Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बलीको बोको हुनबाट बचे प्रचण्ड, तर खतरा टरेको छैन

वैशाख २३ - सत्ता गठबन्धनमा नाटकीय रुपमा देखिएको हलचल नाटकीय रुपमै थामथुम भएको छ । एमालेको साथ छोडेर कांग्रेसको बलमा सत्ताको नेतृत्व लिन खुट्टा उचालिसकेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक यु टर्न भएका छन् ।

प्रचण्ड यु टर्न हुँदा वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको संकट त टरेको छ नै, स्वयं प्रचण्ड पनि शक्ति केन्द्रहरुको बलिको बोको हुनबाट बचेका छन् र प्रचण्डको धमिलिन थालेको छवि पनि धुमिल हुनबाट जोगिएको छ । 

सत्ता समीकरणमा देखिएको पछिल्लो हलचल एकाएक भएको जस्तो लागे पनि यो योजनाबद्ध रुपमै भएको जानकारहरु बताउँछन् । यसमा पार्टीहरुको स्वार्थ त छ नै, तर काठमाडौलाई मैदान बनाएर चलखेल हुने विदेशी दाउपेचको भरपूर उपयोग पनि भैरहेको छ । सत्ता सम्हाल्ने बेलादेखि नै भारतको नजिक हुन नसकेका प्रधानमन्त्री ओली अझै पनि आफू तल परेर भारतलाई रिझाउन चाहँदैनन् । राष्ट्रियता र सार्वभौमिकताको ओली रटानमा धेरै नागरिकले समेत साथ दिएपछि उनी यसै हौसिएका छन् । 

तर, भारत र चीनसँग समदूरी कायम राख्ने विषय उनको बोलीमा मात्र सीमित छैन, चीनसँगका सम्झौतापछि व्यवहारमा समेत देखिएको छ, जुन वजेटपछि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ । नेपाल चीनसँग नजिक भएको भारत देख्न सक्दैन, सहन त उसलाई झनै गाह्रो भैरहेको छ अहिले ।

नेपालको संविधानलाई सहजै स्वीकार नगरेको भारत अझै पनि यहाँ आफ्नो इशारामा सबथोक होस् भन्ने चाहन्छ । त्यसैले आफ्नो इशारा अनुसार चल्ने सरकारको पक्षमा भारत छ । वर्तमान ओली सरकार आफ्नो चाहनामा बाधक देखिएपछि भारत उपयुक्त पात्रको खोजीमा पहिलेदेखि नै लागेको थियो र त्यसमा सबैभन्दा उपयुक्त र कमजोर पात्र प्रचण्ड नै हुने बिश्लेषणमा थियो ।

ओलीलाई नै सकेसम्म मनाउन र आफूतिर लचक बनाउन भारतले अनेक प्रयास गर्यो । भारतीय राजदूतले ओलीसँग निकै छलफल गरे । तर ओली लचक देखिएनन् । त्यसपछि भारतले प्रचण्डतर्फ नजर लगायो । ओली र देउवालाई भन्दा प्रचण्डलाई प्रयोग गर्न सजिलो हुन्छ भन्ने भारतले पहिलेदेखि नै बुझ्दै आएको छ । देउवा यसै पनि अमेरिकाको नजिक भनेर चिनिंदै आएकाले भारतले उनको विकल्पमा प्रचण्डका नाममा ग्रीन सिग्नल देखाएको थियो, जुन देउवा मार्फत आयो । 

नेपालमा कसको र कस्तो नेतृत्व हुन्छ भन्ने कुराले भारतलाई मात्र होइन, अर्को छिमेकी देश चीन र शक्तिशाली देश अमेरिकालाई समेत पोल्छ भन्ने कुरा बेला बेलामा मात्र सतहमा देखिन्छन् । नेपालमा भारत हावी हुने बित्तिकै चीन बिरोधी गतिबिधी बढ्ला कि भनेर बेइजिङ पहिलेदेखि नै सचेत हुँदै आएको छ । ओलीलाई चीनले जसरी बिश्वास गर्न सकेको छ, प्रचण्डलाई त्यसैगरी विश्वास त गर्छ, तर भर परि हाल्दैन ।

प्रचण्डको रणनीतिक दाउपेच, दूरगामी प्रभावको कमजोर आकलन, बेला बेला देखिने दोहोरो चरित्र, उत्ताउला कुरा र ढुलमुले व्यवहारका कारण उनलाई धेरै भर गर्न नसकिने चिनीया बिश्लेषण छ । देउवा या कांग्रेसका अरु कुनै नेतासँग त झन् चीनले धेरै विश्वास किन गर्दैन भने चीन बिरोधी गतिविधि हुँदा उनीहरु रमिता हेर्छन् भन्ने चिनीयाँहरुको बुझाई छ । त्यसैले चीनका लागि अहिले ओली जत्तिको हितैषी नेपालमा अरु छैनन् भन्ने वेइजिंगको बुझाई छ ।

अनि भारत र चीनको रणनीतिक स्वार्थबीच नेपाललाई ठूलो सहायता गर्दै आएको शक्तिराज्य अमेरिका नेपालमा यी दुवै देश हावी नहुन् भन्ने चाहन्छ । भारत हाबी हुँदा चीन बिरोधी गतिविधिमा बल पुग्छ भन्ने कुरा बुझेर पनि अमेरिका भारतलाई नेपालमा धेरै हाबी हुनबाट बेलाबेला किन रोक्छ भने भारतको उपस्थिति नेपालमा बलियो हुँदा अमेरिकाको स्थिति थिम्पुको जस्तो हुनसक्छ । कांग्रेसको बलमा प्रचण्ड प्रधानमन्त्री हुँदा भारत हावी हुने र चीन बिरोधी गतिविधि पनि खासै नबढ्ने भएकाले तत्काल ओली नेतृत्वकै सरकार कायम होस् भन्ने उसको चाहना छ ।

त्यसमाथि नेपालमा केही अमेरिकी कार्यालय विस्तार गर्ने र व्यापार बढाउने अमेरिकी ईच्छामा ओलीले प्रधानमन्त्री हुने बित्तिकै हरियो बत्ती देखाई दिई सकेका छन् । त्यसैले, नेपालको वर्तमान सत्ता समीकरणमा अमेरिका र चीनको स्वार्थ मिलेकै कारण तत्काल भारतलाई एक खालको ब्रेक लागेर सत्ता परिवर्तनको सम्भावना टरेको हो ।

त्यसो त प्रचण्डलाई कटुवाल प्रकरणमा सबैभन्दा धेरै ओली र भारतले नै खेदेका थिए र सत्ताबाट ओरालेका थिए । यस्तो बेला ओली र भारतलाई नै मोहरा बनाएर आफू प्रधानमन्त्री हुन प्रचण्डका लागि यो सबैभन्दा राम्रो अवसर पनि थियो । तर प्रधानमन्त्री भएपछि के त भन्दा ओलीले भन्दा गतिलो काम गर्ने अवसर प्रचण्डलाई थिएन, बरु भारतबाट प्रयोग हुने खतरा चाँहि धेरै बढेर गएको थियो ।

यदि कांग्रेसको बलमा प्रचण्ड प्रधानमन्त्री बनेको भए पनि उनलाई भारतको चाहना अनुसार प्रधानमन्त्री बनेको भन्ने आरोप प्रमाणित हुन्थ्यो र उनको शाख अझै गिर्ने निश्चित थियो । किनकी सरकारको नेतृत्व लिन खुट्टा उचाल्ने बित्तिकै ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने बेला संसदमा बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा प्रचण्डको खिसी टिउरी सुरु भैसकेको थियो ।

त्यतिबेला सुशील कोइरालालाई लक्षित गर्दै अरुको निर्देशनमा लागेको भन्ने प्रचण्ड अहिले आफैं अरुको निर्देशनमा चलेको भन्ने यस्तो खिसी टिउरी र आरोप बढ्ने थियो । र प्रचण्ड प्रधानमन्त्री हुने बित्तिकै भारतले उनलाई प्रयोग गरेर आफ्नो स्वार्थ अनुसार काम गराउन खोज्थ्याे, जसले प्रचण्डलाई समेत अप्ठेरो पाथ्र्यो । यसरी सम्भावित बलिको बोको हुनबाट प्रचण्ड बालबाल बचेका छन् ।

तर प्रचण्डलाई भारतले धम्क्याउन र थर्काउन छाडेको छैन भन्ने कुरा ओलीले पनि राम्ररी बुझ्न जरुरी छ, किनभने प्रचण्डलाई बलि चढाएपछि शक्ति केन्द्रले बलिको बोको बनाउने पात्र ओली नै हुनेछन् । 

बलीको बोको हुनबाट बचे प्रचण्ड, तर खतरा टरेको छैन Reviewed by marumala srinu on 8:31 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.