बारपाकमा अड्क्यायो प्रचण्डलाई पानीले
पूर्वप्रधानमन्त्री एवम् एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोर्खाको बारपाकमा ठूलो पानी परेपछि त्यहि अड्किएका छन् । उनी गोरखाका विभिन्न गाविस पुगेर भूकम्पपीडितको अवस्थाबारे जानकारी लिनेक्रममा त्यहाँ अलपत्र परेका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंबाट गोरखा पुगेका दाहालले गुम्दा, लाप्राक, बारपाक, सौरपानी र मुच्चोकमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
उनले पहिला गुम्दामा पुनःनिर्माणलाई अनुदान वितरण कार्यक्रमको सुरुवात गरे । गुम्दा –८ की लाभग्राही माया गुरुङलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्दै अध्यक्ष दाहालले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गरे ।
गुम्दामा कार्यक्रम सकेर उनी लाप्राक गए । लाप्राकमा कार्यक्रम गर्दागर्दै पानी परेपछि उनी काठमाडौं आउन खोजेका थिए । तर हेलिकप्टर काठमाडौं उड्न नसकेपछि बारपाक अवतरण गरिएको छ ।
उनले बारपाकमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् । अहिले भीषण पानी परिरहेकोले उनी बारपाकमै अड्किएका छन् । बारपाकमा सम्बोधन गर्ने क्रममा उनले संविधान जारी गर्दाका राजनीतिक शक्तिहरु फेरि एकपटक नयाँ शिराबाट एकठाउँमा उभिनुपर्ने बताए ।
उनले राष्ट्रिय एकतामा जोड दिए । तर सरकार परिवर्तनबारे भने केही बोलेनन् ।
भूकम्प गएको एक वर्षसम्म पनि पुनःनिर्माणको काम सुरु नभएको भन्दै उनले गुम्दामा आयोजित कार्यक्रममा अनुदान प्रक्रियाका लागि गाउँमै घुम्ती बैंक स्थापनाका लागि आफूले पहल गर्ने बताए ।
No comments: