राखेपले पैसा सापटी दिने भएपछि क्रिकेट टोलीको बन्द प्रशिक्षण -
१ चैत, काठमाडौं । आधिकारिकता विवादले गर्दा भताभुङ्ग बनेको नेपाल क्रिकेट संघ (क्यान) ले समस्यै समस्याका बीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँगको खेलको तयारी सुरु गरेको छ ।
खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १८ लाख रुपैयाँ सापटी दिने भएपछि बन्द प्रशिक्षण सुरु गरिएको हो ।
राष्ट्रिय टोलीबाट खेल्ने काठमाडौंमा उपलब्ध खेलाडीहरुले आइतबार कीर्तिपुरमा अभ्यास गरे । सोमबारदेखि यू-१९ टोली सहित ४१ खेलाडी बन्द प्रशिक्षणमा थपिने छन् । अन्तरिम प्रशिक्षक जगत टमाटाले खेलाडीलाई प्रशिक्षण दिएका थिए । पुवुदु दशानायकेले नेपाल छाडेपछि नेपालले अर्को प्रशिक्षक नियुक्त गरेको छैन ।
दुई समानान्तर नेतृत्वबीच आधिकारिकता विवाद उत्पन्न भएपछि क्यान पछिल्लो समय कर्मचारीको भरमा चलेको छ । तर, बैंक खाता रोक्का भएकाले दैनिक खर्च गर्ने पैसासमेत क्यानसित छैन । बन्द प्रशिक्षणका लागि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले १८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । एक अधिकारीका अनुसार सोधभर्ना गर्ने शर्तमा सो रकम दिन राखेप तयार भएको हो ।
क्यानकी सीइओ भावना घिमिरेले भनिन्, ‘मन्त्रालय र राखेपले रकम दिने भनेका छन् । यसबारे थप छलफल हुन बाँकी छ ।’
क्रिकेट संघले केही महिनादेखि कर्मचारीहरुलाई तलब समेत दिएको छैन । अधिकांश खेलाडीको सम्झौता जनवरीमा सकिएको भए पनिक्यानको विवादका कारण सम्झौता नविकरण समेत हुन सकेको छैन ।
निर्वाचनबाट चुनिएको अशोकनाथ प्याकुरेलको नेतृत्व र सरकारद्वारा नियुक्त रमेश सिलवालको नेतृत्वबीच आधिकारिता विवादले गर्दा क्यान समस्याग्रस्त बन्दै आएको छ । नामिबियासँगको खेल नेपालमा हुने-नहुनेबारे अहिलेसम्म अन्योल नै छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले क्यानको विवाद तत्काल अन्त्य नगरे नेपाललाई आइसिसीबाट निलम्बन गर्ने चेतावनीसमेत दिएको थियो ।

No comments: