Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

वीरगन्ज कोलाज

मधेस आन्दोलन र भारतीय नाकाबन्दीको रापतापबीच गिरीश गिरी वीरगन्ज पुगे। समाचार लेख्दै तीन महिना उतै बिताए। बीचमा केही समय हराए पनि। बुधबार भने प्रसन्न मुद्रामा एकाएक कार्यालय आइपुगे।

उनी उत्साहित देखिन्थे। हँसिलो अनुहार थियो। उनको अनुहारमा डुलिरहेको खुसीको बेग नयाँ खबरको सूचक थियो। 

गिरीशले कुनै नयाँ समाचार लिएर आएका थिएनन्, बरू समाचारमा नअटाएको एउटा सहरको कथा लिएर आएका थिए– वीरगन्ज।

‘मेरो सहरको कथा हो,’ भर्खरै प्रेसबाट आइपुगेको आफ्नो किताब ‘वीरगन्ज- मेरो सहरको कथा’ को एक प्रति झोलाबाट निकालेर देखाउँदै गिरीशले भने।

...

 

मधेस आन्दोलन चर्किंदै थियो। असोज ५ गते राजविराजमा भएको संयुक्त लोकतान्त्रिक मोर्चाको बैठकले नाकाबन्दी गर्ने निर्णय गर्यो।

नाकाबन्दी चर्किंदै थियो। बजारमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिन थाल्यो। घर–घरमा ग्यासका सिलिण्डर रित्तिन थाले। ग्यास पाइन छोड्यो।

राजधानी यो समस्याबाट टाढा रहने कुरा थिएन। गिरीशले आफ्नो घरमा पनि यो भोगिरहेका थिए। घरमा दाउरा जुटाउन थाल्नुपर्यो। वीरगन्ज एउटा प्रमुख नाका भएकाले नाकाबन्दी र मधेस आन्दोलन सँगसँगै अभाव र सास्ती पाउन थालेपछि आममान्छेमा आवेग र आक्रोश पैदा हुन थाल्यो।

वीरगन्जलाई मान्छेले गाली गर्न थाले। आफ्नै घरपरिवारका सदस्यले पनि।

गिरीश रन्थनिए।

‘मलाई जन्मदिने ठाउँलाई यस्तो गाली गर्ने?,’ उनी मनमनै आक्रोशित पनि हुन्थे। 

आफू जन्मेको ठाउँलाई जथाभावी भन्दा उनलाई नरमाइलो लाग्यो। तर आम रुपमा बोलेर, जवाफ फर्काएर त्यो आक्रोशलाई शान्त पार्ने परिस्थिति थिएन।

गिरीशलाई लाग्यो – अब चुपचाप बसिँदैन।

उनले सोचे, वीरगन्जमा भएको के हो? जानुपर्यो एकपटक । धेरै अबेर नगरी उनी वीरगन्ज हानिए रिपोर्टिङका लागि भनेर।

वीरगन्ज पुग्नुअघि ठाउँ–ठाउँमा अवरोध छिचोले। आन्दोलनकारीको सामना गरे। हिँड्दाडुल्दा भेटिएका खबर सेतोपाटीमा सम्प्रेषण गरे। वीरगन्ज पुगेपछि उनलाई हिँडडुल केही सहज बन्यो।

वीरगन्जमा आफ्नो पुख्र्यौली घर भएकाले गिरीशलाई बस्नको समस्या भएन। उनी दिनदिनै सहर घुम्न थाले।

मधेस आन्दोलनको रापतापमा पिल्सिएका नागरिक भेटे। आन्दोलनकारी भेटे। र, आन्दोलनका नाममा नेताहरूले गर्ने विभिन्न दाउ नियाले। आन्दोलन र नाकाबन्दीका कारण धेरै सर्वसाधारणले रोजगारी गुमाएको देखे। वीरगन्जका रैथाने सर्वसाधारणलाई त्यै वीरगन्जले लखेट्न थालेको भेट्टाए। एउटा समाजले अर्को समाजलाई बुझ्न नसकेको यथार्थ देखे। वीरगन्जलाई काठमाडौंले बुझ्न नसकेको पीडा पनि महसुस गरायो।

वीरगन्जको परिवेश, घटना, पृष्ठभूमि कस्ता छन् धेरै मान्छेले बुझेका छैनन्। दिनैपिच्छेका अखबारी रिपोर्टिङमा यी सबै कुरा आउन सकेका थिएनन्।

गिरीश आफैं वीरगन्ज गइरहन्थे। त्यहाँका पचासौं मान्छेसँग कुराकानी गर्थे। चिनेजानेका व्यक्तिहरूसँग हरेक हिसाबबाट तर्क तथा साक्षात्कार गर्थे। फर्किन्थे। लेख्थे। कति समाचार बन्थे, कति बन्दैनथे। तर सबै कुरालाई समाचारमा अटाउन जटिल थियो। एक दुई हजार अथवा दस/पन्ध्र हजार शब्दले मात्र त्यो सहरको पर्दा उघार्न सकिँदैन रहेछ भन्ने निष्कर्षमा गिरीश पुगे।

पत्रकार भएका कारण गिरीशलाई कठिन थिएन। कान्तिपुर, नागरिकजस्ता ठूला राष्ट्रिय अखबारमा रहेर दुई दशक पत्रकारितामा बिताएका गिरीशले वीरगन्जमा देखिएका इस्युलाई एउटा किताबको भाका दिने सोच बनाए।

‘म केही चाहिँ लेख्छु भन्नेमा पुगें,’ गिरीश भन्छन्, ‘उत्साहित थिएँ, सकेसम्म जाँगर जुटाएर सुरू गरें।’

वीरगन्ज जाँदा आफूले ठाउँ–ठाउँमा पाएको सास्तीबाटै कथा सुरू गरे।

नाकाबन्दीको असर पुरै थियो। राजधानीमा त प्लेन उड्छ, सारा चिज छन्। तर वीरगन्जमा त्यस्तो थिएन। अभावको चरमचुली थियो। अत्याधिक दुःख थियो। दलित, मधेसी, मूलबासी, पहाडेसमेत रहेको वीरगन्जको अवस्था दर्दनाक देखिन्थ्यो।

हुने खानेको बेग्लै तौर थियो। मधेस आन्दोलन हाँकिरहेका नेताको बेग्लै। त्यही आन्दोलनमा हिँड्ने सर्वसाधारण र आन्दोलनका कारण आफ्नो रोजीरोटी गुमाउन बाध्य भएका नागरिक कति थिए कति, जसलाई वीरगन्जले अन्त कतै धकेल्दै थियो। गिरीशले त्यो सहन सकेनन्।

मधेस आन्दोलनले मधेसी नागरिककै अधिकार खोसेको भेट्टाए। कथाका पात्र तिनैलाई बनाए।

वीरगन्ज अस्पतालमा एक दिन तोडफोड भयो। अनलाइनमा आएको समाचार हेरेर उनले थाहा पाए। चुपचाप बसिरहन सकेनन्। हतार–हतार उनी अस्पताल पुगे।

मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा सामान्य तोडफोड भएको रहेछ। तोडफोडको रहस्य भने न्युजमा आएजस्तो थिएन।

‘समाचारमा नआएका कुरालाई मैले जोड दिएको छु,’ गिरीश भन्छन्, ‘नेताहरूका दाउ कस्ता–कस्ता हुन्छन् भन्ने भेटाएको छु, पत्ता लगाउने कोशिस गरेको छु।’

१२ वर्षपछि लामो समय वीरगन्ज बस्न पुगेका गिरीशलाई लाग्छ– पत्रकारले लेख्ने हो, जे जानेको छ त्यै गर्ने हो। उनले आफ्नो सहरका राम्रा पक्षको मात्र वकालत गरेका छैनन्। सहरमा हुने फटाइँ र फटाहाहरूको विषय पनि कथा बनेका छन्।

‘ब्ल्याक एन्ड ह्वाइटमा वीरगन्ज के हो? के बिग्रेको छ, यस्तो चाहिँ हुनु हुँदैन है मेरो ठाउँमा भनेर मैले किताबमा ल्याउने प्रयास गरेको छु,’ गिरीश भन्छन्।

नेपालको प्राण, सास भनेको वीरगन्ज नाका हो। वीरगन्ज नाका बन्द हुँदा त्यसको असर देशैभरि पर्छ।

‘मधेसको समस्या के हो?’

गिरीशले त्यसमाथि आफ्नो धारणा राख्न खोजेका छैनन्। उनको विचारमा पत्रकारले धारणा बनाउने पनि होइन। उनले यतिमात्र बाहिर ल्याउन खोजेका छन् कि एक समाजले अर्को समाजलाई बुझ्ने कोशिस भएन। त्यसैको आक्रोशमा जनता दौडिएका थिए।

‘मधेसको समस्या के हो त्यो पोलिटिकल डिस्कोर्षको कुरा हो,’ गिरीश भन्छन्, ‘मेरो किताब वीरगन्ज चिनाउने यात्रा हो। यसबाट आइडिया आउँछन्। दृष्टिकोण बदल्न सकिन्छ।’ 

***

वीरगन्ज बसाइका क्रममा लेखन अनुशासन कायम राख्न उनले खुबै मेहनत गर्नुपर्यो।

एकाबिहानै उठ्थे। ८/१० किलोमिटर दौडिन्थे। असिनपसिन भएर आइपुग्थे। नुहाइधुवाइ गरेर एक डेढ घन्टा आराम गर्थे, सुत्थे।

‘त्यसपछि लेख्न बस्थें, दिनभरि र राति अबेरसम्म जारी रहन्थ्यो,’ उनी भन्छन्। वीरगन्ज बसाइ र हिँडाइले गिरीशको १० केजी तौल घट्यो।

उनलाई किताब लेख्न त्यति गाह्रो भएन। पत्रकार भएकाले नै किताब लेख्न धेरै ठूलो सहयोग मिलेको उनी बताउँछन्।

वीरगन्जमै जन्मेहुर्केका गिरीशले आफ्नो सहरको कथा लेख्न दुई वर्षअगाडि नै सोचेका थिए। समय अनुकुल भइरहेको थिएन। मधेस आन्दोलन र नाकाबन्दीको असरपछि रिपोर्टिङ गर्न जाने सोच बन्यो। रिपोर्टिङका निम्ति वीरगन्ज पुगेका गिरीश त सहरको कथै बोकेर राजधानी आए।

आन्दोलनबाट कथा सुरू गरेका उनले राजधानी फर्किंदासम्मको अनुभव समेट्ने प्रयास गरेका छन्। उनको सहरको कथालाई नेपालय पब्लिकेशनले बजारमा ल्याउँदैछ। वीरगन्जको बिमोचन शुक्रबार दिउँसो ३ बजे प्रज्ञा भवनको डबलीमा हुँदैछ।

वीरगन्जलाई विभिन्न पक्षले जोडेका छ। वीरगन्जलाई जोड्ने तन्तु कोट्याएका छन् उनले किताबमा। मधेस आन्दोलन र नाकाबन्दी त भइहाले। आन्दोलनका कारण रोजीरोटी गुमाएका नागरिकका कथा लेख्दा गिरीश उत्साहित छन्।वीरगन्ज किताब सबै पक्ष जोडेको कोलाज हो,’ गिरीश भन्छन्।

वीरगन्ज कोलाज Reviewed by marumala srinu on 12:58 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.