युएईमा पहिलो पटक घन्कियो पञ्चेबाजा
युएई, १५ बैशाख । वरिष्ठ लोक गायक तथा संगीतकार नारायण रायमाझी र गायिका जमुना राना मगरलाई पञ्चे बाजा बजाएर युएईमा स्वागत गरिएको छ ।
पाल्पाली समाज युएईले प्रथम बार्षिकोत्सवको अवसरमा रायमाझी र राना मगरलाई पञ्चे बाजाले स्वागत गर्दै कार्यक्रम हल भित्र प्रवेश गराइएको हो । कार्यक्रमका मुख्य आकर्षक पाउनाको रुपमा नारायण रायमाझी र जमुना राना मगर युएईमा पहिलो पटक आएका थिए । अहिले सम्म धेरै कार्यक्रमहरु भए पनि पञ्चे बाजा सहितको कार्यक्रम भने युएईमै पहिलो हो ।
अन्य कार्यक्रमहरु भन्दा फरक कार्यक्रम भए पनि यसरी बाजा बजाउँदा आगामी दिनहरुमा युएईको नियमलाई बुझेर मात्र अगाडी बढ्नु पर्ने प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले बताएका छन । अहिले सम्म धेरै देशहरु गए पनि युएईमा बाजा सहित कार्यक्रममा प्रवेश गर्न पाउँदा नेपालमै छु जस्तो लागेको वरिष्ठ गायक तथा संगीतकार रायमाझीले बताए । रायमाझीले लोकगीत संगीतलाई मन पराउने धेरै दर्शकहरु युएईमा रहेको भन्दै खुसी समेत व्यक्त गरे ।
नेपाल मगर संघ युएई साखाले नेपाली दूतावासको सहकार्यमा आफ्नो कला र संस्कृतिको संरक्षणको लागि युएईमा दुई महिना अगाडी पञ्चे बाजा ल्याएको मगर संघ युएई शाखाका संयोजक रेशम सोमै मगरले बताए । न विवाह थियो न वर्तबन्ध, अचानक हल भन्दा बाहिर बाजा बज्यो प्रदेशमा पनि आफ्नै गाउँ ठाउँमा झै पञ्चे बाजामा नाच्दै र राष्ट्रका सष्ट्रालाई सम्मान गर्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा रहेको उपस्थित दर्शकहरुले बताएका छन ।
‘एक्काईसौ शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाउँदो पाल्पालीको अभियान’ भन्ने नारालाई आत्मसात गर्दै अगाडि बढेको पाल्पाली समाजले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गर्ने संस्थाका अध्यक्ष खुम बाहादुर आलेले प्रतिबद्धता जनाए ।

No comments: