सम्बन्धहरूको गणित ।
तल्लो गाउँमा एक दम्पती बस्छन् । बूढा चैँ दैनिकजसो तासको खालमा । बूढी चैँ जूठेल्नाको आहालमा । बूढाको काम बेला–बेलामा जग्गाको दलाली गर्नु । बेला–बेलामा गाउँमा जम्ने मदिरापानमा सहभागी बन्नु । बिहान सबेरै घर छाडेर निस्कनु, अनि राति अबेरसम्म नफर्कनु । फर्किएपछि पनि घरमा झगडा गर्नु । बूढो भन्छ, कमाउने मै हुँ, तैले थुतुनो चलाएर हुन्छ ?
बूढी भन्छे, तिम्रो घर सम्हाल्या छु, यसै कराएर हुन्छ ?माथ्लो गाउँमा पनि अर्का जोडी छन् । बूढो कमाउँछ महिनामा २० हजार । बूढी कमाउँछे— ५० हजार ।
बेला–बेलामा बूढीको हुंकार तल्लो गाउँसम्म सुनिन्छ । भन्छिन्, तिमीभन्दा मै कमाउने । घरको काम तिमी गर ।लोग्ने भन्छ, जसले बढी कमाए पनि म कसैसँग किन डराउने ? कमाइ जति होस्, घरबाहिर मैले पनि उत्तिकै श्रम गरेको छु । मैले मात्र किन बढी दु:ख बिसाउने ?
पल्लो गाउँमा पनि यस्तै यस्तै जोडी छन् । लोग्ने, दिनभरि दस–पाँचको अफिस धाएर आउँछ । श्रीमती गृहिणी टाइपकी । दिउँसो सानो छोरो खेलाएर बस्छिन् । बिहान–बेलुकी घरधन्दामा लागिरहन्छिन् । बेला–बेलामा उनीहरूको पनि झगडा परिरहन्छ ।
लोग्ने भन्छ, दिनभरि गोरुझैँ जोतिएर आउँछु, तैपनि चैन छैन ।
स्वास्नीपनि के कम ? च्याँठ्ठिन्छे, दिनभरि मचैँ के यहाँ घरमा गाईझैँ चरिरहन्छु जस्तो लाग्छ ? घरधन्दा, छोरोको स्याहार, पाउना आउँछन्, उनीहरूलाई पनि खुसी पार्नै पर्यो । तपाईं पो अफिसमा फाइलमा साइन गर्यो बस्यो । असली गोरु त म भएकी छु ।
तल्लो र माथ्लो गाउँको बीचतिर अर्काथरी जोडी बस्छन् । दुवै अफिस जान्छन् । बेलुकी चार बजे लोग्नेले स्कुलबाट छोरी लिएर आउँछ । श्रीमतीको अफिस सात बजेसम्म चल्ने हुनाले खाना उसैले पकाउँछ । भाँडा स्वास्नीले माझ्छे । सपिङ भरसक दुवैले गर्छन् । नभए जसको अनुकूल भयो उसैले गर्छन् । कोठा लोग्नेले सफा गर्छ ।
सबैभन्दा ठूलो कुरा उनीहरू कोठासँगै कहिलेकाहीं एक–अर्काको चित्त पनि सफा गर्छन् ।
सम्बन्ध पनि एउटै रूपमा चोखै कहाँ बसिरहन्छ र ? अनेकन् धूलो मैलो टाँस्सिन आइपुग्छन्, खिया लाग्न सक्लान् । बेला–बेलामा दुवै पक्ष मिलेर सफा गरिरहनुपर्छ । सम्बन्ध अलिअलि धरमराउँछ । कहिले च्यातिन खोज्छ, कैले फुट्न खोज्छ, कैले चुहिन खोज्छ ।
सम्बन्ध भकारीमा थुप्य्राइएको धानझैँ हुन सक्छ, कहिलेकाहीं अविश्वासका मुसाहरू पसेर कुटुकुटु चबाएर खाइदिन सक्छन् ।
सुखी परिवार के हो ? कसले कति काम गर्छ ? कसले कति कमाउँछ ? कसले बढी खर्च गर्छ ? सम्बन्ध कुनै खातामा चढेको उधारोजस्तै हिसाब होइन । सम्बन्ध बलियो हुन मन खुकुलो बनाउनुपर्छ । व्यवहार लचिलो भएमात्र सम्बन्धको लचकता बढ्ने हो ।
पैसा जब कुनै सम्बन्धको बीचमा छिर्छ तब सम्बन्धचैँ आफैँ किनारा लाग्दै जान थाल्छ । सम्बन्धमा दुईवटा मन मिले पुग्छ, कसले कति कमाउँछ ? कसले कति काम गर्छ ? को के हो ? को ठूलो ? को सानो ? सम्बन्ध एकाउन्टको ट्रायल ब्यालेन्स अथवा ब्यालेन्स सिट होइन ।
यदि यस्ता खालका गणितीय उल्झनहरूमा फस्न थालियो भने, बुझे हुन्छ सम्बन्ध आफ्नो सतहबाट बिस्तारै धस्न थाल्यो ।

No comments: