सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते
महेन्द्रनगर (धनुषा), वैशाख ६ गते । धनुषाको ढल्केवर जनकपुर सडकखण्डको लक्ष्मीनियामा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेट एएस०१डब्लु ०४२० नंको सिल्भर रङ्गको स्कारपियो अनियन्त्रित भई जनकपुर उपमहानगरपालिका–२५ लक्ष्मीनियाको मैदा मिल अगाडि दुर्घटना भएको हो ।
सो दुर्घटनामा जनकपुर उपमहानगरपालिका–२१ का कुर्था बस्ने ३७ वर्षीय विनोद पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलका अनुसार उक्त सवारीका चालक र अर्का एकजना यात्रु पनि घाइते भएका छन् ।
सवारीका चालक जउमनपा–२५ लक्ष्मीपुर वगेवा बस्ने ३० वर्षीय वीरेन्द्रकुमार दासको अवस्था चिन्ताजनक छ भने अर्का यात्रु जउमनपा–२५ कुम्हरौरा बस्ने २८ वर्षीय स्वतन्त्र यादवको ढाडमा चोट लागेको छ । घटना सम्बन्धमा अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments: