Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

२९ वर्षपछि ‘ज्यानमारा’ पक्राउ, नाम फेरेर अमेरिका पुगेका पनि समातिए

१३ वैशाख, काठमाडौं । अपराध गरेको मान्छे सकेसम्म कानुनको नजरबाट भाग्ने प्रयास गर्छ । तर, राज्यमा कानुन कार्यान्वय बलियो भयो भने अपराधीले भाग्ने बाटो जतिसुकै लामो बनाए पनि कार्वाहीको दायरामा आउनै पर्छ । यसैको गतिलो उदाहरण पछिल्लो समय नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रस्तुत गरिरहेको छ ।
२९ वर्षपछि जेल पुगे विष्णुबहादुर थापा
काठमाडौंको आलापोटमा ०४३ साल चैत १७ गते ट्याक्टरको ठक्करबाट एकजनाको ज्यान गयो । देवेन्द्र बस्नेतको ज्यान जाने गरी भएको उक्त ट्याक्टर दुर्घटनाका दोषी थिए काठमाडौं भद्रबासका विष्णुबहादुर थापा ।
घटनाको अनुसन्धान गरेर प्रहरीले विष्णुलाई दोषी देखाउँदै मुद्दा दायर गर्यो । त्यतिबेलासम्म उनी फरार भैसकेका थिए । यता पुनरावेदन अदालत पाटनले विष्णुलाई ०५० साल वैशाखमा दोषी ठहर गर्दै २ वर्ष २ महिना १२ दिन कैद र ५५० रुपैयाँ जरिवाना तोक्यो । तर, थापालाई प्रहरीले फेला पार्न सकेन ।
लामो समयसम्म प्रहरीले पक्राउ नगरेपछि काठमाडौंमै बस्दै आएका विष्णुले सायदै पत्याएका थिए होलान् कि आफु २९ वर्षपछि पनि जेल जानुपर्छ भनेर ।
तर, ०७२ साल चैत २३ गते थापालाई सीआइबीको टोलीले उनकै घर अर्थात भद्रबासबाटै पक्राउ गरेर कारागार पठाएको छ ।
२१ वर्षसम्म भाग्दा पनि सुख पाएनन् रामहरिले
काठमाडौं दहचोकका रामहरि परियार गत चैत ७ गते आफ्नै घरमा बसिरहेका थिए । सायद उनी आफैंले २१ वर्ष अगाडि कसैको ज्यान लिएको थिएँ भन्ने बिर्सिसकेका थिए । तर, उनले बिर्सिए पनि कानूनले बिर्सिएको थिएन ।
विगत ०५१ साल फागुन २६ गते विष्णु परियारका छोराको विवाहका लागि आएका ध्रुबे परियार र प्रल्हाद परियारसँग देउताको मूर्ति भाँचिदिएको विषयमा रामहरिको विवाद भएको थियो । राति करिब १२ बजे भएको विवादका क्रममा रामहरिले गाडीमा रहेको लिभरले हानेर ध्रुबे र प्रल्हादलाई घाइते बनाएका थिए ।
घाइतेमध्ये धु्रबेको उपचारका क्रममा ज्यान गयो । उक्त घटनामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेर रामहरिलाई ५ वर्ष कैद सजायँ सुनायो । तर, रामहरि घटनालगत्तै फरार भए ।
वर्षौंसम्म पनि प्रहरीले पक्राउ नगरेपछि घरमा आरामसँग बसिरहेका रामहरिले २१ वर्ष अघि गरेको अपराधको सजायँ ०७२ साल फागुन ७ गते पाएका छन् । उनलाई सीआइबीको टोलीले घरबाटै पक्राउ गरेर अदालतमा बुझाएको छ ।
नाम फेरेर अमेरिकाबाट फर्किएका टासी पनि फन्दामा
सीआइबीको सूचिमा थियो अर्को सनसनीपूर्ण अपराधको घटना । ०५२ सालमा ठमेलमा इटालियन नागरिक डेभिड क्यारारोको हत्याकाण्ड निकै चर्चित आपराधिक घटना हो । २० वर्ष अघि ठमेलमा भएको विदेशी नागरिकको हत्याकाण्डले नेपालमा मात्रै होइन, युरोपमा समेत सनसनी मच्चाएको थियो ।
यतिसम्म कि क्यारारोको हत्या भएको ३ वर्षसम्म ३ जना मात्रै इटालियन नागरिक नेपाल आएको सीआइबीको दाबी छ । केही वर्षसम्म प्रहरीले घटनाका आरोपीको खोजी गरिरहेकै थियो, तर कुनै पत्तो नलागेपछि फाइलसमेत लगभग बन्द भयो ।
