पुरानो बसपार्क खुलामञ्चमा सारिने
राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको उक्त टावरको निर्माणको समयमा मात्र खुलामञ्चमा यातायातको साधन राखिने कामपाले बताएको छ। काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टावर निर्माणका लागि हाल खुलामञ्चमा जस्ताले बार्ने काम भइरहेको छ। उक्त काम सकिनेबित्तिकै यातायातका साधनलाई स्थानान्तरण गरी टावर निर्माणको काम सुरु गरिने छ।
'टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि टावरको संरचना फरक भएकाले निर्माण प्रक्रिया ढिला भएको हो', प्रवक्ता कार्कीले भने।
भूकम्प पूर्वको योजनाअनुसार टावर २९ तला बनाउने तयारी रहेको थियो। भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाइने छ। अहिले १२ तलाको बनाउने नक्सालाई स्वीकृति दिइएको छ। प्रस्तावित सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको कामपाले बताएको छ।
पुरानो बसपार्क भएको स्थानमा बनाउन लागिएको टावर
राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार उक्त टावर निर्माणका लागि जलेश्वर, स्वच्छन्द र विकोइसँग सम्झौता गरिसकेको छ। सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन्।
काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ। यो टावर नेपालमा अहिलेसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ।
सो टावरको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान महानगरपालिकाले गरेको छ। भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहनेछ । त्यसमाथिका दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । नेपाली कला र संस्कृतिको झलक सो भवनमा देख्न पाइने छ । रासस

No comments: