देशैभर डरलाग्दो खडेरीः पानीको हाहाकार, अनिकाल निम्तने चिन्ता
काठमाडौं-उफ् कति गर्मी ! पानी पर्ने छेकछन्दै छैन, प्रचण्ड घामले रुख, घाँसपात सबै सुकाइसके, हरिया डाँडा धुलो र तुवाँलोले फुङ्ग छन् ।
किसानलाई भने यो गर्मीले भन्दा बढी पोल्छ, अनिकालको सम्भावित डरलाग्दो तस्बिरले !
'यस्तो उखुम छ, ब्याड राख्ने याम ढल्किसक्यो, पानी नपरेर बारी जोत्नै पा' छैन,' पाँचथर, स्याबरुम्बा–२ का नेत्र निरौला भन्छन् ।
उनी मात्र होइन, लामो समययता चर्किएको खडेरीले देशभरका किसानको बिजोग छ । केही दिनभित्र मनसुन सुरु हुने अवस्था छैन, लामो खडेरीकै कारण यसपालि अनिकाल भोग्नुपर्ने चिन्ताले खग्रास देखिन्छन् उनीहरु ।
पूर्वका पाँचथर, धनकुटा, खोटाङदेखि जुम्ला, हुम्लासम्म पानी नपरेर मात्र होइन, मुहान सुकेर पिउने पानीकै हाहाकार छ । गाउँका गाउँ काकाकुल छन् ।
तराईवासी पनि यस्तै नियति बेहोरिरहेका छन् । सिरहा, सप्तरी, धनुषादेखि रुपन्देही, कैलालीसम्मका बासिन्दा चर्को घाममा टाढा पुगेर खानेपानी जोहो गर्नुपर्ने अवस्था छ ।
'वैशाखमै यस्तो गर्मी छ, खानेपानीको हाहाकार हुन थाल्यो,' महोत्तरी प्रकौली, फुलहटा–७ का राजन मिश्राले भने, 'किसानले खेतमा गएर काम गर्ने स्थिति छैन, प्रचण्ड गर्मीले धानको बिउ राख्ने स्थिति छैन, खडेरीले जीवन तहसनहस भयो ।' गत वर्षसम्म मनग्गे पानी बहने मुहान खडेरीले सुक्दै गएको मिश्राको भनाइ छ ।
पाँचथर, स्याबरुम्बाका दुर्गा बम्जनको अनुभव पनि यस्तै छ । '६ महिनायता पानी नपरेकाले खानेपानीको चरम अभाव छ, खेतीपाती चौपट्ट भएको छ । रुखपातै सुक्न थाले,' बम्जनले भने, 'यसपटक खडेरीले सत्यनाश गर्ने भो । पानी नपाएपछि जीवनयापन कठिन गएको छ । आकाश कालोमैलो हुन्छ, हावाहुन्डरी आउँछ, पानी पर्दैन, कसरी बाँच्ने होला ?'
लामो खडेरीसँगै जमिनमुनि पानीको सतह घट्दा पश्चिम तराईको जनजीवन उस्तै कष्टकर बन्न पुगेको छ । यस क्षेत्रमा नल्का (कल) र बोरिङमा पानी आउनै छाडेको छ ।
कैलाली, टीकापुरको कर्णाली किनारमा रहेका बस्तीमा पहिलोपटक यस्तो समस्या देखियो । टीकापुर नगरपालिकाका साथै नारायणपुर, धनसिंहपुर, दुर्गौली, पथरैया गाविसमा यस्तो समस्या देखिएको स्थानीय बताउँछन् । टीकापुर बजारका हाते नल्कामा समेत पानी आउँदैन । पछिल्ला दिन पिउने पानी नै जुटाउन समस्या परेको टीकापुर, वनगाउँका कुलबहादुर पुनमगरले बताए ।
'मोटर जोडेर पानी तान्दा पनि आउँदैन,' उनले भने ।
टीकापुरवासीका धारामा समेत पानी नियमित आउन छाडेको छ । ट्यांकीमै मात्रा कम भएकाले पानी वितरण अनियमित हुन पुगेको खानेपानी कार्यालयको भनाइ छ । यस क्षेत्रमा जमिनमुनिबाट बोरिङको सहायताले ट्यांकी भर्ने गरिन्छ । कार्यालयका अनुसार ट्यांकी भरिन धेरै समय लाग्ने गरेका कारण समयमै सबै धारामा पानी छाड्न गाह्रो भएको हो । सामान्य अवस्थामा चार घन्टामा भरिने २ लाख २५ हजार लिटर क्षमताको ट्यांकी भरिन अहिले पाँच घन्टा लाग्ने गरेको इन्चार्ज श्याम थापाले जानकारी दिए । 'जमिनमुनि पानी कम भएर त होला,' उनले भने, 'पहिलेभन्दा एक घन्टा बढी लाग्ने गरेको छ ।'
