा आइसिसी र हामी दुवैले मुद्दा पर्ला भन्ने सोचेनौं । तर, उहाँहरूले मुद्दा हाल्नुभयो । अदालतले पनि निर्णय दिन ढिलो ग¥यो । त्यसैले यस्तो अवस्था आएको हो,' विष्ट पन्छिए, 'हामीले नगर भन्दाभन्दै चन्दजीहरूले जवरजस्ती चुनाव गर्नुभयो । आफैले नगर भनेको चुनावलाई हामीले मान्यता दिन मिल्दैनथ्यो । त्यसैले पनि तदर्थ समिति बनाएका हौं ।'

आइसिसीले नेपाली क्रिकेटमा दिगो विकास, स्थिर नेतृत्व र प्रशासनिक ढाँचा तयार गर्न सरोकारवाला सवैसँग छलफल भइरहेको बताएको छ । साथै आइसिसीले सबै सदस्य राष्ट्रमा क्रिकेट विकासका लागि आफू स्वायत्तताको पक्षमा रहेको भन्दै सरकारी हस्तक्षेप भइन्जेल क्यानको निलम्बन जारी रहने प्रस्ट पारेको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यस्तो अवस्था आउनु दुर्भाग्यपुर्ण बताए । तर, उनले सधैँका लागि विवाद अन्त्य गरि अघि बढ्न यो राम्रो अवसर पनि हुनसक्ने आशा गरे ।

'यसअघि हामी जसरी अघि बढेका थियौं, त्यसले कही पुग्न सकिँदैनथ्यो । खेलाडी र प्रशिक्षकको मिहिनेतका भरमा नेपाल डिभिजन १ सम्म आइपुगेको हो । टिमको मिहिनेतको भरमा योभन्दा माथि जानु सम्भव थिएन । प्रशासन र व्यवस्थापनबिना दिगो विकास सोच्न सकिन्न,' पारसले भने, 'हामीले धेरैपटक व्यवस्थापनको विषयमा कुरा उठाउँदा कसैले सुनेन । आइसिसीले हामीलाई नेपाली क्रिकेट विकासमा काम गर्न धेरै पटक मौका दिएको हो । तर, हामीले कहिल्यै पनि गर्न चाहेनौं । अब आइसिसीले आफै नेपालको क्रिकेट जिम्मा लिएर राम्रो बोर्ड बनाउने आश गर्न सकिन्छ । अब नेपाली क्रिकेटको विवाद सधैँका लागि अन्त्य गर्न र खेललाई अगाडि बढाउन यो राम्रो अवसर पनि हुन सक्छ ।'

किन भयो क्रिकेट संघ (क्यान) निलम्बित Reviewed by marumala srinu on 8:34 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.