त्यही बन्द फाइल २० वर्षपछि पल्टाए केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्व सम्हाल्न पुगेका डीआइजी नवराज सिलवालले । अनुसन्धानका क्रममा सीआइबीले यस्तो सुराक पायो कि २० वर्ष अगाडिको त्यो हत्याकाण्डका आरोपी पक्राउ परेरै छाडे ।
मनाङको नावल गाविसका टासी लामा तिनै पात्र हुन्, जो ठमेलमा भएको इटालियन नागरिक क्यारारोको हत्याको आरोपमा २० वर्षपछि पक्राउ परेका छन् । घटना भएको केही महिनामै नक्कली नागरिकता र नक्कली पास्पोट मार्फत टासी अमेरिका उडेका थिए । अमेरिका पुग्दा टासीको परिचय फेरिएर सण्डुप घले भएको थियो ।
करिब १५ वर्ष अमेरिका बसेका टासी ३ वर्ष अघि नेपाल फर्किएका थिए । तीन वर्षदेखि काठमाडौंमा सण्डु घले बनेर छिप्दै आएका टासी त्यतिबेला छांगाबाट खसेजस्तो भए, जब २० वर्ष अगाडिको हत्याकाण्डको आरोपमा सीआइबीले उनलाई पक्राउ गर्यो । सानीआमाले दिएको उजुरीका आधारमा टासी कार्वाहीको दायरामा आए २० वर्षपछि ।
२ महिनामा ९ अपराधी पक्राउ
माथिका पात्रहरु २० वर्ष र त्योभन्दा पुरानो घटनाका दोषी थिए, जो पछिल्लो २ महिनामा पक्राउ परे ।अदालतले दोषी ठहर गरेका तर फरार रहेकाहरुको थुप्रै सूची छ सीआइबीसँग । ती फरारहरुलाई पक्राउ गरेर कार्वाहीको दायरामा ल्याउन सीआइबी पासो थापेर बसिरहेको छ ।
करिब २ अर्ब ५० करोड जरिवाना र २ वर्ष कैद तोकिएका पर्सा निर्मल वस्तीका पदमबहादुर राउत पनि त्यही पासोमा परेका छन् । विदेशी मुद्रा अपचलन गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले ०६८ साल वैशाख ४ गते पदमलाई सो सजायँ सुनाएको थियो । सजायँ भुक्तान नगरी फरार भएका राउत सीआइबीको नजरबाट उम्किन सकेनन् र फागुन १० गते पक्राउ परे ।
त्यस्तै अपहरणको आरोपमा ०७० साल वैशाख ३१ गते पुनरावेदन अदालत पाटनबाट ९ वर्ष कैद र ५० हजार जरिवानाको सजायँ सुनाइएका सिन्धुपाल्चोकका कर्णबहादुर लामा पनि कानुनको नजर छल्दै लुकिरहेका थिए ।
उनी पनि चैत १८ गते सीआइबीको फन्दामा परेका छन् । पछिल्लो २ महिनामा सीआइबीले यस्ता ९ जना फरार अपराधीलाई पक्राउ गरेर कार्वाहीको दायरामा ल्याइसकेको छ ।
दण्डहीनताको अन्त्य गर्ने अभियान हो: सीआइबी
सीआइबीका प्रमुख डीआइजी नवराज सिलवाल पछिल्लो समय प्रहरीको सक्रियताका कारण अपराधीहरु कार्वाहीको दायरामा आएको बताउँछन् । उनी भन्छन्-अपराध गरेर दोषी ठहर भएकाहरु वर्षौंसम्म पनि कार्वाहीको दायरामा नआउने प्रवृत्तिको अन्त्य गर्न हामीले कार्वाही अभियान चलाएका हौं ।
पक्राउ परेकाहरु कतिपय घटनापछि देशै छाडेर जाने, कतिले ठेगानादेखि हुलियासम्म परिर्वतन गरेर बस्ने गरेका छन् । त्यस्ता अपराधीलाई पक्राउ गर्न प्रहरीमा दक्ष जनशक्ति पनि बढाउनुपर्ने सिलवालको तर्क छ ।
२९ वर्षपछि ‘ज्यानमारा’ पक्राउ, नाम फेरेर अमेरिका पुगेका पनि समातिए Reviewed by marumala srinu on 8:49 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.