टीकापुर, शंकरपुरका कृषक पदमबहादुर शाहीले बोरिङमा पानी आउन छाडेपछि तरकारी बाली सुकेको बताए । टिपेर बेच्ने बेला हुनै लागेका लौका, काँक्रो, फर्सीलगायत तरकारी बारीमै सुकेको उनले सुनाए । 'सिँचाइ नभएर सबै तरकारी सुक्यो,' उनले भने, 'करिब ५० हजार नोक्सान भयो ।'
बालीनालीमा असर
सिँचाइ अभावले बालीनालीमा समेत निकै असर पारेको छ । कैलालीका केरा कृषक विनोदकुमार साहले १५ दिनयता बोरिङमा पानी आउन छाडेको बताए । आफ्ना दुईवटा बोरिङ सुकेको उनले जानकारी दिए । 'आकाशबाट पानी पर्दैन, जमिनमुनिको समेत सुकिसक्यो,' उनले भने, 'सिँचाइ भएन भने ४० प्रतिशतजति उत्पादन घट्छ ।'
राजमार्गसँग जोडिएका लम्कीचुहा नगरपालिका, दोदोधरा, कोटातुल्सीपुर, साडेपानी, दरख, पहलवानपुर, मसुरिया, चौमालालगायत गाविसमा भने यस्तो समस्या अघिल्ला वर्ष पनि देखिएको थियो । यस वर्ष दुई साताअघिदेखि नै पानीको समस्या देखिएको साडेपानीका रामप्रसाद सन्ज्यालले बताए । उनका अनुसार हाते कलमा पानी आउन छाडेपछि अर्को गाउँ धाउनुपर्ने बाध्यता छ । 'थोरै खडेरीमा पनि नल्कामा पानी आउँदैन,' उनले भने, 'यो हाम्रो पुरानै समस्या हो ।'
चुरेको फेदीका केही गाउँका बासिन्दा खोलाको धमिलो पानी पिउन बाध्य छन् । पानी अभावले गाईबस्तुसमेत पीडित छन् ।
बाँकेका नेपालगन्ज र कोहलपुर क्षेत्रमा समस्या झन् चर्को छ । कोहलपुरस्थित खानेपानी उपभोक्ता संस्थाका अनुसार १० वर्षअघिसम्म ३० देखि ३५ फिट गहिराइमा सहजै पानी आउँथ्यो । अहिले भने त्यसको झन्डै दोब्बर खन्नुपर्छ । 'जति खन्दा पनि पानी आउँदैन,' संस्थाका अध्यक्ष नरबहादुर मल्लले भने, 'पानी सुकेपछि निकै समस्या देखिएको छ ।'
कलमा पानी आउँदैन
कोहलपुर क्षेत्रमा पहिले गाडिएका अधिकांश नल्कामा अहिले पानी आउँदैन । करिब एक दशकअघि गाडेको नल्कामा पानी आउन छाडेपछि नरेशविक्रम ढकाललाई निकै तनाब पर्योे । सुर्खेतका बासिन्दा उनले कोहलपुरमा रहेको घर भाडामा दिएका थिए । दुई साताअघि घरमा बसेका मान्छेले पानीको समस्या सुनाएपछि उनले पुरानो नल्कानजिकै अर्को नल्का गाडे । 'नल्कामा पानी सुकेपछि अचम्म लाग्यो,' उनले भने, 'अहिले झन्डै दोब्बर गहिराइमा अर्को नल्का गाडेको छु ।'
कपिलवस्तु, वाणगंगा नगरपालिका–६, करवामा रहेको पुरानो धारामा त पानी आउनै छाडेको छ । स्थानीयको सामूहिक लगानीमा डेढ सय फिट तल गाडिएको धाराबाट दुई वर्षअघिसम्म सजिलै पानी आउँथ्यो । अहिले आउन छाडेको स्थानीय कृष्ण पौडेलले बताए । 'त्यो धारामा आउन्जेल हामीलाई पानी पिउन र सिँचाइ गर्न समस्या थिएन,' उनले भने, 'अहिले निकै समस्या परेको छ ।'
पानीको सतह घट्दै गएकाले चुरे क्षेत्रसँग जोडिएका जिल्लाका उत्तरी अधिकांश गाविसमा चापाकल सुकेका छन् । वाणगंगा, मोतीपुर, महेन्द्रकोट, गजेहडा, दुबिया र शिवगढीलगायत गाविसमा सुक्खायाम लागेसँगै पानी पाइँदैन ।
पाँच–सात वर्षदेखि यस्तो समस्या देखिएको स्थानीय बताउँछन् । मोतीपुरमा धारामा पानी आउन छाडेपछि तीन वर्षअघि तीन ठाउँमा ओभरहेड ट्यांकी राखेर व्यवस्था गरिएकाले अहिले केही राहत मिलेको छ । ज
देशैभर डरलाग्दो खडेरीः पानीको हाहाकार, अनिकाल निम्तने चिन्ता
Reviewed by marumala srinu
on
9:30 PM
Rating:

No comments: