Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

स्तन क्यान्सर आफै पत्ता लगाउन सकिने ।

स्तन क्यान्सर आफैँ पत्ता लगाउन सकिने

नेपालमा दोस्रो ठूलो समस्याका रुपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरुले बताएका छन् । जसका लागि रोग पहिचान आफँैले गर्न सकिने भन्दै यहाँको बिपी कोइराला
मेमोरियल क्यान्सर अस्पतालले स्तन क्यान्सर पहिचान विधि सिकाउने कार्यलाई तीव्रता दिएको छ ।

स्तन क्यान्सरको पहिचान आफ्नो स्तनको आफैँ पहिचान गर्ने सबैभन्दा सजिलो विधि हो भने स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तनको आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने चिकित्सकको भनाइ छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानाङ्ग बर्सेनि बढ्दो अवस्थामा रहेको स्तन क्यान्सर नियन्त्रणका लागि स्वयम् व्यक्तिलाई प्रशिक्षित गराउन विभाग सक्रिय रुपमा लागेको बताउँछन् । सोही विभागले देशका १२ वटा अस्पतालबाट तथ्याङ्क सङ्कलन समेत गर्दै आएको छ ।

सन् २००३ देखि सन् २०१२ सम्म सुरुमा सात वटा अस्पतालमा तथ्याङ्क सङ्कलन गर्दा स्तन क्यान्सर ५६ हजार १३ जनामा देखिएको उनले बताए । सन् २०१३ मा १२ वटा अस्पतालमा तथ्याङ्क सङ्कलन गरिएकामा आठ हजार ७२९ जना थप बिरामी फेला परेको उनले बताए । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । यो रोग प्रायः महिलालाई लाग्छ तर कहिलेकाहीँ पुरुष पनि यस रोगबाट प्रभावित हुने गरेको उनले बताए ।

गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ । आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा, बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुने उनले जानकारी दिए ।

त्यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ । आफ्नो स्तन आफैँले राम्ररी हेरेर तथा छामेर नियमित रूपले परीक्षण गर्नाले स्तनमा भएको परिवर्तन वा गिर्खा पत्ता लगाउन सहयोग मिल्दछ । दाहिने स्तनको परीक्षण देब्रे हात र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पार्न सकिने बताउँदै उनीहरुले स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि स्तन देखिने गरी स्तनको परीक्षण गर्नु उपयुक्त हुने सुझाव दिन्छन् ।

स्तनको परीक्षण गर्दा स्तनको सम्पूर्ण भाग वरिपरि र काखीमुनि कुनै गिर्खाहरू भए÷नभएको छामी हेर्नुपर्दछ । यसका साथै आफ्नो स्तनको स्वरूप र रङमा कुनै परिवर्तन आए÷नआएको पनि ख्याल गर्नुपर्दछ । यसरी परीक्षण गर्दा फेला परेका गिर्खाहरू चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए÷नभएको थाहा पाउन सकिने विभागका प्रमुख प्रधानाङ्गले सुझाए ।

विभागले हप्तामा दुई दिन समुदायमा गएर निःशुल्क रुपमा स्तनको परीक्षण गराउनुका साथै परीक्षण विधि सिकाउँदै आएको छ । चितवन, नवलपरासी, महोत्तरी, पर्सा, तनहुँलगायतका जिल्लामा समुदायस्तरमा स्तन क्यान्सर पहिचानको विधि सिकाउँदै आएको प्रधानाङ्गले बताए । हालसम्म समुदायस्तरमा मात्रै छ हजार ७८५ जनालाई यो विधि सिकाइएको उनले जानकारी दिए ।

क्यान्सर अस्पतालको बहिरङ्ग विभागमा दैनिक रुपमा १२÷१५ जनाको स्तन परीक्षण एवम् पहिचान विधि सिकाउने गरिएको छ । स्तनमा क्यान्सरको आशङ्का भएमा तत्काल अस्पतालमा जँचाउन विभागले सार्वजनिक रुपमा आह्वान गर्दै आएको छ । विभागले रोगबाट बच्न बोसोयुक्त खानेकुरा नखान, मोटोपन घटाउन, नियमित व्यायाम गर्न, बच्चालाई दुई वर्षसम्म स्तनपान गराउन र आफ्ना आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएको छ भने वंशाणुगत कारणले आफूलाई पनि हुन सक्ने भएकाले नियमित स्तनको परीक्षण गर्न सुझाव दिएको छ । विश्वमा क्यान्सर भएका बिरामीमध्ये ११ दशमलव ९ प्रतिशतमा स्तन क्यान्सर देखिएको छ भने नेपालमा १५ दशमलव ५ प्रतिशतमा यो रोग देखापरेको विभागले जनाएको छ ।
स्तन क्यान्सर आफै पत्ता लगाउन सकिने । Reviewed by marumala srinu on 11:19 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.