कोरियामा नयाँलाई भन्दा पुराना कामदारलाई प्राथमिकता ,गैरकानुनी कामदार घटाउने कसरत
काठमाडौं: कोरियाले नयाँ प्रशिक्षार्थी कामदारभन्दा अनुभवीलाई प्राथमिकता दिने रणनीति अख्तियार गरेको छ। यसअघि नेपालबाट बर्सेनि चार हजारदेखि आठ हजारसम्म प्रशिक्षार्थी कामदार कामदार लिने गरेकामा अबदेखि विस्तारै प्रशिक्षार्थीको संख्या कटौती गरेर एकपटक काम गरेर फर्किसकेकालाई प्राथमिकतामा पार्न थालेको हो।
कोरियाले आगामी वर्ष नेपालबाट अधिकतम ३१ सय कामदार मात्र लैजाने घोषणा गरेको छ। गत वर्षको तुलनमामा यो करिब ६० प्रतिशतले थोरै हो। गएको साल आठ हजार पाँच सय जनालाई भाषा परीक्षामा पास गरिएको थियो।
कोरियामा गैरकानुनीरूपमा बस्ने कामदारको संख्या बढ्न थालेपछि कोरियाले यस्तो संख्या न्यूनीकरण गर्न एकपटक काम गरेर फर्किसकेकाले पुनः प्राथमिकता दिने रणनीति बनाएको हो। नयाँ जानेको संख्या घटाएर भए पनि एकपटक गएर आएकालाई उच्चप्राथमिकता दिने नीति यो रोजगारदाता मुलुकले अख्तियार गरेको हो।
कोरिया गएका कामदार एकपटकमा चार वर्ष १० महिनासम्म बस्न पाउँछन्। त्यसभन्दा बढी बस्ने बित्तिकै अवैध भइहाल्छ। नेपालमा भूकम्पछि त्यहाँ गएका युवायुवती सकेसम्म फर्किन नचाहने अनि अवधि सकिएपछि पनि लुकीछिपी बस्नेक्रम बढेपछि उनीहरूलाई स्वेदश फिर्ताका लागि आकर्षित गर्न रिर्टनीलाई प्राथमिकतामा पारिएको सम्बद्ध अधिकारीले जानकारी दिएका छन्।
एकपटक काम गरेर फर्किसकेकालाई लैजान नेपालमा प्रत्येक तीन महिनामा सीबीटी परीक्षा लिन थालिएको छ। फर्किएकालाई प्राथमिकता दिंदा एकातिर अनुभवी कामदार पाइने भयो भने अर्कोतिर गैरकानुनी घटाउन पनि सहयोग पुग्ने भयो। स्रोतका अनुसार अवैध कामदार संख्या बढेपछि कोरिया आगामी वर्षका लागि नेपालबाट लिने कामदारको संख्या पनि कटौती गरेको हो।
एकपटक काम गरेर फर्किएको व्यक्तिले नेपालमा ६ महिना बसेपछि पुनः कोरिया जान आवेदन दिन सक्छ। यसरी फर्किएका अनुभवी कामदारलाई कम्प्युटरमा आधारित सीबीटी परीक्षा दिई फेरि जान सकिने व्यवस्था गरिएको छ।
फर्किएका व्यक्ति फेरि जान पाउने भएपछि अवैध बस्नुको सट्टा नेपाल आउने र ६ महिनापछि पुनः जान कोशिस गर्ने रोजगारदाताको बुझाइ छ। हालसम्म इपीएस प्रणालीबाट कोरिया गएका ६ हजार नेपाली कामदार फर्किसकेका छन्। यसमध्ये कतिपय फेरि दोहोर्याएर कोरिया गइसकेका छन्।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियाले काम गरेर फर्किसकेकालाई विशेष प्राथमिकता दिन थालेको बताए। ‘अनुभवी पनि हुने अनि फेरि जान पाइने भएपछि गैरकानुनीरूपमा बस्ने प्रवृत्ति पनि घट्ने भएकाले रिर्टनीले प्राथमिकता पाउन थालेका छन्’, उनले भने।
कोरियाले गैरकानुनी कामदारको संख्या बढेपछि बारम्बार गम्भीर चासो व्यक्त गर्दैआएको छ। अवैधको संख्या नघटाए नेपाली कामदार कटौती गर्ने चेतावनीसमेत दिइएको छ। गत वर्षको भूकम्पपछि कोरियामा अवैध बस्ने नेपालीको संख्या बढ्दोक्रममा छ।
गैरकानुनी बस्नेको संख्या पाँच प्रतिशत नाघेपछि कोरियाले गम्भीर चेतावनी दिने गर्छ। हाल अवैध नेपाली कामदारको संख्या पाँच प्रतिशतभन्दा माथि पुगेको कोरियाले जानकारी दिएको छ।
गत वैशाखको भूकम्पअघि गैरकानुनीको संख्या पाँच प्रतिशतभन्दा तल ओर्लिसकेको थियो। तर भूकम्पपछि कोरिया पुगेका युवा नेपाल नफर्किनेक्रम बढेपछि समस्या भएको हो।
कोरियाले अवैधको संख्या बढेकामा नेपाल सरकारलाई बारम्बार अवगत गराउँदै भिसा अवधि सकिएकालाई तत्काल फिर्ता ल्याउन पहल गर्न आग्रह गर्दैआएको छ। अवैध फिर्ता गर्न तत्काल आकर्षक कार्यक्रम तय गर्नसमेत नेपाल सरकारलाई सुझाव दिएको छ।
कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक हो। त्यहाँ हाल ३० हजार नेपालीले काम गरिरहेका छन्। उद्योग, उत्पादन तथा कृषि क्षेत्रमा नेपालीले काम पाएका छन्।
जाने बित्तिकै प्रशिक्षार्थी कामदारले न्यूनतम एक लाख १२ हजार कमाई गर्न सक्ने भएकाले त्यहाँको आकर्षण अधिक छ। उच्चशिक्षा हासिल गरेका, जागिरे अनि व्यापारव्यवसाय गरेर बसेकासमेत कोरिया जान इच्छुक देखिएका छन्।
कोरियामा नयाँलाई भन्दा पुराना कामदारलाई प्राथमिकता ,गैरकानुनी कामदार घटाउने
कसरत
Reviewed by marumala srinu
on
12:42 AM
Rating:
Reviewed by marumala srinu
on
12:42 AM
Rating:

No comments: